site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
स्वादे जिब्रो

मिठो खान कसलाई पो मन लाग्दैन र ! सबै मिठो नै खोज्छन् । अलिकति नुन कम भइदियो भने पनि स्वादे जिब्रोले पत्ता लगाइहाल्छ । हाम्रो यो विचित्रको जिब्रो बनाएर भगवान्ले साह्रै गुण लगाएका छन्, हामीमाथि । परिणामस्वरूप उनको नाममा प्रसाद भन्दै हामी आफ्नै स्वादे जिब्रो खुसी पारिरहेका हुन्छौँ ।

समय, परिस्थिति र स्थानानुसार हाम्रो जिब्रोको चरित्र फरकफरक हुन्छ । कहिले यसलाई पिरो मनपर्छ त कहिले गुलियो । कहिले नुनिलो मनपर्छ त कहिले खल्लो । अनि, कहिले तातो मनपर्छ त कहिले चिसो ।

यस्तो गजबको जिब्रो तल र माथिको बत्तिसीबीच पनि सकुशल बसिरहेको देख्दा भने अचम्मै लाग्छ मलाई ।

Dabur Nepal
NIC Asia

मासुको थुप्रोले बनेको नाथे यो जिब्रोले बंगारालाई हुकुम लगाइरहेको हुन्छ, स्वाद नमिलुन्जेलसम्म चपाइराख्न । त्यति मात्र कहाँ हो र, स्वादको अभावमा सिंगै पेटलाई भोको बनाइदिन पुग्छ । जिब्रोले बहिष्कार गरिदिँदा खानै नपाएर छटपटाउनुबाहेक अरू विकल्प नभएको धेरै अनुभव सँगालिसकेको छु । मेरोजस्तै अनुभव श्रीमतीजीको पनि छ ।

यसको कारण स्वादे जिब्रोलाई समयानुसारको स्वाद उपलब्ध नभएको हो भन्ने कुरामा हामी बुढाबुढी दुवैको राय मिल्छ । बिहान चियाबाट श्रीगणेश गरेको जिब्रोले साँझ पर्दासम्म ह्विस्कीको चुस्की माग्न थालिसकेको हुन्छ, अक्सर । यो प्रक्रियामा तलमाथि भयो कि जिब्रोले हड्ताल गरिदिन्छ अनि पेट भोकै । गाह्रो छ जिब्रोलाई सम्हालेर राख्न !

जिब्रोहरू पनि फरकफरक हुन्छन् भन्ने कुरा सबैलाई थाहा भएको हो । फरक जिब्रो, फरक चाहना । स्वाद लिने शैली फरक अनि फरक यसको चरित्र पनि । प्रेग्नेन्टको जिब्रोलाई अमिलो चाहिएको छ भने दुईजिब्रेलाई सिधा कुरा गर्न आउँदैन । यता एउटा कुरा अनि उता अर्कै । समाज बिग्रेकै दुईजिब्रेहरूले हो भन्ने तपार्इं हामी यिनीहरूकै चंगुलमा फसिरहेका छौँ । यिनीहरूकै कारण हो, सबैको जिब्रो बिग्रेको ।

तरकारीको स्वाद लिने जिब्रोले सरकारी कुर्सीको स्वाद चाखेपछि अरू के नै पो सम्झिन्थ्यो र ! भान्छामा गुन्द्रुकको स्वादमा हुर्केको जिब्रोले एयरपोर्टमा सुन चाख्न पाएपछि संसारै बिर्सिदिन्छ । अझ रमाइलो कुरा त के भने यस्ता जिब्रोहरू सानाठूला कुरादेखि वर्षौँ लागेर बन्ने योजनाहरूलाई पनि चपाइचपाइ स्वाद लिएर पचाउन सक्छन् । चाहे त्यो जिब्रो पुरुषको होस् या महिलाको । बच्चाको र बुढाको जिब्रो पनि करामती छन्, यस्ता मामिलाहरूमा ।

केही अन्य जिब्रोहरू जस्तै, मोटो जिब्रो, पातलो जिब्रो, बाक्लो जिब्रो अनि लठेब्रो जिब्रोले पनि बेलाबखत आ–आफ्नो चर्तिकला देखाइरहेकै हुन्छ । सबै जिब्रोको उद्देश्यचाहिँ एउटै हो । स्वाद लिएर भुँडी भर्ने । यसअर्थमा भुँडीलाई भाग्यमानी ठान्नुपर्छ हामीले । यस्तो भाग्यमानी भुँडी पनि मान्छेपिच्छे फरक साइज र आकारको भएको देख्दा मलाई भाग्य तराजुमा जोखेर भाग लगाएको हो कि जस्तो लाग्छ । नत्र कसैको भुँडी फुकेको अनि कसैको भुँडी सुकेको किन हुन्थ्यो र !

भैरव अर्यालको भुँडीपुराणमा पनि भाग्यमानी भुँडीहरूको चर्चा भएको छ । त्यो भुँडीपुराणानुसार चार प्रकारका भुँडी हुन्छन् । हाँडीघोप्टे भुँडी, घ्याम्पे भुँडी, टाकनटुकन भुँडी र ठन्डाराम भुँडी । यी सबैखाले भुँडीहरूको विकास र विनाशमा जिब्रोको शतप्रतिशत योगदान छ ।

जिब्रोले स्वाद बहिष्कार गरिदिए सबै ठन्डाराम भुँडीमा परिणत हुन बेरै लाग्दैन । फेरि, त्यही जिब्रोले धेरै कोच्न थाले तिनै ठन्डारामहरूले हाँडीघोप्टे भुँडीमा पदोन्नति पाउँछन् । गजब छ यो भुँडी र जिब्रोको तालमेल । यस्तो गजबको तालमेललाई हजार जिब्रो भएका शेषनागले पनि वर्णन गर्न सक्दैनन् भने तपाईं र मजस्ता एकजिब्रेले कसरी सक्नु !

दुईजिब्रेहरूका बारेमा केही भन्न सक्दिनँ म । उनीहरू समय, स्थानानुसार जे भन्न पनि खप्पिस हुन्छन् । त्यसैले होला, यिनीहरूको बोलवाला सबैतिर चलेको । यी दुईजिब्रेहरू पद पाउनुअघि एउटा कुरा र पद पाएपछि अर्कै कुरा गर्छन् ।

पदको स्वाद चाखिसकेका यिनीहरूलाई दालभातभन्दा मिठो कुर्सी र कमिसन लाग्छ । यिनको यस्तो स्वभाव देख्दा पदको नशा ह्विस्कीको भन्दा कडा हुने निष्कर्ष निकाल्न पुग्छु म ।

यस्तो महत्त्वपूर्ण निष्कर्षलाई फलाक्दै हिँड्दा मलाई ‘जिब्रोमा लगाम लगाउनु, जथाभावी बोल्दै हिँड्ने ?’ भन्ने आरोप लागेको धेरै भएकै छैन । जिब्रोमा कसरी लगाम लगाउने हो, म जान्दिनँ । जिब्रोले बोल्न सहयोग गरेकामा नै दंग छु म ।

यो जिब्रोले मिलाएर बोल्दा र स्वाद लिएर खाँदा ठन्डाराम भुँडीहरू पनि घ्याम्पे भुँडीमा परिणत भएको देख्दा मिलाएर बोल्नलाई जिब्रो पनि मिलेकै हुनुपर्ने कुराको अनुभव हुन थालेको भर्खर मात्र हो । केही जिब्रोले जति नै मिलाएर बोले पनि सुन्नेले बुझ्दैन, के काम ! मोटो अनि बाक्लो जिब्रोले बोल्नै जान्दैनन् भने पातलो जिब्रोले बोलेको कुरा पत्याउनै गाह्रो ।

अब प्रसंग बदलौँ ।

जानिफकारहरू संसारको विकाससँग जिब्रोको योगदानलाई लगेर जोड्छन् । यही स्वादे जिब्रोले गर्दा नै संसारले विकासमा यति ठूलो फड्को मार्न सकेको भन्ने उनीहरूको भनाइ छ । म यसलाई स्वादानुसारको विकास भन्ने गर्छु । कोही भातै खाएर बस्छन्, भाते विकास गर्छन् । कोही कमिसन खाएर बस्छन्, कमिसनको विकास गर्छन् ।

सत्ताको स्वाद चाखेकाहरू सत्ताको विकास गर्छन् । स्वाद लिन पल्केका वैज्ञानिकहरू विज्ञानको विकास गर्छन् । लेख्ने स्वादमा रमाएको मजस्तो मानिस साहित्यको विकास गर्छन् । फरक स्वाद, फरक विकास ।

स्वाद नहुँदो हो त जिब्रोको पनि काम हुन्थेन होला । अनि, बेस्वादको यो संसार ढुंगेयुगसम्म पनि आइपुग्दैन थियो होला । यो मेरो अड्कलबाजी मात्रै हो । मेरो यो अड्कलबाजीमा तपाईंको समर्थन नभएमा मलाई केही फरक पर्दैन किनकि, तपाईंको स्वाद र मेरो स्वादमा अवश्य केही न केही अन्तर त छ । हाम्रो कुरो नमिल्नु त्यसैको परिणाम हो, जसको पुष्टि हाम्रो भान्छामा दिनहुँ हुन्छ ।

स्वादे जिब्रोलाई खुसी बनाउने क्रममा म दुईजिब्रे बन्न पुगेजस्तै जिब्रोकै कारणले कोही शकुनि कहलाए त कोही भगवान् श्रीकृष्ण, यस्तै भन्छन् जान्नेसुन्नेहरू । शुकरात हुन् वा शेक्सपियर, आइन्सटाइन हुन् वा न्युटन, हिटलर हुन् वा नेपोलियन, माओ हुन् वा मार्क्स सबै जिब्रो र भुँडीको उपलब्धि बताउँछन् उनीहरू ।

सबैलाई मनपर्ने स्वादले तानिरहेको हुन्छ र हामी त्यो स्वाद पाउन दौड लगाइरहेका हुन्छौँ । यसअर्थमा स्वादे जिब्रो हाम्रो शरीरको एउटा मात्र यस्तो अंग हो, जसले हामीलाई हाम्रो गन्तव्यसम्म पुग्न हरदम मद्दत गरिरहेको हुन्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro