यहाँ म केही समयअघिका दुई घटनाका बारेमा मनमा लागेका दुःख गुनासो, आक्रोश अनि असन्तुष्टिको पोको फुकाल्दै छु ।
घटना १. निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या
नेपालको राजधानी काठमाडौंको मुटु मानिने वानेश्वर क्षेत्रमा गौचनमाथि दिउँसै गोली प्रहार भयो । आफ्नै गाडीमा सवार रहेका उनीमाथि प्रहार गरिएका गोली गाडीको सिसा छेडेर उनको शरीरमा लाग्दा गौचनको मृत्यु भयो । मृत्यु भएको केही समयमै अस्पताल परिसरमा भेला भएका आफन्तजनलगायत जनताबाट घटनाको विरोध भयो ।
घटना २. कालिकोटकी चेली मनशोभा न्यौपानेको बलात्कारपछि हत्या
राजधानीबाट धेरै पर सुर्खेतबाट आफ्नो जन्मथलो कालिकोट घरमा फर्किने क्रममा ट्रक चालकले कालिकोटसम्म लगिदिने भन्दै १९ वर्षीया मनशोभा न्यौपानेलाई दैलेखको खिड्की जिउँलामा तीन दिनसम्म होटेलको एउटा कोठामा बन्धक बनाएर राखी लगातार सामूहिक बलात्कार गरियो र अन्तिममा विष खुवाएर उनको बर्बरतापूर्वक हत्या गरियो । हत्यापछि ट्रक चालक त समातिए तर घटनालाई थामथुम पारेर ओझेलमा पार्न खोजियो ।
यी दुवै घटना अत्यन्त दुःखद हुन् । तर,गौचनको हत्याको केही समयमै अस्पताल परिसरमा भेला भएका आफन्तजन, राजनीतिक नेता कार्यकर्ताबाट घटनाको विरोध भयो ।
संचार माध्यमका हेडलाइनमा उक्त घटनाले स्थान पायो । एकै छिनपछि बानेश्वरको मूल सडकमा प्रवेश गरेको आक्रोशित भिडले सडक नै पूर्णरूपमा बन्द गरिदियो ।
सरकार र गृह मंत्रीविरूद्ध नाराबाजी भयो । त्यसपछि बिस्तारै साना ठूला मानिने नेतालगायत सर्वसाधारण जनताबाट सामाजिक सञ्जालका भित्तामा विरोध र अनेकौं टीकाटिप्पणी भए । सुरक्षा निकाय सधैँजसो घटना भइसकेपछि गरिने व्यापक खोजी र अनुसंधानतिर लाग्यो । दिन बित्यो, चौतर्फी विरोध र आक्रोशका आवाज झन् बढ्दै गयो । गृह मंत्रीको राजीनामा, गौचनलाई सहिद घोषणा, उचित क्षतिपूर्ति जस्ता माग राखेर निर्माण व्यवसायीलगायत अरू पनि विरोधमा उत्रिए । घटना संसद्भित्र पनि पस्यो । धेरै सासंदहरूबाट चर्का भाषण अनि विरोध भयो र अझै पनि भइनै रहेको छ ।
अर्कोतर्फ दुर्गम भेगकी १९ वर्षीया किशोरीमाथि बलात्कार र हत्याजस्तो क्रूर अमानवीय घटना हुँदा पनि सबैका आँखामा पट्टी बाँधिए, सबैका ओँठ बन्द भए । न घटना कुनै नेताको कानमा पुग्न सक्यो न त अरू कसैको मनमा दुख्न नै । अरू त धेरै परको कुरा कालिकोटबाट स्थानीय चुनाव जितेका जन प्रतिनिधि जो ठूलाठालुसँग कुममा कुम जोडेर तस्बिर खिचेर समाजिक संजालमा रबाफ बढेको देखाउन व्यस्त हुन्छन् तिनलाई सरकारमा रहेकँ आफ्नै पार्टीका मन्त्रीको विरोध गर्ने आँट पनि आएन । सामाजिक सञ्जालका भित्तामा गोहीका आँसु झारे झैँ शब्द झारे र चुपचाप बसे । न कुनै सासंदले संसद् भवनभित्र यति जघन्य महिला हिंसाविरूद आवाज उठाए न त सडक मै उत्रेर कुनै ठूलो विरोध भयो । न मानव अधिकारकर्मीले न कुनै चासो दिए न त कुनै महिला अधिकारकर्मीले नै आवाज ऊठाउने हिम्मत गरे । मनशोभाका परिवार आफन्तहरूले मनशोभालाई त गुमाइसकेका थिए ।
उनीहरूले पनि न सहिद घोषणाको माग गरे न त कसैको राजीनामा । उनीहरूलाई त न्याय चाहिएको थियो । अरू सबै चेलीमाथि हुने घटनामा खबरदारी र सुरक्षा चाहिएको थियो । तर, दुखिका आँसुले दुःख बोले तर तिनै आँसु र दुःखलाई बोकेर बोलिदिने कोही भएन । सायद, मनशोभा कुनै पार्टीकी कार्यकर्ता हुँदिहुन् त केही हुन्थ्यो होला तर उनी त बस एउटा सामान्य परिवारकी छोरी थिइन् । कसैकी बहिनी /दिदीमात्र थिइन् । उनलाई आफ्ना ठान्नेको पहुँच थिएन पहुँच हुनेहरूले आफ्नो ठान्दिएनन् र घटना बिस्तारै औझेलमा परेर हराउँदै गयो ।
कति कति पीडा छ दुर्गम भूगोलमा जन्मिएर बाँच्न ? कहिले अस्पतालले मृत्युको पुर्जी दिएर फर्काइदिन्छ त कहिले सरकार चुपचाप बसेर छोरीको लासलाई जलिरहेको हेरिरहन भनिदिन्छ ।
मान्छे जहाँसुकैको होस्, जुनसुकै भूगोल र पृष्ठभूमिको होस्र ऊ यस देशको जनता हो र राज्यका सामु सबै जनता बराबर र समान छन् । हत्या गरिएका गौचन हुन् वा बलात्कार पछि हत्या गरिएकी न्यौपानेको जस्तो घटनामाथि संम्बन्धित निकाय र सामान्य जनताको चासोको विषय बन्नुपर्छ ।
चुपचाप देखेर पनि नदेखेझैँ गरेर बस्नु हामी स्वयंले अपराधीलाई संरक्षण गरेर प्रोत्साहन गर्नु र आफैँलाई अपराधीको मतियार स्वीकार्नु हो । आज अरूको घरमा लागेको आगो भोलि हाम्रै घरमा डँढेलो बनेर पस्नसक्तैन भनेर ढुक्क हुन सकिन्छ र ? त्यसैले मनशोभा बलात्कार अनि गौचन हत्याका दोषीलाई सजाय दिलाइयोस् ।
(रास्कोट, कालिकोट)