
काठमाडौं । बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले तत्कालीन सोभियत संघ अन्तर्गतका मुलुकहरूलाई एउटै संघीय राज्य (युनियन स्टेट)मा सामेल हुन आग्रह गरेका छन् ।
बेलारुसी नेता लुकाशेन्कोले आइतबार प्रसारण भएको एक अन्र्तवार्तामा रसियाको एक टीभीसँग बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।
आफ्नो भूमिमा आणविक हतियार राखेर आफ्नो प्रतिरक्षा बलियो बनाउन खोज्ने सोभियत राष्ट्रहरूले रूससँग घनिष्ठ सम्बन्ध विकास गर्नुपर्ने उनको भनाइ छ ।
मस्को र मिन्स्क (बेलारुसको राजधानी) बीचको सम्बन्धबारे अस्ताना (कजाकिस्तान)ले गरेको टिप्पणीको समेत उनले जवाफ दिएका छन् ।
गत हप्ता कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले “अहिले आणविक हतियार पनि दुई (रुस र बेलारुस)का लागि एक भएको छ,” भन्दै टिप्पणी गरेका थिए ।
त्यसबारे लुकाशेन्कोले भने, “रुससँग नजिक हुने राष्ट्रहरू कजाकस्तान वा अन्य राष्ट्र विरुद्धमा छैनन् ।”
“(कुनै पनि देश)रूस र बेलारुसको युनियन राज्यमा सामेल हुन आवश्यक छ । त्यसपछि त्यहाँ सबैका लागि आणविक हतियार हुनेछ,” उनले भने, “हामीले बुझ्नु जरुरी छ कि हामीसँग एकजुट हुने अद्वितीय रणनीतिक अवसर छ ।”
लुकाशेन्कोले यो आफ्नो विचार भएको र रुससँग मिल्छ मिल्दैन भन्ने फरक कुरा रहेको बताएका छन् । कजाकिस्तानका राष्ट्रपतिले रुस र बेलारुसबीचको नजिकको सम्बन्ध यूरेसियन इकोनोमिक जोनका अन्य सदस्य भन्दा फरक भएको भन्ने किसिमको संकेत गरे पनि त्यसो नभएको लुकाशेन्कोको भनाइ छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए । मस्कोले बेलारुसमा हतियार तैनाथ मात्रै गरिएको बताउँदै त्यसको सञ्चालनको जिम्मेवारी भने रुसकै हातमा रहने स्पष्ट पारेको छ ।
अमेरिकाले पाँच युरोपेली नेटो देश बेल्जियम, जर्मनी, इटाली, नेदरल्याण्ड्स र टर्कीमा आणविक हतियार तैनाथ गरेर राखेको छ ।