site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अनुभूतिका महक,  शून्यको मूल्य र जङ्क्सन पिपलबोट

अनुभूतिका महक
(कवितासंग्रह : ध्रुव जोशी)
सर्लाहीको मलंगवाका बासिन्दा एवम् कृषिविज्ञ ध्रुव जोशीको केही समयअघि प्रकाशित काव्यकृति हो, ‘अनुभूतिका महक’ । यसमा उनका नेपाली र हिन्दी–उर्दू भाषाका कविताहरू संगृहीत छन् । अर्थात्, यो उनको बहुभाषिक कवितासंग्रह हो ।

कविताकृतिभित्र कवि ध्रुव जोशी ‘भन्नुपर्ने कुरा’मा लेख्छन्, “प्रस्तुत कविता सँगालोमा जीवन भोगाइका विभिन्न रस र रङका विम्बहरू मेरा निजात्मक अनुभूतिका रूपमा फरक ढंगमा प्रस्तुत गर्ने जमर्को गरेको छु । यसमा आशा, निराशा, बेचैनी, आक्रोश, आस्था, विश्वास, ‘इश्क–मोहब्बत’का बहुरंगी संवेगका अभिव्यक्ति, सामाजिक विसंगति र राजनीतिका विकृतिहरूमा व्यंग्यका स्वरहरूको अभिव्यञ्जनाले पाठकका मनलाई छुने कोसिस गरेको छु ।...।”

ध्रुव जोशीको ‘म शून्य हुँ’ शीर्षकको कविताले भन्छ–
म शून्य हुँ नीरव शून्य
म आदि हुँ अन्त्य पनि
पृथ्वीदेखि अन्तरिक्षसम्म फैलिएको शून्यता
ब्रह्माण्डमा व्याप्त नीरवता
पूर्णताको अभिव्यक्ति भए पनि शून्य नै हुँ म 
धेरै कुरो मभित्र भए पनि केही पनि होइन म 
सृष्टि आरम्भ हुन्छ मबाट अनि हुन्छ ममै विलीन
काल सीमा अन्त्य भएपछि हुन्छ ममै लीन ।
(पृष्ठ—४३)

Himalayan Bank
Dabur nepal
Agni Group

कवि श्यामल अधिकारी कृतिको भूमिकामा लेख्छन्, “यस संग्रहको नेपाली कविता खण्डभित्र दार्शनिक चेतसम्पन्न ‘म शून्य हुँ’ जस्तो कविता पनि छ र हिन्दी–उर्दू खण्डभित्र मातृभूमिप्रति अगाध आस्था व्यक्ति गरिएको ‘मलंगवा —  मेरा गांव’ जस्तो कविको प्रतिनिधि भन्न सकिने सशक्त कविता पनि छ । मलाई लाग्छ, यी दुई कविताले मात्र पनि कवि ध्रुव जोशीको कवित्वबारे पाठक समालोचकलाई धारणा बनाउन पर्याप्त मद्दत गर्छ ।...।” (पृष्ठ—४)

कृतिभित्र साहित्यकारहरू डा. संजिता वर्मा, डा. रामदयाल राकेश र शरद निरोलाका मन्तव्यहरू पनि समेटिएको छ । बाहिरी पृष्ठको ब्लर्बमा कवि विमल निभा, आनन्द आदित्य र कृष्णमुरारी भण्डारीले आफ्नो धारणा प्रस्तुत गरेका छन् ।

Global bank

पुस्तकको नेपाली खण्डमा २४ कविता छन् । हिन्दी–उर्दू खण्डतर्फ २२ कविता समावेश छ ।

रामहरि जोशी चन्द्रतीर्थ ट्रष्टको सहयोगार्थ ध्रुव जोशीद्वारा प्रकाशित १५२+४ पृष्ठको यस कविताकृतिको मूल्य ५५०– रुपैयाँ राखिएको छ ।

००० 

शून्यको मूल्य
(कर्णाली कथा : डा. नवराज केसी)
सामाजिक अभियन्ता डा. नवराज केसी पेसाले चिकित्सक हुन् । उनी कर्णाली क्षेत्रको अस्पतालमा कार्यरत छन् । कर्णाली भेगमा स्वास्थ्य सेवा गर्दागर्दै त्यहाँका विविध कथा समेटेर डा. केसीले प्रकाशमा ल्याएको कृति हो, ‘शून्यको मूल्य’ । यसलाई उनले ‘सास, साहस र स्नेहको कथा’ उपशीर्षक दिएका छन् ।

कर्णालीलाई मुलुकको सर्वाधिक विकट क्षेत्र मानिन्छ । त्यहाँ काम गर्न जान मानिस हिचकिचाउँछन् । गइहाले पनि एक वर्षभन्दा बढी बस्न चाहँदैनन् । त्यही कर्णालीमा डा. केसीले लामो समय बिताएका छन् । र, विकट र दुर्गम समाजको कथाव्यथा यो कृतिमा प्रस्तुत गरेका छन् ।

डा. केसीको पहिलो कृतिको ब्लर्बमा साहित्यकार बुद्धिसागर लेख्छन्, “एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिंग पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरुद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ? सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर, शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्रवरिपरिका मानिस र तिनका कथासित जोडिएको छ ।...।”

कृतिभित्र प्राक्कथनमा लेखिएको छ, “यस पुस्तकमा अटाएका पात्र र तिनका कथा शून्यको मूल्य भन्ने कथा हुन् । यी कथा नामबिना बाँचेका आमाहरूले सन्तानको नाम सारा संसारले थाहा पाओस् भनेर गरेको संघर्ष र समर्पणका कथा हुन् । कर्णालीमा डाक्टरले भेट्टाएका ती आमाहरूको कथा हो, जसले ठूल्ठूला कलेजमा नसकिएको डाक्टरको पढाइलाई पूर्णता दिएका थिए ।...।”

लेखक डा. केसी लेख्छन्, “...जहाँ जे लेख्दो रहेछ, त्यो त्यहाँ पुगिहाल्दो पनि रहेछ । भेडिनी कान्छी, बुधेकी फुपूआमा, नानीआमा, हिम्मतबहादुर, भीमकाजी, जुम्ल्याहाका बाआमा, म भित्रभित्र बास गरिरहेका छन् । यी सबै मेरा नाम हुन् । म यी सबै हुँ । अब यीबिना जीवन अधुरो छ ।” (पृष्ठ—२४२)

यो कृतिभित्र विभिन्न भागमा कर्णालीवासीले भोगेका÷भोग्नुपरेका कथाव्यथा प्रस्तुत गरिएको छ ।

सांग्रिला बुक्सद्वारा प्रकाशित २४४+४ पृष्ठको यस कृतिको मूल्य ४४८– रुपैयाँ राखिएको छ ।

०००

जङ्क्सन पिपलबोट
(गैरआख्यान : प्रकाश गुरागाईं)
नेपाली काव्यकारितामा सक्रिय सर्जक हुन्, कवि प्रकाश गुरागाईं । उनको एउटा कविताकृति ‘खुट्टामा श्रीपेच’ यसअघि नै सार्वजनिक भएको थियो । उनै सर्जकको न्युरोड, पिपलबोटसँग जोडिएका विभिन्न प्रसंग समेटेर लेखिएको पुस्तक हो, ‘जङ्क्सन पिपलबोट’ ।

कृतिको ब्लर्बमा आख्यानकार नारायण ढकालले लेखेका छन्, “नयाँ सडकको कथा भनेर उनले एकैपटक साहित्य, राजनीति र नेपाली संस्कृतिको प्रमाणिक तथ्य उत्खनन गर्ने जमर्को गरेका छन् । यहाँ हामी छौँ र हामीसित जोडिएको एक युगको संलिष्ट आत्मवृत्तान्त छ । यहाँ हामी छौँ र न्याय, समानता र मानवीय मूल्यहरूका निम्ति समर्पित हाम्रो संघर्ष र स्वप्निल कामनाहरूको आरोह र अवरोह छ । यसकारण म भन्छु— सरल, सरस र बोधगम्य भाषाशैलीमा बुनिएको यो गाथा हाम्रो इतिहास र साहित्यको एक अनुपम दृष्टान्त हो ।”

कृतिभित्रको एउटा शीर्षक ‘मदिरा र मित्रता’मा लेखकले लेखेका छन्, ‘भूपी शेरचन र रक्सीबारे एउटा किस्सा छ । भूपी दिउँसो पनि रक्सी पिएर बस्थे । रक्सी पिएपछि उनलाई पिपलबोट पुग्नैपर्थ्यो । घरमा पिएर आएका भूपी साथीहरूसँगको जमघटमा फेरि पिउँथे ।” (पृष्ठ—१४९)

कृतिभित्र १६ शीर्षकमा नयाँसडकका अनेकन् प्रसंग प्रस्तुत गरिएको छ ।

फिनिक्स बुक्सद्वारा प्रकाशित ३१६+४ पृष्ठको यो पुस्तकको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय