काठमाडौं । मंगलबार काठमाडौं महानगरपालिकाको सहकारी विभागमा दुई जना व्यक्ति आए । उनीहरू महानगर सहकारी विभागकी उप–निर्देशक बिमला कोइरालाको कार्यकक्षमा प्रवेश गरे ।
त्यही क्रममा बज्रयान बचत तथा ऋण सहकारीको उजुरीको विषयमा कुरा खोल्न थाले । उनको कुरा सुनेर उप–निर्देशक कोइरालाले पनि बचतकर्तालाई रकम फिर्ता नदिएको र विभागमा पहिले नै उजुरी परेको बताइन् ।
तर, उनको गुनासो भने भिन्दै किसिमको थियो । आफूलाई थाहै नदिई कसैले आफ्नो नाम सो सहकारीको सञ्चालकमा राखिदिएको उनको गुनासो थियो । आफू सहकारीको सञ्चालक भएको भन्ने फोन आएर थाहा भएको र उजुरी परेको थाहा पाएपछि बुझ्न विभागमा आएको पनि उनी बताउँछन् ।
उजुरी परेको सहकारीको फाइल उप–निर्देशक कोइरालाले झिकाइन् र हेर्न थालिन् । फाइलमा ती व्यक्तिको नाम, फोटो र हस्ताक्षर पनि देखियो । तर, उनले हस्ताक्षर नगरेको र हालको अध्यक्ष पनि नचिनेको बताए ।
स्थापना कालमा आफ्नो श्रीमती उक्त सहकारीको सञ्चालकमा भएको भए पनि पहिले नै राजीनामा दिएको उनको भनाइ थियो ।
“बज्रयान बचत तथा ऋण सहकारी संस्थाको उजुरी यहाँ छ रे । मलाई केही थाहा छैन । तर, मलाई तपाईं पनि सञ्चालकमा हुनुहुन्छ है भनेर फोन आयो,” उनले भने, “मलाई सञ्चालक कसरी राखे ? कसले राखे ? मलाई थाहा नै छैन । मैले अध्यक्ष पनि चिनेको छैन ।”
विभागका अनुसार बज्रयान बचत तथा ऋण सहकारीको अध्यक्ष हुन राजकुमार घिमिरे । अध्यक्ष घिमिरेलाई नचिनेको ती सञ्चालक बताउँछन् । सहकारीमा समस्या आउन थालेपछि सञ्चालकहरूले अनेकौं समस्या लिएर आउने गरेको काठमाडौं महानगरपालिका सहकारी विभागका प्रमुख तथा निर्देशक बलराम त्रिपाठी बताउँछन् ।
उनी भन्छन्, “पहिले राम्रो चल्दै आएका सहकारी बचतकर्ता एकैपटक बचतफिर्ता गर्न आएपछि अहिले समस्यामा पर्न थालेका छन् । यसरी समस्या आएपछि सहकारीका सञ्चालकहरूमा पनि मनमुटाव हुन थाल्छ र अनेक बहाना बनाएर विभागमा आउने गरेका छन् ।”
पहिले मिलोमितोमा सहकारी खोल्ने र विश्वासमा एकल निर्णय गर्दा पनि वास्ता नगर्ने र समस्या परेपछि कानुनी रूपमा कारबाही हुन्छ भनेर सजाय हुन्छ भनेर विभागमा आउने गरेको निर्देशक त्रिपाठीको भनाइ छ । तर, बहाना बनाएर बचतकर्ताको पैसा हिनामिना गर्न नहुने उनी बताउँछन् ।
अर्का एक सहकारी सञ्चालक पनि विभागमा आएर आफ्नो मुद्दा मिलाइदिन अनुरोध गरिरहेका थिए । उनको भनाइ थियो, “सात जना सञ्चालकलाई भाग लगाएर जति भागमा पर्छ, त्यो म तिर्न तयार छु । मेरो मुद्दा मिलाइदिनु पर्यो ।”
अरूको भने आफूले जिम्मा नलिने बताए । तर, सहकारीको मोडलमा यस्तो नहुने भन्दै अडिट गरेर सञ्चालकको निर्णय गरी ल्याउनु पर्ने विभागका कर्मचारीले सुझाव दिए । ती व्यक्तिको डर थियो आफ्नो सम्पत्ति रोक्का हुने र भविष्यमा कुनै पनि मुलुक जान नपाउने ।
आफूले ४० लाख रुपैयाँ बचतकर्ताको पैसा फिर्ता गर्ने प्रतिवद्धता जनाएको भए पनि अध्यक्षले भने पैसा तिर्न नसक्ने बताउँदै आएको उनले बताए । ती सञ्चालकका अनुसार यो सहकारीले ८० लाख रुपैयाँ दायित्व फिर्ता गर्न बाँकी छ ।
सहकारी भनेको स्वनियमन हुनुपर्ने संस्था हो । सहकारीको मोडल स्थानीय समुदायलाई समेटेर ऋण दिने र बचत गर्ने हो ।
तर, सहकारीले आफ्नो कार्यक्षेत्र नै मिचेर दिन प्रतिदिन अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिले ठूला–ठूलादेखि स–साना सहकारीमा समस्या देखिएको केन्द्रीय सहकारी विभागका उप–रजिष्ट्रार तथा सूचना अधिकारी टोलाराज उपाध्याय बताउँछन् ।
“समुदायमा आधारित सहकारीहरूमा त्यस्तो समस्या आएको छैन । सहकारी आफैँ नै नियमन हुनुपर्नेमा त्यो देखिएन,” उनले भने, “सहकारीको मोडल जुन अपेक्षाले ल्याइएको थियो । त्यो अब सुधार गर्नुपर्ने देखियो ।”
सहकारीका सञ्चालकले बचतकर्ताको पैसा लगेर अनुत्पादक क्षेत्रमा लगानी गर्दा यस्तो समस्या उत्पन्न भएको उनी बताउँछन् । अनुत्पादक क्षेत्र भन्नाले सेयर, घरजग्गा र भौतिक संरचना पर्दछन् । बचतकर्ताको पैसाले सहकारीको भवन निर्माण गर्दा पनि समस्या उत्पन्न भएको देखिन्छ ।
पछिल्लो समय बाग्लुङको ढोडपाटन नगरपालिकामा सञ्चालन हुँदै आएको इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्ब रुपैयाँ हिनामिना गरेर फरार छन् । उक्त संस्थाका संस्थापक अध्यक्ष तथा हाल ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नै फरार हुन पुगेका हुन् ।
यो सहकारीको उजुरी केन्द्रीय सहकारी विभागमा पनि परेको थियो । उक्त उजुरी गण्डकी सहकारी रजिष्ट्रारको कार्यालयमा पठाइएको उपाध्यायले बताए । यो सहकारीका सञ्चालकलाई आवश्यक कारबाही अब प्रदेशबाट नै हुने उनको भनाइ छ ।
स्थानीयका अनुसार इमेज बचत तथा ऋण सहकारीका सञ्चालकहरूले जग्गाको कारोबार गर्ने गरेका थिए । जग्गाको कारोबार खस्किँदै गएकाले अहिले यो सहकारीले बचत फिर्ता गर्न सकेको छैन । यसैगरी भक्तपुरमा केन्द्रीय कार्यालय भएको शिव शिखर बहुउद्देश्य सहकारीले पनि अनुत्पादक क्षेत्रमा आफ्नै अर्गनाइजेशनमा लगानी गरेकाले समस्या उत्पन्न भएको बताइएको छ ।
यो संस्थाले बचतकर्ताबाट पैसा उठाएर आफ्नै संस्थामार्फत् अर्काे व्यवसाय गर्दै आएको विभागमा बयानको क्रममा सञ्चालकले भनेका थिए । यो सहकारीले शिखर अर्गनाइजेशन सञ्चालन गर्दै आएको छ । देशभर नै सेवा केन्द्र खोल्नेगरी यो सहकारीले स्वीकृति लिएको थियो ।
अर्थतन्त्रमा असहजता आएसँगै यो सहकारीमा पनि समस्या उत्पन्न भएको थियो ।
एकैचोटी बचतकर्ताहरू बचत फिर्ता माग्न आएर लाइन लागेसँग सहकारीहरूले बचत फिर्ता गर्न नसकेपछि अहिले देशभरका सहकारीको बेहाल भएको छ । बजारमा गएको ऋण उठाउन नसक्दा पनि सहकारी क्षेत्रमा समस्या देखिएको हो ।
बैंकबाट ऋण लिएर सहकारीमा बचत
सहकारीले महँगो ब्याजको लोभ देखाएर करोडपतिलाई पनि सडकमा पुर्याएका छन् । काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख त्रिपाठीका अनुसार बैंकबाट ऋण लिएर सहकारीमा बचत गर्ने पनि उजुरी दिन आउने गरेका छन् ।
महँगो ब्याजमा लोभिएर बचतकर्ताले घर धितोमा राखेर बैंकबाट लिएको ऋण सहकारीमा बचत गर्ने र उक्त पैसा फिर्ता नआएको गुनासो लिएर विभागमा आउने गरेका छन् ।
“भर्खरै एक बचतकर्ता आउनु भएको थियो । उहाँको गुनासो थियो, सहकारीले आफूलाई रोडमा पुर्याएको । कसरी भनेर मैले सोधेँ, बैंकमा घर धितोमा राखेर निकालेको ऋण सहकारीमा महँगो ब्याज आउने लोभले बचत गरेका रैछन्,” उनले भने ।
काठमाडौं महानगरपालिकाको सहकारी विभागमा दैनिक ८ देखि ९ वटासम्म उजुरी आउने गरेका छन् । यी उजुरी बचतकर्ताले दोहोर्याएर ल्याउने गरेका छन् । अधिकांशलाई सम्झाइ बुझाइ विभागले पठाउने गरेको छ ।
कतिपयको उजुरीलाई भने विभागबाट समस्या समाधान गरिदिन प्रहरी कारबाहीका लागि पठाइने गरिएको छ । यस विभागले प्रहरी कारबाहीका लागि ६५ वटा सहकारीको विवरण प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
त्यस्तै विभागबाट हाल ११७ वटा सहकारीको उजुरीमा काम कारबाही गरिरहेको छ । त्यस्तैगरी केन्द्रीय सहकारी वभागमा भने साउनदेखि जेठ ९ गतेसम्म ६७२ वटा उजुरी परेका छन् । त्यसमा विभागबाट ६६४ वटाको काम कारबाही गरिसकिएको छ ।
अब बाँकी आठ वटाको काम कारबाही बाँकी रहेको उप–रजिष्ट्रार खिमानन्द आचार्य बताउँछन् । आठवटा सहकारीको उजुरी फर्छ्योट गर्ने कुनै आधार नदेखिएकाले विभाग अन्योलमा परेको उनी बताउँछन् ।
त्यसैगरी चालु आर्थिक वर्ष २०७९–८० को १० महिनाको अवधिमा सहकारी व्यवस्थापन समितिको कार्यालयले १२ वटा सहकारीलालाई समस्याग्रस्त सूचीमा समावेश गरेको छ । यी १२ कम्पनीको सम्पत्ति रोक्का गरेर कार्यालयले बचतकर्तालाई फिर्ता गरिरहेको कार्यालयका सूचना अधिकारी तेजनाथ पोखरेलले जानकारी दिए ।
कार्यालयका अनुसार स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ड को–आपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कुवेर बचत तथा ऋण सहकारी संस्था, चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, भेगास चत तथा ऋण सहकारी संस्था, स्टाण्डर्ड मल्टिपर्पाेज को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुद्देश्यीय सहकारी र ओरेण्टल को–अपरेटिभ लिमिटेड समस्याग्रस्त सूचीमा छन् ।