काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहहरूको सूची सार्वजनिक गरिएको छ । नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्यान्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’लगायत चलचित्र महोत्सवमा प्रदर्शन हुने भएका छन् ।
जुन २२ देखि २५ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्रहरू प्रदर्शन हुने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
महोत्सवको उद्घाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने र चलिचत्र एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।
आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को प्रदर्शनबाट चलचित्र महोत्सवको उद्घाटन हुनेछ । अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ ।
निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’को विशेष प्रदर्शन हुने आयोजकले जनाएको छ ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ ।