site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
योगेश भट्टराईलाई डा. मीनेन्द्रको जवाफ : एमालेले ०६६ मै स्वीकारेको हो ‘जनयुद्ध’
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद योगेश भट्टराईले सदनमा उठाएको जनयुद्धबारेको सवालमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले जवाफ फर्काएका छन् । 

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेक्रममा एमाले सचिव भट्टराईले उठाएको सवालमा कांग्रेसका कुनै सांसदले जवाफ नदिएपछि नेता डा. रिजालले समाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् ।

शान्ति प्रक्रियामा काम गरेका र माओवादी लडाकुको व्यवस्थापन, पुनःस्थापना र समायोजन समितिका सदस्यसमेत रहेका डा. रिजालले एमालेले ०६६ सालमै ‘जनयुद्ध’ शब्द स्वीकार गरे पनि कांग्रेसले त्यसको प्रतिवाद गर्दै आएको बताए ।

Dabur Nepal
NIC Asia

यसपटक संसद्मा नरहेका नेता रिजालले प्रमाणसहित भट्टराईलाई जवाफ फर्काएका छन् । उनले योगेश भट्टराईको अध्ययन र मननका लागि भन्दै सार्वजनिक पोस्टमा कांग्रेसको विरोधका बीच एमालेले ०६६ सालमै जनयुद्ध शब्द स्वीकार गरेको उल्लेख छ ।

“उहाँको पार्टी एमाले समेत सहभागी सरकारले २०६५/६६ मा संसद्मा प्रस्तुत गरेर पारित ‘जनयुद्ध’ पदावली लेखिएको नीति तथा कार्यक्रमका सुरूका केही पृष्ठ,” पृष्ठसमेत राखेर डा. रिजालले लेखेका छन्, “स्मरणका लागि सो शब्द हटाइयोस् भन्ने मेरो संशोधन प्रस्ताव एमाले समेतको मतबाट अस्वीकृत भएको थियो ।”

त्यसपछिका सरकारले भने जनयुद्ध शब्दको सट्टा सशस्त्र द्वन्द्व नै भन्दै आएका छन् ।

सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा एमाले सांसद योगेश भट्टराई र माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलबीच सवालजवाफ भएको थियो । सवाल एमाले सचिवसमेत रहेका योगेश भट्टराईले उठाएका थिए । 

खासगरी योगेशको सवाल माओवादी केन्द्रतर्फ नभएर नेपाली कांग्रेसतर्फ थियो । अमेरिकी विद्वान फ्रान्सिस फुकुयामाको पुस्तक ‘इन्ड अफ दी हिस्ट्री’को सन्दर्भ कोट्याएका भट्टराईले कांग्रेसको पनि समाप्ति हुने चेतावनी दिएका थिए ।

“जनयुद्ध भन्ने शब्द यहाँ प्रयोग भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । ०७२ को संविधानपश्चात् सरकारी दस्तावेजमा पनि कतै उल्लेख भएको थिएन । पहिलोपटक प्रम प्रचण्डले यो शव्द राष्ट्रपतिको मुखबाट वाचन गराउनुभएको छ,” भट्टराईले भने, “बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसादको पार्टी यति निम्छरो ? यदि यो एक नम्बर बुँदा कांग्रेसले स्वीकार गर्छ भने कांग्रेसको पनि ‘इन्ड अफ हिस्ट्री’ हो ।”

एमालेका सचिव भट्टराईले कांग्रेसमाथि उठाएको सवालमा प्रतिनिधिसभामा कांग्रेसका कुनै पनि सांसदले जवाफ दिएनन् । बरु योगेशलगत्तै बोलेका माओवादी केन्द्रका सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेलले प्रतिवाद गरेर जनयुद्ध शब्दको बचाउ गरे । तथ्यमा आधारित हुनुको साटो उनले ‘मानिसले लडेको युद्धलाई जनयुद्ध भनिन्छ’ भनेर जवाफ फर्काए र आन्दोलनको सम्मान गर्न सिक्न सुझाव दिए ।

“भर्खरै बोल्ने माननीयज्यूले जनयुद्धको बारेमा प्रश्न उठाएर जानुभयो । माननीयज्यूलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु,” पौडेलले भने, “०५२–०६२ सम्म माछायुद्ध भएको थियो, भालुयुद्ध थियो, जङ्गलका अर्नाहरू लडेका थिए कि रूख, ढुंगाहरू लडेका थिए ?”

उनले जनताका छोराछोरी लडेको युद्धलाई नहोच्याउन आग्रह गरेका थिए ।

“बिर्सिनुभयो वृहत् शान्ति सम्झौता ? तपाईंको नेताले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बिर्सनुभयो माननीयज्यू ? नेपाली जनतालाई सार्वभौम बनाउनका निम्ति, संविधासभाबाट संविधान बनाउनका निम्ति जनयुद्ध लडिएको थियो,” पौडेलले भने, “म हजारपटक आँखा जुधाएर बहस गर्न तयार छु, आउनुहोस् बहस गर्न । नेपाली जनताले एकात्मक शाहवंशीय राजन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन लडाइँ लडिएको थियो । इतिहासलाई नबिर्सौँ । यो रोष्टममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro