site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बाँच्ने जीवनको खोजीमा 

जीवन लक्ष्य मात्र कहाँ हो र, यात्रा पनि त हो नि ! लक्ष्यको खोजीमा जीवनमा भौँतारिँदै गर्दा यात्रा निरस, बोझिलो, झन्झटिलो भयो भने हामीले भेट्टाएको लक्ष्य पनि खल्लो हुन्छ ।

जीवनमा हरेक कुराको प्राप्तिका खोजीमा भेटिने भाव नै मिठो हुन्छ । आखिरमा प्राप्त भइसकेपछि त्यो प्राप्ति अप्राप्ति साबित हुन्छ । त्यसैले लक्ष्य प्राप्तिको बाटोमा हिँड्दै गर्दा भेटिएका साना–साना कुराहरूले जीवनलाई रसिलो र अर्थपूर्ण बनाउने गर्दछन् ।

चुनौतीपूर्ण र समस्याग्रस्त जीवनमा यिनै ऊर्जा र रङ भर्न हामी यसपटक पश्चिमी नेपालका पहाडी जिल्लाहरूको यात्रामा निस्किएका थियौँ ।

हामी यात्रामा त निस्किएका थियौँ, तर हामीसँग यात्राको स्पष्ट मार्गचित्र थिएन । विज्ञान र प्रविधिको यो जमानामा पनि हामीले त्यसलाई उपयोग गरेका थिएनौँ । यो हाम्रो लापरबाही पनि हुनसक्छ ।

यात्रामा अगाडि बढ्दै जाँदा जहाँजहाँ पुगिन्छ र जे भेटिन्छ, त्यसलाई आत्मसात् गर्दै अनुभवहरू बटुल्दै जानुमा नै हामीले रोमाञ्चकता खोजेका थियौँ । जीवन सधैँ गम्भीर, सजग र सचेतता मात्र कहाँ हो र, जीवन त अलिअलि उटपट्याङ, बेपरवाह र अस्तव्यस्तता पनि हो नि !

Global Ime bank

अगाडि बनाएका र पढेका सिद्धान्तहरूभन्दा जीवनले भोग्दै, अनुभव गर्दै बनाएका मान्यता र सिद्धान्तहरू बढी प्रभावकारी हुन्छन् । हामीलाई जीवनको यही मज्जा लिनु थियो ।

भनाइ नै छ, एक माघले जाडो जाँदैन । माघ महिना आफैँमा चिसो र कठ्यांग्रिदो हुन्छ । यस्तो समयमा परिवारको पूर्ण स्वीकृतिबिना नै बाइकको यात्रामा हामी निस्किएका थियौँ ।

बिहान पाँच बजे चिसो र सिरेटोसँग जुध्दै हामी काठमाडौँबाट छुट्टियौँ । यात्रालाई ठूलो लक्ष्यमा पुर्याउनुअगाडि सुरुमा मुग्लिङसम्म पुग्ने सानो लक्ष्य बनाएका थियौँ । किनभने, यात्रालाई ठूलो लक्ष्यसम्म सोचेर हिँडियो भने पहिले नै थाकिन्छ, यात्रा बोझिलो हुन्छ । त्यसैले हामीले यात्रालाई टुक्राटुक्रामा बाँडेका थियौँ ।

यसक्रममा नागढुंगादेखि ओरालो र अप्ठ्यारो बाटो पार गर्दै बिहान छ बजेतिर हामी नौबिसे पुग्यौँ र चिया खायौँ । त्यहाँ धेरै बेर अलमल नगरी हामीले यात्रा जारी राख्यौँ । मलेखु पुग्दा भोकको महसुस हुन थाल्यो र सडकछेउको खाजाघरतिर लाग्यौँ ।

toribari1684554546.jpg

त्यहाँ झापाली दिदीले मिठा कुरा गर्दै बासी खाजा खुवाइन् । तर पनि केही बोलिएन । बरु, केही पर पुगेपछि सडकछेउमा मकै पोल्दै गरेका आमा, दिदीहरू भेटिए । आगो ताप्दै नुनखुर्सानीसँग मकै खायौँ । बासी तरकारीभन्दा मकैको स्वाद मिठो थियो ।

उनीहरूको कर्मको सम्मान गर्दै मूल्यभन्दा बढी नै पैसा दिएर हामी त्यहाँबाट बिदा भयौँ । बाटोमा ठाउँठाउँमा दुर्घटनाग्रस्त क्षेत्र भनेर राखिएका बोर्डले हामीलाई झस्काउँथ्यो र तत्कालै सावधानी अपनाउन बाध्य तुल्याउँथ्यो । हामीले यी दुर्घटना क्षेत्र लेखिएका बोर्डहरूलाई जीवनकै सापेक्षतामा हेर्ने हो भने पनि ठूलो महत्त्व राख्ने महसुस गर्यौं ।

आखिर बाटोका हरेक मोडहरूमा दुर्घटना हुने सम्भावना रहन्छ भने जीवनका मोडहरूमा पनि त दुर्घटना हुनसक्छ । मान्छेको मनै त हो, जुन बेला पनि मोडिन र बहकिन सक्छ ।

भावनाका छालहरूले मान्छेलाई कहिले कहाँ पुर्याउँछन्, भन्न कहाँ सकिन्छ र ! जिन्दगीका यस्ता मोडमा परिवार, आफन्त र साथीभाइ आदिको सल्लाह र सुझावले पनि जीवनमा आइपर्ने यस्ता दुर्घटनालाई टार्न सकिन्छ ।

यिनै कुरा मनमा खेलाउँदै हामी अगाडि बढिरह्यौँ । मुग्लिनबाट त्रिशूली नदीलाई बिदाइ गर्दै मर्स्याङ्दी नदीका किनारैकिनार ठाउँठाउँमा निर्माणाधीन बाटोका जटिलतालाई छिचोल्दै हामी तनहुँको डुम्रेतर्फ लाग्यौँ । 

त्रिशूली बगेर मर्स्याङ्दीमा झर्छ
मर्स्याङ्दी बगेर नारायणीमा झर्छ

यो बोलको गीत गुनगुनाउँदै हामी अगाडि बढ्यौँ । यसो सोच्यौँ– हिमाली जिल्ला रसुवाको काख हुँदै बग्दै आएको त्रिशूली र मनाङ हुँदै आएको मस्याङ्दी यी दुई हिमनदीहरूको मिलन पनि गज्जबको नै छ । जीवन पनि यस्तै त छ, हैन र ?

जीवनमा पनि त भेटिने र छुट्टिने क्रम चलिरहन्छ । हामी पनि कपिलवस्तु र झापाका मान्छे एकापसमा जोडिएर प्रकृति, समाज र जीवन बुझ्नका लागि हिँडेका थियौँ ।

डुम्रेबाट लमजुङतर्पm मोडिँदै गर्दा मर्स्याङ्दी नदी पनि हामीसँगै थियो । तर, यति बेला मर्स्याङ्दी दक्षिणतर्पm बगिरहेको थियो भने हामी उत्तरतर्पm बगिरहेका थियौँ । नदीवरपरका पहेँलपुर तोरीबारीहरू, रमाइला तरेली परेका फाँट, पहाड तथा उज्याला घरहरूलाई परेलीमा सजाउँदै हामी निरन्तर यात्रामा थियौँ ।

मर्स्याङ्दी नदीको रङ, सुसाहट र ठाउँठाउँको गम्भीरता बडो अचम्मको लागिरहेको थियो । लमजुङ जिल्ला सिर्जनाको धरहरा बोकेको जिल्ला पनि त हो नि ! हामीलाई मर्स्याङ्दीको सुसाहटले राष्ट्रकवि माधव घिमिरेलाई पनि सम्झायो–
आजै र राति के देखेँ सपना मै मरी गएको
मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको
वारि र पारि घामै र छाया माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर बैँसमा नमार ।

अमर प्रेमको कथा बोकेको घिमिरेको गीतका यी हरफहरू हामीले स्मरण गर्यौँ । जन्म र मृत्यु जीवनका शाश्वत पक्ष हुन् । जीवन घामछायाजस्तै हो । यो सधैँका लागि होइन । तर, बाँचुन्जेल माया, प्रेम, सद्भाव र हार्दिकताले सजाउनुपर्छ जीवन ।

बैँसालु उमेर आफैँमा मायाप्रेम गर्ने उमेर हो । यो मायावी कलकलाउँदो उमेरमा कसैलाई जीवनबाट नखोसिदिन मर्स्याङ्दी नदीलाई साक्षी राखेर घिमिरेले गरेको यो आग्रहलाई सम्मान गर्न मन लाग्यो । हामी पनि केही बेर बेपरवाह बगिरेको मर्स्याङ्दीको चिसो पानीसँग जिस्कियौँ ।

हिमाल रसाएर बगेको यो नदी आफैँमा कति पवित्र र सङ्लो छ ! जीवनलाई पनि यस्तै सिर्जनशील, पवित्र र प्रवाहशील बनाउन सके कस्तो हुन्थ्यो ? हामी पनि यस्तै बग्ने सिर्जनशील र गतिशील जीवनका खोजीमा थियौँ ।

बाटोमा देखिएका र भेटिएका मर्स्याङ्दी, मध्य मर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाले नेपालमा जलविद्युत्का क्षेत्रमा अपार सम्भावना रहेको कुरा पुष्टि गर्दै थिए ।

एउटै नदीबाट ठाउँठाउँमा निर्माण गरिएका विद्युत्गृहहरू देख्दा हामीलाई लाग्यो– नदीमा चिसो पानी मात्र छैन, आगो पनि छ । उज्यालो बोकेर बगेका नदी देशभरि कति धेरै छन्, यिनको समुचित उपयोग गर्न सक्ने हो भने देशमा समृद्धिको उज्यालो आउन सक्छ । पानी र जवानीलाई समयमै उपयोग गर्न सके मात्र त्यसको अर्थ हुन्छ । मर्स्याङ्दीको पानी नारायणीमा पुग्दा त्यो ऊर्जा कायम हुन कहाँ सक्छ र !

आज देश पनि यस्तै ऊर्जाशील तन्नेरीहरूलाई विदेश निर्यात गरेर मरुभूमिलाई उद्यान बनाउन विवश छ । विवशतामा बगेर विदेशमा पसिना बगाइरहेका तन्नेरी जोसलाई देश निर्माणमा समाहित गर्न सके आहा, कस्तो हुन्थ्यो होला देश !

मर्स्याङ्दीको पानीले हामीलाई धेरै बेर अलमल्यायो । हामी अलि भावुक पनि भएछौँ क्यार ! यात्रामा धेरै अलमल र ज्यादा भावुकता पनि राम्रो होइन भनी हामी अगाडि बढ्यौँ ।

baluwo_khola1684554482.jpg

दिउँसोको १२ बजिसकेछ । खाना खानुपर्ने । राम्रो खानाका लागि लमजुङका बारेमा जानकार अशोक पराजुली दाजुसँग फोनमार्पmत सल्लाह माग्यौँ । उहाँको सल्लाहअनुसार बेँसीसहरको नर्थेन गेटवे रिसोर्टमा पुग्यौँ र न्यानो आतिथ्यका साथ मिठो भोजन गर्यौँ ।

अब हामी मध्यपहाडी लोकमार्गको बाटो हुँदै कास्की छिचोल्ने योजनामा थियौँ । त्यसका लागि केही पछाडि फर्कनुपर्ने थियो । कहिलेकाहीँ यात्रामा जस्तै जीवनमा पनि पछि फर्कनुपर्ने हुन्छ ।

लमजुङको भोटेओडार, सुन्दरबजारबाट मध्यनेपाल हुँदै हामीलाई पोखरा निस्कनुपर्ने थियो । यो यात्राले हामीलाई खोटाङ यात्राको झल्को दिइरहेको थियो । गाउँले परिवेश, कच्ची र धुलाम्मे सडकमा थथर्किँदै बीचबीचमा लमजुङका रसिला सुन्तला खाँदै तथा बेलाबेलामा लमजुङ र तनहुँसँग लुकामारी खेल्दै कुदिरह्यौँ । कुदिरह्यौँ ।

मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलासुस्ती भएको देख्दा मनमा खिन्नता छायो । कास्कीको सीमाना पुग्नै लाग्दा भेटेको पिच बाटो र हराभरा परिवेशले बाटोको थकानलाई थोरै भए नि मेटाइदियो ।

केही बेरमा हामी पोखरा पुग्यौँ । पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनाको घाउ आलै थियो । सिंगो देशले नै शोक दिवस मनाएका बेला पोखरामा त झन् सन्नाटा छाएको थियो । अनलाइनमा आएका केही खबरले मानवतामाथि उपहास गरिरहेको आजको परिवेशलाई प्रतिविम्बित गरिरहेका थिए । आफूले सक्ने सहयोग गर्न त परै जाओस्, उद्धार कार्य नै अवरुद्ध हुने गरी भिडियो लाइभ गरेर फेसबुक र युट्युबमा राखिएका समाचारले घाउमा मलमपट्टीका सट्टा नुन थपिरहेका थिए ।

मृत्युजस्तो संवेदनशील विषय पनि कतिपय मान्छेका लागि मजाक र उपहासका विषय बनेका थिए । मानवचेतनाले निर्माण गरेको प्रविधिले मान्छेको विवेक र मानवतामाथि नै प्रश्नचिह्न खडा गरेको देख्दा उदेक लागेर आयो ।

हामी पोखरामा थियौँ । तर, पोखरा हाम्रो बसाइको रोजाइमा थिएन । हामी त पर्वतको कुस्मा पुगेर बास बस्ने योजनामा थियौँ । त्यसैले बाइकलाई उत्तरतिर मोड्यौँ । पोखरादेखि हेम्जा हुँदै खत्रेखोलासम्मको देशकै मानक र अत्याधुनिक बाटोले हामीलाई लोभ्यायो । साँच्चै देशैभरि यस्तै बाटो हुन्थ्यो भने सडकका क्षेत्रमा ठूलो क्रान्ति हुने थियो ।

खत्रेखोलादेखि पर्वतसम्मको बाटो केही साँघुरो भए पनि नराम्रो भने थिएन । कतैकतै भीरका पिँध खोपेर निर्माण गरिएको बाटो छिचोल्दै झमक्कै साँझ पर्दा हामी पर्वतको कुस्मा पुग्यौँ ।

त्यहाँ हामीले राम्रो लजमा बसौँ भनेर बाहिरबाट झिलिमिली देखिएको होटेल रोज्यौँ । कोठा हेर्दा निकै राम्रो र अरूभन्दा महँगो थियो । बिहान उठ्दा भने कोठा जलमग्न थियो । बाथरुमको पानी चुहिएर कोठा भरिएको रहेछ । हाम्रा भुईंमा रहेका जुत्ता, झोलालगायत सामान समेत भिजेका थिए ।

यस घटनाबाट बाहिर झिलिमिली र राम्राजस्ता देखिएका सबै राम्रा नहुँदा रहेछन् भन्ने हामीले सिक्यौँ । होटेलवालासँग गुनासो गर्दै हामी बिहानै त्यहाँबाट म्याग्दीका लागि प्रस्थान गर्यौं ।

मालढुंगा पुगेर सुवेदी थरका बा’का पसलमा पुगी चियाखाजा खायौँ । बा निकै गफाडी रहेछन् । बाले त्यहाँबाट बेनीसम्मको बाटो एकदम राम्रो र फिलिली छ भनेर हामीलाई गफ लगाए । हामीले पत्यायौँ र हिँड्यौँ ।

काली नदीको तिरैतिर, माथि भीरैभीर, हिलाम्मे र धुलाम्मे बेहाल बाटोमा हामी तिनै राम्रो बाटो भनेर गफ दिने सुवेदी बालाई सम्झँदै गइरह्यौँ । जाँदै गर्दा नेपालकै अग्लो र लामो झोलुंगे पुल हाम्रा आँखाले खोजिरहे, तर कतै देखिएन । बेनी पुगेर बुझ्दा त हामी त्यही झोलुंगे पुलमुनिबाटै पो गएका रहेछौँ ! कतिपय कुरा आफूसँग वा आफूवरपर हुँदा पनि थाहा नपाइँदो रहेछ ।

बेनीबजारमा पुगेर कालीगण्डकी नदीको किनारमा गई कालीको जलले आफूलाई सिञ्चन गर्यौं र माधव घिमिरेको ‘कालीगण्डकी’ कवितावाचन गर्दै फेसबुक लाइभमा देखियौँ ।

himal1684554517.jpg

तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम
काली गंगा भन न कसरी कुँद्छ्यौ शालिग्राम
मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ
एउटै सानो सरल कृतिमा पूर्ण संसार देऊ ।

कालीगण्डकीजस्तै पवित्र, दिव्य, सिर्जनशील र शिल्पी हुन सके जीवन कति धन्य हुन्थ्यो होला ! साँच्चै सिर्जनाभित्र दिव्यता लुकेको हुन्छ । कालीगण्डकीले यही दिव्यताको परिचय दिन्छ ।

ठूलो ऊर्जा बोकेर पनि कालीगण्डकी शान्त र शालीन भएर बगेको छ । सिर्जना अमर हुन्छ । कालीगण्डकीको यात्रा अजरता र अमरताको यात्रा हो । यसको वरिपरि रहन पाउनु पनि सौभाग्यको कुरा हो जस्तै लाग्यो । सायद त्यसै भएर होला, कवि शिरोमणि लेखनाथ पौड्यालले पनि भनेका थिए–
योग्य स्थानबिसे मान सानाले पनि पाउँछ
कृण्णाको तटको ढुंगा देउता कहलाउँछ ।

कालीगण्डकी पनि यस्तो सर्जक हो, जहाँका ढुंगाढुंगा देवता बनेर पुजिन्छन् । त्यसैले होला, नेपाल सरकारले मित्रराष्ट्र भारतलाई अयोध्यामा रामलक्ष्मणको मूर्ति कुँद्नका लागि विशाल दुई शिला उपहारका रूपमा दिएको । कालीगण्डकीको यही महानताबाट मान्छेले आफूलाई यस्तै दिव्य, सिर्जनशील, ऊर्जाशील र पवित्र बनाउँदै जानुपर्दछ भन्ने कुराको बोध गर्यौं ।

देश टेक्ने र देश लेख्ने रहरका साथ बाँच्ने जीवनको खोजीमा निस्केका हामीलाई कालीगण्डकी नदीले ठूलो प्रेरणा दियो । कालीगण्डकी बगरको विशाल शिलामाथि उभिएर यही प्रेरणालाई जीवनमा अनुशरण गर्ने संकल्प गर्यौं ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu