site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अहिलेका कविहरूको छाप देख्दिनँ
Tiktok banner adTiktok banner ad

(नेपालमा २० को दशकको एउटा सशक्त साहित्यिक आन्दोलन हो, अमलेख’ । र, त्यसको एक प्रणेता हुन्, कवि द्वारिका श्रेष्ठ । उनी लेखनमा संख्याभन्दा गुणमा बढी विश्वास गर्छन् । बन्दीपुरका सर्जक श्रेष्ठले काठमाडौंलाई कर्मथलो बनाए । उनी गम्भीर अध्येता पनि हुन् । चितवन जंगल लजको माध्यमबाट पर्यटन व्यवसायमा समेत उल्लेख्य योगदान दिएका छन् । अहिले उनको व्यवसाय अवरुद्ध छ । काठमाडौंमै ‘जलरिका प्रतिष्ठान’का माध्यमबाट साहित्यिक उन्नयनमा सक्रिय छन् । उनको महत्त्वपूर्ण कविताकृति ‘द्वारिका श्रेष्ठका कविता’ हो । लेखनको आरम्भकालीन कविताकृति ‘शीतको थोपा’, ‘द्वारिका श्रेष्ठका कविता’ र उत्तरकालीन कविताहरूको समग्र कृति ‘द्वारिका श्रेष्ठका समग्र कविता’ पाठकले रुचाइसकेका छन् । उनै कवि श्रेष्ठसित गोविन्द गिरी प्रेरणाले गरेको कुराकानीको सम्पादित अंश)

कविता लेख्न के कुराले प्रेरित गर्‍यो ?
थाहा छैन मलाई के भयो, केले लेखायो ! कुनै विशेष भावना या कुनै थिममा लेखौँ भन्ने पनि होइन । त्यस्तो खास केही छैन ।

पहिलो कविता लेख्दा कति वर्षको हुनुहुन्थ्यो ?
पहिलो कविता लेख्दा सायद १८/२० वर्षको थिएँ कि !

तपाईंलाई बन्दीपुरले कवि बनाएको हो कि काठमाडौंले ?
अलिकति त बन्दीपुरले नै बनाएको हो । किनभने, प्राकृतिक रूपले बन्दीपुर अत्यन्त रमाइलो ठाउँ, अत्यन्त स्वच्छ । अहिले त मान्छेहरूले ‘पहाडकी रानी’ भन्दै आएका छन् । सुरुमा मैले त्यस हिसाबले केही पनि सोचिनँ । काठमाडौं आएँ । मेरो विचारमा ९/१० वर्षको उमेरमा होला, म काठमाडौं आएको । म र मचा दाइ । हामी दाजुभाइ आएका थियौँ । त्यस बेला साथीहरू निकै बने । काठमाडौं पनि मलाई रमाइलो लाग्यो । यहाँ सबै थोक छ । हिमाल देखिन्छ । अलिकति उता गयो भने जंगलै छ, गोदावरीतिर । पर्यावरणको हिसाबले काठमाडौं अहिले पो निकै प्रदूषित भयो । तर, मैले एमए दिँदा सन् १९५७/५८ सम्म पनि राम्रो थियो । हिँडेर युनिभर्सिटी जाँदा पनि रमाइलो हुन्थ्यो । म त्यतिखेर काल्धारा बस्थेँ । हिँड्दै हिँड्दै पुग्थेँ । अति रमाइलो थियो के !

तपाईंलाई सुरुमा कसैको प्रभाव परेजस्तो भयो ?
जब मैले लेख्न थालेँ, पढ्न पनि थालेँ । म अंग्रेजी साहित्यको विद्यार्थी हुँ । म अंग्रेजी साहित्यबाट खास गरेर कवितामा बढ्ता प्रभावित भएँ । टीएस इलियट, एज्रा पाउन्ड, ईइकमिङ्स, यिट्स आदिबाट । पढ्ने पनि त्यही, रुचि पनि त्यही भएको हुनाले प्रभावित भएँ । जहाँसम्म नेपालको कुरो छ, पुरानाले मलाई प्रभाव पारेको छैन । मलाई सबैभन्दा मन पर्ने ‘छोरीलाई मानचित्र पढाउँदा’ शीर्षकको विजय मल्लको कविताले केही प्रभाव पारेको हो । पछि मोहन कोइरालाको कविताले । उहाँको इमेजरीको हिसाबले, विचारले होइन । नयाँनयाँ सिम्बोल, इमेजहरू लेख्दाखेरि मलाई बढो प्रभाव पर्दथ्यो ।

उहाँको एउटा कवितामा भएको म एउटा लाइन सम्झन्छु, ‘पहाडको थुम्को एउटा तरुनीको स्तनजस्तो चुच्चो !’ त्यो प्रगतिमा छापिएको थियो । प्रायः त प्रगतिबाटै उहाँले आफ्नो कविता सम्प्रेषण गरेको हो नि ! पछि रूपरेखामा । तर, मेरो विचारमा उहाँको पहिलेपहिलेको कविता जुन प्रगतिमा थियो, त्यो नै उत्कृष्ट हो कि ! पछि उहाँले लामा कविताको एक्सपेरिमेन्ट गर्नुभयो । त्यसमा केही कुराहरू विवाद गर्न सकिन्छ । तर, बेसिकली उहाँका प्रतीकहरूले मलाई प्रभावित गर्यो । त्यसपछि त अरू साथीहरूको कविता पनि पढियो ।

फेरि एउटा कुरा के भने, म खास लेखनमा त्यति दिलोज्यानले लाग्ने कवि होइन, जसरी अरू लाग्छन् । त्यसमा रुचि छैन मेरो । म त मन लागेको बेलामा लेख्ने हो, जब फिलिङ्सहरू आउँछ । जस्तो, म आठ/दश वर्ष नलेखीकन पनि बसेँ । त्यसपछि मैले दुई/चारवटा कविताहरू लेखेँ । अहिले पनि म एउटा सिंगो कविता त लेख्दिनँ, तर बीचबीचमा एक्लै बस्दा फिलिङहरू आउँछ नि, म त्यसलाई टिपेर राख्छु र डेभलप गर्छु । त्यसकारणले म कवि भएर दिनदिनै लेख्नुपर्छ, महिनामा यतिवटा लेख्नुपर्छ भन्नेमा छैन । फिलिङ्स हो, फिलिङ त कति बेला कुन रूपमा आउँछ, त्योअनुसार हो । त्यसकारणले म क्वान्टिटीमा विश्वास गर्दिनँ ।

तपाईंको साथीहरूको जमात कसरी खडा भयो ?
यसो भयो, लेखनमा यस्तो हुन्छ नि, कविता लेख्ने साहित्यकार साथीहरूको भेट भएपछि इन्टर्याक्सन हुन्छ नि, त्यसले भयो । बीए पढ्दाखेरि अलि बढ्ता सशक्त भएँ । सन्जोगले मेरो डेरा कृष्णभक्त (श्रेष्ठ)को डेरा सँगै पर्यो । त्योभन्दा अगाडि मोहन कोइरालासँग पनि संगत थियो । हाम्रो बढ्ता इन्टिमेसी कृष्णजी, मोहनजीसँग भयो । पहिलापहिला त मोहन हिमांशु थापासित पनि भयो ।

‘रोदी’ बन्यो, तपाईं नअटाएको कि रुचि नभएको ?
होइन, नअटाएकै भन्नुपर्छ । बराबर टुँडिखेलमा हाम्रो जमघट हुन्थ्यो । भेट्थ्यौँ । उनीरूरुको एउटा फिलोसफी के रहेछ भने, पाँचजनालाई मात्रै राख्ने । मैले उहाँहरूलाई भनेँ– तपाईंहरू त पञ्च पाण्डव रहेछ । पछि मैले रुचि पनि देखाइनँ । उनीहरूले आऊ पनि भनेनन् । मलाई उनीहरूको त्यो साँघुरो घेराजस्तो लाग्यो । त्यसकारण मैले कहिले पनि रुचि देखाइनँ । उनीहरूको गोष्ठीमा मैले कहिल्यै भाग लिइनँ ।

348361128_605000611601110_1860441411813795581_n1684548151.jpg

मित्रताचाहिँ कायमै रह्यो ?
मित्रता कायमै रह्यो, खासगरी कृष्णजीसित । वासु शशीसित त्यस्तो केही रहेन । कुमार नेपाल र म जागिर एउटै अफिसमा खान्थ्यौँ, इन्टिमेसी भने थिएन ।

‘अमलेख’ आयो, ‘अस्वीकृत जमात’ पनि आयो नि !
अमलेख त हामीले नै सुरु गरेको हो ।

अमलेखमा कोको हुनुहुन्थ्यो ?
अमलेखमा म, कृष्णजी, रत्नशमशेर (थापा), मोहन कोइराला, पुरुषोत्तम बस्नेत । अनि, सिउँडी नामको पत्रिका निकाल्यौँ हामीले । त्यसमा भुवन कोइराला हुनुहुन्थ्यो । पहिले कोइराला, अहिले ढुंगाना । त्यही पाँच/सातजना हो ।

अमलेखको अवधारणा कसको हो ? 
मैले नै हो । हामीले नै हो । के भने, अमलेख भनेको स्वतन्त्र अभिव्यक्ति हो । हामीले परम्परामा किन विश्वास गर्ने भन्यौँ । संस्थापनमा पनि किन विश्वास गर्ने भन्यौँ । त्यसकारण संस्थापनमा हामी कहिले पनि संलग्न भएनौँ । कविता र लेखहरू छाप्न पनि दिएनौँ । हामी अपरम्परावादी । अमलेख भएपछि हामी सबै स्वतन्त्र । सबै किसिमबाट हामी स्वतन्त्र हुन चाहन्थ्यौँ । विचारमा । सोचाइमा । लेखाइमा । त्यही भनेर हामीले अमलेख नाम राखेका हौँ । त्यसका लागि एउटा पत्रिका चाहिन्छ भनेरै सिउँडी निकाल्यौँ । त्यो पनि एउटा विम्बको रूपमा । मरुभूमिमा पनि सिउँडी उम्रिन्छ, पानी चाहिन्न । घाम चाहिन्न । लेखकहरू पनि त्यसरी नै बाँच्न जान्नुपर्छ भन्ने हिसाबले प्रतीकका रूपमा ल्याइएको हो । सिउँडी ६/७ अंक कति निस्कियो ।

सिउँडी नाम कसले राखेको, तपाईंले नै हो ?
हामीले नै भन्नुपर्यो । मलाई सिउँडी मन पर्थ्यो । मैले कलेक्सन पनि गर्थेँ । किनभने, हाम्रो विचारसित मिल्दो भो नि त, सिउँडी । एउटा प्रतीकका रूपमा । जस्तोसुकै वातावरणमा पनि हुर्कन सक्ने । कोठाभित्र राखे पनि हुने, बाहिर राखे पनि हुने । पानी परे पनि ठिक छ, घाम लागे पनि ठिक छ ।

अनि, अस्वीकृत जमात ?
म छैन त्यहाँ । हामी कोही छैनौँ ।

तपाईंको पहिलो कवितासंग्रह ०१५ सालमा निस्कियो, होइन ?
हो । २०१५ सालमै हो, ‘शीतको थोपा’ । म त्यति बेला बीएमा पढ्दै थिएँ । बीए सिद्धिनै लागेको थियो क्यार । २०११ सालमा एसएलसी गरेको मैले । त्यति बेला म अलि योङ पनि थिएँ । त्यसमा बढ्ता सेन्टिमेन्टल भावनाहरू छन् । ती कविताले मेरो अहिलेको विचार र अवधारणालाई रेप्रिजेन्ट गर्दैन । त्यसकारणले मैले समग्र कवितामा त्यो राख्न पनि चाहेको थिइनँ । ‘समग्र कविता’ श्रीमतीजीले निकाल्नुभयो, हाम्रो विवाहोत्सव पारेर । मलाई थाहै भएन के ! मलाई सरप्राइज दिन निकालेको । ‘शीतको थोपा’ पनि राखेको रहेछ । अरू फुटकर कविता पनि राखेको रहेछ । पछिल्लो भागमा ७० को दशकमा लेखेका दुई/चारवटा कविता छन् ।

‘समग्र कविता’ छापिँदा कस्तो अनुभूति भयो ? 
मैले केही सोचिनँ । किन भनेदेखि, म मेरो किताबको समीक्षा गरेर कसैले लेखिदेओस्, त्यसबारेमा केही लेखिदियोस् भन्ने चाहना राख्ने मान्छे नै होइन । खालि के भने, श्रीमतीले निकाल्दाखेरि सरप्राइज त भयो मलाई पनि ।

लेखनमा सक्रिय देखिनु हुन्न, लेखेर प्रकाशन नगर्नुभएको हो कि के हो ? 
शारीरिक रूपमा त तन्दुरुस्त नै छु म अहिलेसम्म भनौँ न । तर के भने, पहिलेदेखि नै म त्यति धेरै लेख्ने मान्छे होइन । म अत्यन्त थोरै लेख्छु । कहिलेकाहीँ त एउटा कविता लेख्न लामो समय लाग्छ । ७० दशकपछिको एउटा कविता लेख्नलाई नै मलाई एक वर्ष लाग्यो, कम्प्लिट गर्नलाई । सामान्यतः केही फिलिङ र लाइनहरू लेख्छु म । त्यसपछि त्यसमा थप्दै जान्छु ।

एक वर्ष लागेको कविता कुन हो ?
‘विस्मृतिको आत्मरति’ भन्ने हो । यसलाई पूरा गर्न करिबकरिब एक वर्ष नै लाग्यो ।

त्यसलाई प्रकाशित गर्नुभयो ?
अँ, ‘शारदा’मा दिएँ । दुई वर्ष कि कति पछि शारदामा निस्क्यो । मलाई मेरो मन पर्ने कविताहरूमध्ये नयाँमा यो एउटा हो ।

चितवन जंगल लजमा संलग्न भएपछि कविता लेखनमा कमी आएको हो कि !
व्यवसायले पनि हो । अलिकति सोचाइले पनि हो । के लेख्ने भनेजस्तो फिलिङ आउने । तर, लेख्न नसके पनि, अत्यन्त व्यस्त रहे पनि साहित्यिक साथीहरूबीच जमघट हुन्थ्यो । अनि, मैले के सोचेँ– साथीभाइहरूलाई वर्षमा एकचोटि किन नलैजाने ? त्यसले गर्दा म अपडेट पनि हुन्छु । साथीभाइहरू कसरी लेख्छन् क्रिया, अन्तरक्रियाहरू हुन्छ । कविता सुनाउँछन्, कथा सुनाउँछन्, आलोचनाको बारेमा विस्तृत छलफल हुन्छ । चितवनमा त्यो ‘साहित्य वन महोत्सव’ सुरु गर्नुको मुख्य उद्देश्य नै त्यही थियो । साथीभाइ भेट हुन्छ । कुरा हुन्छ । अलि फ्री हुन्छ । त्यो हिसाबले पनि मैले सुरु गरेको हो ।

अहिले त यो कार्यक्रम बन्द छ, त्यस बेलाको साहित्य वन महोत्सवको के कुराले अहिले पनि तपाईंलाई एक्साइटेड बनाउँछ ?
हामीले लैजान्थ्यौँ हरेक वर्ष २५ देखि ३५ जनासम्म साहित्यकारहरू । मैले त्यो नै मिस गर्छु । एक त म जंगलको वातावरण मिस गर्छु । त्यसमाथि साथीहरू आउँदाखेरि उनीहरूसँग मन रमाउँथ्यो, खुसी हुन्थ्यो, एक्साइटेड हुइन्थ्यो । त्यसमाथि के थियो भने तपाईंलाई थाहै छ, एक पाटो साहित्य विषयमा चर्चा गर्ने, अर्को पाटो जंगल परिभ्रमण गर्ने । त्यसले गर्दा उहाँहरूलाई बडो एक्साइटेड हुन्थ्यो । त्यसै कारणले पनि म बडो फिल गर्छु । मिस गर्छु ।

तपाईंको लेखन ‘स्लो डाउन’ हुँदै गयो, एक्कासि भाउजू जलेश्वरी श्रेष्ठको लेखन अगाडि आयो । यो संयोग हो कि के हो ?
अरू केही होइन । नितान्त संयोग हो यो । किनभने, उसले त धेरैपछि सुरु गरेको हो लेख्न । खास गरेर मेरो इनिसियटिभमा लेखक, साहित्यकारहरू जंगलमा जान्थे । त्यहाँ जाँदाजाँदै उसलाई पनि भावना आयो, मैले आफ्नो साथीहरूलाई किन नलैजाने ? उसको भावना त्यति बेलादेखि नै थियो । मातृत्वको फिलिङ थियो । मातृत्वको प्रश्न थियो । उसलाई त्यसले अत्यन्त सताइरहेको थियो । खासगरी छोरीको नागरिकता आमाबाट किन नहुने ? त्यसले गर्दाखेरि । जहाँ पनि बाउको रेप्रिजेन्टेसन हुन्छ । त्यसकारण नारीत्वको संवेदनाले, नारीको अधिकारको प्रश्नले उसको लेखनमा जागरुकता ल्यायो । प्रवाह आयो । नयाँनयाँ विचार आयो । त्यसपछि उसको दुई/तीनवटा कथासंग्र्रह र उपन्यास पनि प्रकाशन भयो । तर, यो नितान्त एक संयोग मात्रै हो के ।

उहाँको लेखनमा तपाईंको सहयोग, सुझाव के कस्तो रह्यो ?
मेरो विचार र सुझाव कहिले पनि दिन्नँ ! मेरो सोचाइ के छ भने, आफैँ प्रस्फुटन होस् । आफ्नो लेखन आफैँबाट होस् । त्यो म चाहन्थेँ । मैले यसो ह्रस्वदीर्घ, स्ट्रकचर केही मिल्दैन कि, केही तलमाथि भएको छ कि, त्यही मात्र हेर्थेँ । प्रिन्टमा जानुभन्दा अगाडि केही मिलेको छैन कि, त्यो हेर्ने हो । मेरो सहयोग भनेको त्यति हो ।

कस्तो पाउनुहुन्छ पछिल्लो चरणका कविता ?
मपछि दुई पुस्ता आइसके । सबै विधामा आइराखेकै छन् । आख्यानमा त धेरै आएका छन् । तर, कवितामा अलिकति मेरो बेग्लै धारणा छ । धेरै हुलहरू आइरहेका छन् । राम्राराम्रा लेखनहरू पनि आइरहेका छन् । लेखिराख्नुभएको छ । तर, मलाई के लाग्छ भने जहिले पनि, एउटा हुन्छ नि, युगको निर्माण, रिमालबाट सुरु गरौँ न, रिमालको आफ्नै छ । देवकोटाको आफ्नै छ । लेखनाथको आफ्नै छ । माधव घिमिरेको आफ्नै छ । केही अंशमा ‘छोरीलाई मानचित्र पढाउँदा’ विजय मल्लको, थोरै लेख्न्नुभो, तर त्यो इमेजहरू धेरै राम्रो लाग्छ । मोहन कोइराला, कृष्णभक्तको आफ्नै छ ।

अहिलेका कविहरूको छाप देख्दिनँ म । अहिलेको कवितामा आफ्नो कालको, अहिलेको चेतना कम छ कि जस्तो लाग्छ । देवकोटाको पढेपछि, सिद्धिचरणको पढेपछि, माधव घिमिरेको पढेपछि स्पष्ट हुन्छ नि, यसको कविता भनेर । त्यसमा कविको आ–आफ्नो छाप देखिन्छ । तर, अहिले के भइराखेको छ भनेर म आफैँ प्रश्न गर्छु ! आज पढ्दाखेरि अलिकति आफ्नो समयको चेत, आफ्नो चेत, छैन कि जस्तो लाग्छ । सायद उहाँहरूले लेखिरहनुभएको छ, भोलि आउन सक्छ कि !

मोहन कोइराला र ईश्वर वल्लभको कविताका बारेमा के भन्नुहुन्छ ?
मोहनजीको कविता मैले भनेँ नि, प्रगतिकालीन कविता मलाई मन पर्छ । पछि आएर जुन लामालामा कविता उहाँले लेख्नुभयो, उहाँको एउटा एक्सपेरिमेन्ट होला, मैले राम्रो पनि भन्दिनँ, नराम्रो पनि भन्दिनँ । तर, दुरुह, साह्रै दुरुह छ के ! कविताका पाठकलाई कमसेकम एउटा मसिनो धागोले भए पनि तान्नुपर्छ । कुनै किसिमबाट । इमेजबाट अथवा फिलिङबाट । विचारबाट हैन । मोर अर लेस हाम्रोचाहिँ ईश्वर वल्लभको पनि त्यही छ । अलिकति त के भयो भने, लेखनमा आफ्नो विचार, आफ्नो जीवन कविले कसरी बुझेको हुन्छ, त्यो पनि रिफ्लेक्ट हुन्छ । अब जस्तो, ईश्वर वल्लभको जीवन त्यस्तै थियो । उसको ब्याकग्राउन्ड पनि त्यस्तै थियो । मोहन कोइरालाको त त्यस्तो लाग्दैन । धेरै वर्षदेखि मोहन कोइराला धेरै संगत गरेको मान्छे हो । त्यसकारणले उहाँको बेग्लै किसिमको छ । खालि अलि बढ्ता उहाँको एक्सपेरिमेन्टै जस्तो लाग्छ, कवितामा । यसो लेखौँ न त के हुन्छ भनेजस्तै । त्यसकारण अब क्रिटिकहरू पनि त्यही पाराको छ नि ! केही क्रिटिकबाट उहाँको कटु आलोचना भयो । पछि गएर तारिफ भयो ।

हाम्रो कवितामा खास गरेर नयाँ कविताको, नयाँ पिँढीका कविताको त्यति राम्रो विश्लेषण, त्यति राम्रो क्रिटिकल एप्रोच आएजस्तो लाग्दैन । अलिकति जगदीशशमशेरले कोसिस गर्नुभएको हो । मेरो कविताको बारेमा पनि उहाँले भन्नुभएको छ । मैले जुन किसिमले लेखेको थिएँ, त्यो उहाँले राम्रोसित विश्लेषण गर्नुभयो । उहाँले लेख्नुभएको छ, उहाँसित मेरो त्यति बसउठ त थिएन । कवितालाई केस्राकेस्रा गरेर विश्लेषण गर्यो भने मात्र हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro