
टेलिभिजन । अर्थात्, टीभी । छोटकरीमा भनौँ । जमाना फास्टफुडको छ, लम्बाचौडा बेलीविस्तार सुन्ने फुर्सद छैन । मान्छे मरेर परिवारजन भावविह्वल भइरहेका बेलामा त छोटकरीमा ‘रिप’ लेखेर पुग्छ भने यो ‘इडियट बक्स’ भनेर चिनिने टेलिभिजनलाई चिटिक्क टीभीभन्दा कति छिटो, कति सजिलो ।
मेरो घरको एकथान टेलिभिजन बिक्रीमा छ । यो बडेमानको टीभी किन्ने रहर कान्छो छोराको र रोज्ने अनि किन्ने काम श्रीमतीजीको । मैले पैसा मात्रै लगानी गरेकाले यसको हक–अधिकार कसमा निहित छ भन्ने अझै निर्क्योल भइसकेको छैन । तथापि, यो संयुक्त निर्णयबाट बिक्रीमा छ ।
खरिद र बिक्रीका कुरा गर्नेबित्तिकै पहिलो प्रश्न मूल्यबाटै सुरु हुन्छ । यसको विक्रय मूल्य यसको गुण–दोषका आधारमा केही माथि र केही तल हुनेछ । अत्यन्तै शक्तिशाली पक्ष भनेको यसले लामो समयदेखि दिँदै आएको सेवाको अनुभव हो ।
अनुभव जुनसुकै क्षेत्रमा पनि अपरिहार्यजस्तै छ । अनुभवका लागि अलग्गै मूल्य तिर्नुपर्ने हुन्छ । हुन त अचेल युवाप्रतिको आकर्षण बढ्दो छ, तथापि अनुभव कसैको पनि क्षमतामा थप सुवर्णलेप हो ।
लौ सुन्नुस्, यो टीभीलाई दर्शकको आँखा बिग्रेला कि भन्ने चिन्ता छ । त्यसैले बीचबीचमा आफैँ झ्याप्पझ्याप्प बन्द भइदिन्छ, अनि फेरि खुल्छ । आवाज पनि आफैँ मधुरो हुँदै जान्छ । अनि फेरि चर्कोचर्को हुँदै आउँछ, ताकि दर्शकको श्रवणशक्तिमा कुनै बाधा नपरोस् ।
कार्यक्रमहरूको बीचबीचमा घ्यार्र, घुर्र, ट्वाँ, टिँ, ढ्वाँ जस्ता ‘साउन्ड इफेक्ट’ दिएर कार्यक्रमलाई अझै आकर्षक बनाउने यसको विचित्रको कला छ । दुलहीझैँ भित्र्याइएको पहिलो टीभी, जुन समय र क्षमताको मागअनुसार श्यामश्वेत थियो, त्यो पनि अनुभवले निखारिँदै जाँदा झन्डै यस्तै गुणले युक्त भइसकेको थियो ।
त्यसले कुनै बेला बोल्न छोड्दा वा झिमिकझिमिक गर्दा ढ्यापढ्याप पारेर पिठ्युँ थपथपाउनुपर्थ्यो, अनि बोल्थ्यो पनि, बल्थ्यो पनि । यसलाई त्यसो पनि गर्नु पर्दैन । बुझ्नोस्, त्यो गुण यसमा ‘इनबिल्ट’ छ । यस्ता मोहक प्रतिभा र अनुभवले यसको मूल्यलाई माथिमाथि पुर्याउन सक्छ ।
म यसका गुणहरूकै बेलीविस्तार लाउँदै छु । दोष त त्यस्तै हो, अलिअलि दोषबेगरको के हुन्छ र ? जून पनि दागरहित छैन । वैदेहीलाई पनि अग्निपरीक्षा दिनुपरेको थियो ।
यसको अझ महत्त्वपूर्ण गुण भनेको यसलाई विनाशकारी भुईंचालोको राम्रो अनुभव छ । अचानक धर्ती गडगडाउँदै हल्ँिलदा यो आत्तिएर, आफूलाई सम्हाल्न नसकेर मुखैका भरमा लडेछ । कोलाहल र भागदौडका बीचमा कसैले कसैलाई उचाल्नेवाला थिएन । सबैले आफ्नै ज्यानलाई पहिलो प्राथमिकतामा राख्ने न हो ।
नराम्ररी घाइते भयो बरा ! महँगै ओखतीमुलो गर्यौँ । अहिले त तंग्रिएर ज्युँका त्युँ । तर, चोटले निसानी छोडेझैँ यसको पनि पर्दामा एउटा मसिनो धर्सा भने देखापर्छ । हुन त त्यस्तो धर्साले दृष्टिलाई केही फरक पार्दैन । यत्रा दुई आँखाका माझमा लामै नाकको डाँडी छ । त्यो पनि धर्सै हो । आँखालाई गुनासो छ र ?
मूल्य उक्लिने कि ओर्लिने भनेर तय गर्ने अर्को तत्त्व हो, यसको नागरिकता, स्वदेशी कि विदेशी ? शिरदेखि पाउसम्म थोरैमा पाँचवटा मुलुकका उत्पादन धारण गर्ने हामी नेपाली — जुत्ता इटालीको, घडी जापानको, सुट बम्बईको, सर्ट खै कताको, जनै पल्लाघरको, सुर्ती उपल्लाघरेको, अत्तर र पर्फ्युम विदेशी, वाइन र भोड्का विदेशी, मोबाइल विदेशी, अनि नाथे टीभीचाहिँ स्वदेशी ? किमार्थ हुन सक्दैन । त्यसैले यसको मूल्य यसको जन्मथलोसँग गाँसिएर मात्रै यकिन हुने भयो ।
यति धेरै गुणहरूको बयान गरिसकेपछि तपाईं पक्कै पनि सोध्नुहोला, यति हितकारी, गुणकारी, परोपकारी, बलशाली, मनोरञ्जनदायी, समयनासिनी, बुद्घिबिनासिनी, दूरदर्शिनी यो टीभीलाई बेच्ने मनसुवा किन भयो ?
बालक, युवा, वृद्घ – रहर कसलाई लाग्दैन ? बालकका रहर आँगनमा बिस्कुन चोर्न आएका भँगेराझैँ चिरबिर–चिरबिर गर्छन् । वयस्कका रहर पानीको पिँधमा थिग्रिएको बालुवाझैँ शान्त देखिन्छन् ।
ढस्समस्स गर्दै, कनिकुथी, पाण्डित्य दर्साउँदै म पनि भनौँला– जेरेमी बेंथमको उपयोगितावादले रुझाएको मान्छे म पनि हुँ । सबैको शुभ होस्, सबैलाई अधिकतम सुख होस् । सुखवादी मान्छे म भन्नेहरूले भनेझैँ आनन्द नित्य श्रेय र दुःख नित्य हेय पनि हुँदैन ।
सुख र दुःखको सम्मिश्रण नै जीवन हो । सबै सुख लौकिक हुँदैनन्, सबै दुःख अलौकिक हुँदैनन् । तर, दुःखको भेलबाट तैरिएर केही बेरलाई लौकिक सुख प्राप्त गर्दा पनि परमानन्द हासिल हुन्छ ।
यो टीभीले कुनै बेला मेरा दुःखलाई विनष्ट गरेथ्यो र सुखैसुख प्रदान गरेथ्यो । अहिलेको पुस्तालाई के थाहा, घरको छानामा एन्टेना ठड्याउँदाको सुख । ‘आयो ? आयो ?’ भनेर छिमेकीले सुन्ने गरी चिच्याउँदाको सुख । वरपरका मानिसहरू काखमा बच्चा च्यापेर भुईंभरि पलेँटी मार्दै ‘रामायण’ र ‘महाभारत’ हेर्न बटुलिँदा आफ्नो वैभव मुस्कुराएको सुख । रंगीन अनुहार देख्दा श्यामश्वेत अनुहार मुर्झाएको पलको सुख । सुखैसुख, सुखैसुख । बहुजन हिताय बहुजन सुखाय । अहिले सिल्टीको भाउमा नबिक्ने भए ती सुख ! सबैसबै विनाशी आनन्द ।
आजभोलि शून्य सुख दिने यो टीभीको उपयोगिता अब मेरा लागि सकिएकै होइन र ? बरु, यसलाई खरिद गरेर सुख प्राप्त गर्ने ग्राहकको खोजीमा छु म ।
यसलाई बेच्दा ज्ञान बेचिन्न, मनोरञ्जन बेचिन्न, समय कटाउने बहाना बेचिन्न । यसलाई बेच्दा समाचारको स्रोत बेचिन्न । नृशंस समाचारहरूले ढाकिएको छ संसार, कति सुन्नु ? पाइला–पाइलामा छन् समाचार, कताकता हेर्नु ?
यसका अगाडि पलेँटी कसेर समाचार सुन्ने फुर्सद खै ? विज्ञापनपछि समाचार कि समाचारपछि विज्ञापन ? विज्ञापनको अक्सिजन !
अहिलेको समय, अहिलेको पुस्ता, अहिलेको विचार, अहिलेको हिँडाइ सबैथोक ‘स्मार्ट’ भइसक्यो । ऊ हेर्नुहोस्, खल्तीमा छ, हत्केलामा छ, तपाईंले खोजेको संसार ।
बच्चाहरू टीभी खुल्यो कि त्यतै झुम्मिन्थे, कार्टुन हेर्न । जंगली जनावरको रमाइलो हेर्न । अहिले बच्चाहरू स्मार्ट भएका छन् । कार्टुन र जंगली जनावरहरू पनि स्मार्ट भएका छन् ।
बुढापाकाहरू टीभीमा भजनकीर्तन हेर्थे, ताली बजाएर रमाउँथे । प्रवचनहरू सुन्थे । अहिले बुढापाकाहरू पनि स्मार्ट हुन सिक्दै छन् । भजनकीर्तन र प्रवचनहरू पनि स्मार्ट भएका छन् । रित्तो नाट्यशाला ।
एउटा टेलिभिजनमा मेरो अन्तर्वार्ता आउनु थियो । टेलिभिजनमा देखिनु, त्यो पनि अतिथि भएर, एउटा कुरो त हो नि ! सालीलाई फोन गरेर सूचना दिएँ । ‘भिनाजु लिंक पठाउनु है, फुर्सदमा हेरौँला’ भनिन् !
मित्रले लिंक मागे । छिमेकीले लिंक मागे । आफन्तले लिंक मागे । एक्लै बसेर आफैँले आफैँलाई हेरेँ । फेसबुकमा पोस्टाइदिएँ । आधा घण्टाको भिडियोमा आधा मिनेटमै सहस्र ‘लाइक’ आए । कुरा बुझेँ । सबैले भने होलान्– टीभीमा आएको रै’छस्, चाल पाएँ !
मैले एक दिन टेलिभिजनलाई अनुरोध गरेँ, ‘टीभी महोदय, मेरी जीवनसंगिनीको यौवन, उज्याला दन्तलहर, अम्बुदझैँ केश, मेरा जुँगाका रेखी, रसिलो मुहार, निधारको पसिना, सपनाको भारी, जिन्दगीको बक्ररेखा एकचोटि उल्टो घुमाएर देखाइदेऊ न ! हामीले हाम्रै जीवन हेर्न भ्याएनौँ ।’ ऊ आफ्नै लयमा रमाइरह्यो । मैले पिठ्युँ फर्काएँ ।
जो विगतलाई वर्काइफर्काइ हेर्न जान्दैन, त्यो भविष्यद्रष्टा बन्न पनि मुस्किल छ । सुरुङभित्रको यात्रा होइन जीवन । मास्टरले घोकाउने पुराना पाठहरू एक÷एकथान टेलिभिजन बन्दै छन् । नेताहरूका पुनरावृत्त भाषणहरू टेलिभिजन बन्दै छन् । सायद म पनि, हुनसक्छ त्यस्तै टेलिभिजन बन्दै छु । त्यसैले मेरा बाआमाले खास्टोमा बाँधेर दिनुभएको रीति, परम्परा, मूल्य–मान्यता, इतिहास, वीरता सबै समेटिएको बेदाग पोको मेरा सन्ततिहरूलाई दिनु छ, यी पनि कतै टेलिभिजन नभइजाऊन् ।
सबैका लागि उपयोगी होउन्जेल मात्रै त हो जिन्दगी । समयको वेगले हुत्तिएर किनारमा पुगेको मेरो टेलिभिजन अब बेचिनैपर्छ ।
सबैलाई थाहा होस्, मेरो एकथान टेलिभिजन बिक्रीमा छ । इति !