site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तत्कालीन देउवा सरकारलाई टेकनाथले भनेका थिए– नक्कली शरणार्थी गिरोहले हैरान बनाए

काठमाडौं । नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान सक्रिय भएको आरोपमा अहिलेसम्म पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्री, बहालवाला सचिवलगायतका गरी १६ जना पक्राउ परिसकेका छन् ।

प्रहरी उच्च अधिकारीले दिएको जानकारीअनुसार पक्राउ परेकाले दिएको बयान र आन्तरिक अनुसन्धानपछि मात्रै यो विषयमा आरोपी पक्राउ गरिएको छ ।

पछिल्लोपल्ट भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । उनको पक्राउपछि यो प्रकरण झनै जेलिएको आशंका धेरैले गरेका छन् । उनको संलग्नताको आरोपले ‘ठूलो गिरोह’ यसमा सक्रिय रहेको अनुमान प्रहरी अधिकारीहरुलाई छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार पक्राउ परेका रिजालले भुटानका विभिन्न गाउँको ठेगाना राखेर कागजपत्र मिलाउने काम गरेको आरोप छ । रिजालले यो प्रकरणका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका सचिवालयका वरिष्ठ अधिकारीलाई जानकारी गराएको खुल्न आएको छ ।

ती अधिकारीले बाह्रखरीलाई दिएको जानकारीअनुसार रिजालले आफूलाई एक दिन भेटेर ‘नक्कली शरणार्थी गिरोह’ले आफूलाई हैरानी बनाएको र आफ्ना सुरक्षा गार्डलाई पनि प्रयोग गरेको हुनाले तत्काल परिवर्तन गरिदिन अनुरोध गरेका थिए ।

तर रिजालले यो कुरा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेलाई भने जानकारी नगराउन अनुरोध गरेका थिए ।

“उहाँको अनुरोधपछि मैले गृहमन्त्री र सचिवलाई भन्छु भनेँ तर रिजालले उनीहरुलाई नभन्नू किनकि उनीहरुले नै मेरो गार्डलाई प्रयोग गरेका छन्, तपाइँले सक्नुहुन्छ भने प्रहरी महानिरीक्षकलाई भनेर मेरो सुरक्षा गार्ड परिवर्तन गराइदिनु,” रिजालसँग भएको कुराकानी स्मरण गर्दैै ती अधिकारीले भने ।

त्यसपछि रिजालको सुरक्षा गार्ड परिवर्तन गरिदिन तत्कालीन प्रहरी महानिरीक्षकलाई अनुरोध गरेको उनले बाह्रखरीलाई जानकारी गराए । प्रहरी हिरासतमा रहेका केशव दुलाल र सानु भण्डारीले दिएको बयानका आधारमा रिजाललाई पक्राउ गरिएको थियो ।

उनीहरुसँग रिजालको लेनदेन देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्