site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महासंघको पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु बस्नेत चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु बस्नेत (अजित) चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानबमोजिम उनलाई समितिको सभापतिमा चयन गरेका हुन् ।

नेपालको पर्यटन क्षेत्रमा एक दशकदेखि सक्रिय बस्नेत महासंघको कार्यकारिणी सदस्यमा दुईपटक निर्वाचित भइसकेका छन् । यसअघि महासंघको एनआरएन तथा द्धिराष्ट्रिय फोरमका सभापति हुँदा विभिन्न देशका द्विराष्ट्रिय संघ र गैर आवासीय नेपाली संघसंस्थालाई चलायमान बनाएर नेपालमा विदेशी लगानी भित्र्याउन भूमिका निर्वाह गरेका बस्नेतको नियुक्तिसँगै पर्यटन क्षेत्रमा समेत ठूलो योगदान दिने विश्वास लिइएको छ ।

Argakhachi Cement Island Ad

प्रमाणपत्र वितरण कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको अवस्थामा पर्यटन समितिको सभापतिमा बस्नेतको चयनसँगै नेपाललाई अन्तरराष्ट्रिय स्तरमा प्रबर्द्धन गरी विदेशी पर्यटक भित्र्याएर डलर आर्जन गर्न थप सहयोग पुग्ने बताए । साथै महासंघको छवि र प्रतिष्ठालाई अझ बढी सशक्त रूपमा अघि बढाउन सहयोग पुग्ने ढकालको विश्वास छ । 

नेपालमा स्टारस्तरका होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउन लागेका बस्नेतले पर्यटन प्रबर्द्धनका लागि होटलका विभिन्नि विश्वप्रशिद्ध ब्रान्ड भित्र्याएका छन् । बस्नेतले काठमाडौं र इटहरीमा एकैपटक सञ्चालनमा ल्याउने गरी दुईवटा पाँच तारे होटलको निर्माणकार्य अन्तिम चरणमा पुर्‍याएका छन् । 

यस्तै, उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारेस्तरकै सरोवर प्रिमियम ब्रान्डमा सरोबर होटल्स एन्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् ।

पेसाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत हुन । साथै उनी सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्