
काठमाडौं । पछिल्ला वर्षहरूमा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको विकल्पका रूपमा विद्युतीय सवारीसाधन (ईभी)मा लगानी बढ्दो छ ।
सरकारको प्राथमिकता, वातावरणमैत्री प्रविधिप्रति आकर्षण र कम सञ्चालन खर्चका कारण ईभी यातायात व्यवसायको नयाँ विकल्पका रूपमा स्थापित हुँदै गएको छ । यसले व्यवसायीहरूलाई राम्रो प्रतिफल मात्र होइन, ऋणमा आधारित लगानीको पनि सफल उदाहरण बनाइरहेको छ ।
ईभीमा लगानी गरेर ऋण तिर्न सहज भएको व्यवसायीहरू बताउँछन् भने बैंकहरू पनि समयमै किस्ता भुक्तानी हुने भएकाले सन्तुष्ट देखिन्छन् ।
एनएमबी बैंक, नुवाकोटको बट्टार शाखाका ब्रान्च म्यानेजर जीवन बोगटी भन्छन्, “हाम्रो शाखाबाट ऋण लिएर ईभीमा लगानी गर्ने धेरै व्यवसायीहरू छन् । उहाँहरूले समयमै किस्ता तिर्नुभएको छ । अहिलेसम्म कसैलाई किस्ता माग्न फोन गर्नुपरेको छैन । केहीले त समयअगावै ऋणसमेत चुक्ता गर्नुभएको छ ।”
ईभीमा एनएमबी बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको उल्लेखनीय लगानी रहेको छ । व्यवसायीहरूले व्यवसायिक कर्जा लिई ईभी खरिद गरी सार्वजनिक यातायात वा व्यक्तिगत सवारीको रूपमा प्रयोग गरिरहेका छन् ।
लगानीकर्ताको अनुभव
नुवाकोटका श्रीराम खतिवडाले बैंकको ऋणमार्फत ईभी खरिद गरेका छन् । उनी भन्छन्, “ईभी गाडीमा सुरुवातमा लगानीचाहिँ धेरै लाग्छ, तर सञ्चालन खर्च न्यून भएकाले किस्ता तिर्न कुनै समस्या हुँदैन । मासिक ७०–८० हजार रुपैयाँसम्म बचत भइरहेको छ । यस्तै कमाइ भइरहे पाँच वर्षमा गाडी आफ्नै हुन्छ र घर खर्च पनि राम्रोसँग चल्छ ।”
धादिङका जीवन श्रेष्ठले डेढ वर्षअघि इन्धनबाट चल्ने सवारीसाधन बेचेर ईभीमा लगानी गरेका थिए । “इन्धनको खर्च, मर्मतसम्भार महँगो हुँदा पहिले बचत गर्न गाह्रो हुन्थ्यो,” श्रेष्ठ भन्छन्, “ईभी चलाएपछि खर्च अत्यन्तै कम भयो । डेढ वर्षमै ३५ प्रतिशत ऋण र ब्याज घटाइसकेको छु ।”
उनीहरूका अनुसार, ईभी सञ्चालन खर्च कम, मर्मत सस्तो, इन्धन लागत नलाग्ने भएकाले कमाइ सिधै बचतमा रूपान्तरण भइरहेको छ । यसरी देखिएको सफलताले ईभी भविष्यको यातायात हुनेमा उनीहरू आशावादी छन् ।
नीतिगत अन्योलले भने दबाब
यद्यपि व्यवसायी र बैंक दुवै ईभी क्षेत्रमा सन्तुष्ट देखिए पनि नीतिगत अस्थिरता चुनौतीको रूपमा उभिएको छ । कहिले कर नीतिमा परिवर्तन, कहिले लोन टु भ्यालु रेसियोमा संशोधनजस्ता नीतिगत उतारचढावले लगानीकर्तालाई अन्योलमा पार्ने गरेको छ ।
निष्कर्षमा, ईभी अहिले नाफा दिने, किस्ता तिर्न सहज र भविष्यमा थप सम्भावना बोकेको व्यवसायका रूपमा स्थापित हुँदै छ । व्यवसायीहरूको सकारात्मक अनुभव र बैंकहरूको भरोसाले ईभीमा लगानी अझै बढ्ने संकेत देखिएको छ ।