site stats
बाह्रखरी :: Baahrakhari
कला
‘महापुरुष’ किन परेन नेफ्टा फिल्म अवार्डको मनोनयनमा ?

काठमाडौं । गत वर्ष व्यापारिक र समीक्षात्मक रूपमा सफल अधिकांश सिनेमा नेफ्टा फिल्म अवार्डको मनोनयमा परे । ‘छक्का पञ्जा–४’, ‘कबड्डी–४’, ‘प्रकाश’, ‘ऐना झ्यालको पुतली’, ‘राधा’, ‘चिसो मान्छे’ आदि नेफ्टा फिल्म अवार्डको मनोनयनमा परे । गत वर्ष नै रिलिज भएको चलचित्र ‘महापुरुष’ भने नेफ्टा अवार्डमा सहभागी भएन । 

किन ? 

अवार्डमा सहभागी हुन पनि शुल्क तिर्नु पर्ने भएपछि आफूले आफ्नो सिनेमा नदिएको ‘महापुरुष’का कार्यकारी निर्माता रवीन्द्रसिंह बानिया बताउँछन् । पैसा तिरेर अवार्डमा सहभागी हुनु पर्ने प्रावधान नै आफूलाई चित्त नबुझेको उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेफ्टाले अवार्डमा सहभागी हुने चलचित्रका निर्मातासँग पाँच हजार रुपैयाँ दर्ता शुल्क लिएको थियो । तर, आफूहरू उक्त शुल्क तिर्न तयार नभएको बानिया बताउँछन् । 

“फोन आएको थियो । अवार्डमा सहभागी हुन पाँच हजार रुपैयाँ तिर्नुपर्छ भनिएको थियो,” रवीन्द्रले भने, “मैले हाम्रो टिमले पैसा तिरेर अवार्डमा सहभागी नहुने निर्णय गरेको छ भनेँ ।” तीन पटकसम्म सहभागी हुन फोन कल आएको हो तर आफूहरू पैसा तिर्न तयार नभएको उनले स्पष्ट पारे । 

‘छक्कापञ्जा–४’ सर्वाधिक १५ , ‘कबड्डी–४’ र ‘ऐना झ्यालको पुतली’ समान ११ विधामा मनोनयनमा (सूचीसहित)

विदेशी भूमिमा रहेका नेपाली नागरिकलाई नै सिनेमा देखाएर नेपाली चलचित्रको श्रीवृद्धि हुन्छ भन्नेमा आफूलाई विश्वास नरहेको पनि उनको भनाइ छ । अमेरिकामा तीन सय शो लागेर नेपालीले हेरिसकेको सिनेमा पुनः पैसा तिरेर हेराउन आफूले आवश्यक नठानेको रवीन्द्र बताउँछन् । 

“मेरो सिनेमाले त राम्रै कमाइ गर्यो । म त पाँच हजार दिउँला पनि तर राम्रो सिनेमा बनाएर पनि हलबाट पैसा नउठेर डुबेका निर्माताले अवार्डमा सहभागी हुनै नपाउने ?,” उनको प्रश्न छ, “पाँच हजार रुपैयाँ तिर्न गाह्रो नभएर होइन, मैले प्रवृत्तिको विरोध गरेको हुँ ।” 

अवार्ड आम निर्माताको पहुँचमा हुनु पर्नेमा रवीन्द्रको जोड छ । “मेरा साथीहरू अवार्ड पाएर खुसी पनि हुन्थे होला । तर, त्यो कसरी प्राप्त भएको अवार्ड हो, त्यसले पनि अर्थ राख्छ,” उनी भन्छन् ।    

 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्