
काठमाडौं । वरिष्ठ चलचित्र लेखक निर्देशक, गीतकार तथा संस्कृतिकर्मी चेतन कार्कीको प्रथम स्मृति दिवसका अवसरमा स्मरण गरिएको छ ।
चेतन कार्की प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार/संगीतकार गणेश रसिकले कार्कीसँग २०२५ सालमा आफ्नो परिचय भएको बताए । आफूले सर्जक कार्कीलाई उनको उपन्यास ‘ढलेको गिलास’ बाट चिनेको उल्लेख गरे ।
उनले भने, “चेतन दाईमा प्रचुर क्षमता भए पनि उहाँलाई सधैँ पछाडि पारियो । तथापि, स्वाभिमानी चेतन दाइ हमेशा जगका रूपमा खडा हुनुभयो ।”
प्रतिष्ठानकी संरक्षक गंगा कार्कीले चेतन कार्की देशभक्त र भाषासेवी भएको उल्लेख गरिन् । उनले कार्कीले विविध क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिन् ।

कार्यक्रममा वक्ताहरूले चेतन कार्कीसँगका स्मृतिहरू साझा गरेका थिए । सोअवसरमा अभिनेत्री मिथिला शर्मा, रामकाजी कोने, प्रेमराजा महत, उन्नती शिला बोहरा, उषा शेरचन, मोहन निरौला, डा. सुरेन्द्र केसी, वसुन्धरा भुसाल, मुरारी सिग्देल तथा कार्कीकी नातिनीले बोलेका थिए । कार्यक्रममा साहित्यिक तथा चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।