म केही समयअघि न्यु योर्कको एउटा रेस्टुराँमा गएको थिएँ ।
भित्तामा टाँगिएका दुई तस्बिरले मेरो ध्यान ताने । पहिलो तस्बिर सन् १९०० मा खिचिएको र अर्को सन् १९१३ । तीे तस्बिरहरुलाई नजिकबाट नियाल्न थालेँ । वास्तवमा ती एउटै स्थान, एउटै जात्राका तर १३ वर्षको अन्तरालमा खिचिएका तस्बिर थिए । तर दुवैमा असामान्य अन्तर थियो ।
मेरो मनमा साथै अनगिन्ती प्रश्नहरु उठे । यो कसरी हुनसक्छ ? त्यो पनि सय वर्षअघि !
त्यो तस्बिर न्युयोर्कको म्यानहटन सहरमा बर्सेनि हुने सडक जात्राको थियो । पहिलो तस्बिरमा पूरा सडक घोडाबग्गीले ढाकिएका थिए बीचमा एउटामात्र मोटर गाडी । अर्को तस्बिरमा पूरा सडक मोटर गाडीले भरिएको थियो र बीचमा एउटा घोडाबग्गी ।
सन् १९०० मा बालेन र हर्क न्यु योर्क सरहको नगरपिता भएका भए उनीहरुले घोडाको बग्गीलाई आफ्नो मुख्य एजेन्डा बनाउने थिए कि मोटर गाडीलाई ? यस प्रश्नको उत्तर पाउन कठिन पर्ला । तर, सन् २०२३ का बालेन र हर्क त्यो सुविधामा छन् । आउँदो नयाँ विश्वको नयाँ सहरको परिकल्पना गरेर आफ्नो सहरलाई विश्वस्तरीय बनाउनुपर्नेछ ।
केही वर्षपछि घोडाको प्रयोग कम भयो । गल्लीगल्लीमा घोडाका मासु बेचिए । मोटर गाडी अमेरिकाको अर्थतन्त्रको मेरुदण्ड बन्यो । जसका त्यसबाट लाखौँ मानिसले रोजगारी पाए । त्यस व्यवसायले नयाँ अरु व्यवसाय जन्मायो ।
सन् १९८५ ताका सेलफोनका लगानीकर्ताहरुले आउँदा १५ वर्षमा कति मानिसले सेलफोन प्रयोग गर्लान् भनी केही विज्ञहरुसँग प्रतिवेदन मागे । उनीहरुले ९ लाख जति हुने प्रतिवेदन बुझाए । वास्तवमा १० करोड ९० लाख मानिसले सेलफोन प्रयोग गरे । टेक्नोलोजीको विकास, प्रयोगकर्तामा सेलफोनप्रतिको आकर्षण र मूल्यमा क्रमिकरुपमा कमीको कारण आज ल्यान्डलाइन प्रयोगकर्ताहरु दिनहुँ घटिरहेका छन् ।
सन् २००७ देखि स्मार्ट फोन आयो र त्यसको २ वर्षपछि उबर जन्मियो । त्यसले सातवर्षमा पूरा ट्याक्सी व्यवसायको भन्दा बढी सेवा ग्राहकहरुलाई दियो । राज्यले त्यसको कल्पनै गरेन । राज्यले कल्पना गरेभन्दा बढी राजस्व दियो र आजको दिनसम्म आउँदा सेवाग्राहीले ३ गुणा कम मूल्यमा पहिलेको भन्दा राम्रो र सुरक्षित सेवा पाएका छन् । आजभोलि न्यु योर्क, लन्डन, सानफ्रान्सिस्कोजस्ता सहरमा बस्ने मानिसले निजी गाडी किन्न छाडेका छन् ।
म बालेन र हर्कजस्ता नगरपिताहरुलाई सय वर्षअघि कति छोटो समयमा प्रविधिको विकास भएको थियो र अब आउँदा दिनमा वर्ष होइन केही महिनामा आउने परिवर्तनका लागि पूर्वअनुमानसहित योजना बनाउन आग्रह गर्छु ।
अब के हुन्छ ?
ग्यास, पेट्रोल, डिजेलबाट चल्ने गाडीमा दुई हजार बढी कलपुर्जा (मुभिङ पार्टस्) हुन्छन् । तिनको मर्मत सम्भारमा धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ । यता बिजुली कारमा १८ वटामात्रै यस्ता कलपुर्जा हुन्छन् । तिनको मर्मतका लागि कम खर्च लाग्छ ।
सन् २०१४ मा ८० हजार डलर पर्ने कारको मूल्य ३० हजारभन्दा तल झरेको छ । यसको मूल्य १० हजारभन्दा तल झर्नेछ । यसमा आर्टीफिसिएल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गर्नाले केही वर्षभित्रै पूर्णरुपमा स्वचालित बनाइनेछ । फलस्वरुप, निकट भविष्यमा कार किनेर निजी बनाउनेभन्दा पनि सेवाको रुपमा प्रयोग गरिनेछ ।
अहिलेकै अवस्थामा पनि टेस्लाको अटोपाइलट मानिसहरुले कुदाएको गाडीभन्दा १२ गुणा सुरक्षित मानिन्छ । आजकै दिनमा पनि वार्षिक १२ लाख मानिसहरु कार दुर्घटनामा मारिने गरेको तथ्यांक छ ।
अहिलेकै अटोपाइलट प्रविधि प्रयोग गर्ने हो भने ९ लाख मानिसको ज्यान वार्षिकरुपमा जोगाउन सकिँदोरहेछ ।
सन् २०३० सम्ममा मानिसहरुलाई प्रदान गरिएको सवारी चालक अनुमतिपत्र खोसिनेछ । कारण एडीएफ टेक्नोलोजी पनि सुरक्षित हुनेछ ।
त्यसबेलासम्म मानिसले चलाएको गाडी बरु बढी जोखिमपूर्ण मानिनेछ । गाडीको मूल्य घट्ँदै जानु, स्वचालित कार हुने भएकाले चालकको आवश्यकता नपर्नु, मर्मतमा अत्यन्त न्यून खर्च लाग्नु अनि बिजुलीबाट चल्ने भएकाले खर्च कम हुँदै जाँदा गाडी किन्ने चलन अन्त्य हुनेछ ।
गाडी ९६ प्रतिशत समय पार्किङमा राख्नुपर्ने, त्यहीँबाट हराउने पनि भएकाले सानफ्रान्सिस्कोजस्ता तीनवटा सहर बराबरको पार्किङ स्पेस लस एन्जलस सहरमा खाली हुनेछ । त्यसलाई कसरी प्रयोगमा ल्याउने भन्ने योजना बनाइरहेको छ र विगतका बिल्डिङहरुमा परिवर्तन गरिरहेको छ ।
हाम्रो काठमाडौंको पार्किङको अवस्था हेरौँ त ! हामीसँग जमिन पनि महँगो र मूल्य पनि अधिक भएकाले नेपालको सहर लस एन्जलसजस्तो होइन न्यु योर्क वा सिंगापुरजस्तो गगनचुम्बी टावर बनाएर व्यवस्थापन गर्न सकिन्छ ।