काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, फरार रहेका उनी आइतबार राति मात्र काठमाडौंबाटै पक्राउ परेका थिए ।
प्रहरीले रायमाझीलाई सोमबार नै सरकारी वकिल हुँदै अदालतमा पेस गर्यो । रायमाझी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित हुँदा खुला र हँसिलो अनुहारमा देखिएका थिए । उनमा विशेष 'कन्फिडेन्स' देखिन्थ्यो ।
रायमाझी भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणभन्दा फरक रूपमा देखिए । खाँण पक्राउ परेदेखि नै निलो रङको क्याप र मास्क लगाएर सार्वजनिक भएका थिए । उनले सरकारी वकिलको कार्यालय जाँदा होस् वा अदालत जाँदा, मास्क र टोपी खोलेका छैनन् ।
तर, रायमाझीले मास्क लगाएनन् । बरु मज्जाले मुस्कान दिएर अदालत परिसरमै हात हल्लाएर पोज दिन भ्याए । उसो त रायमाझीलाई उनका कानुन व्यवसायीहरूमध्येका एकजनाले नै उनलाई मास्क नलगाएर प्रस्तुत हुन सुझाएका थिए ।
"चोरी गरेको भए पो मुख लुकाउनु, निर्दोषले शिर ठडाएर हिँड्ने हो," उनका कानुन व्यवसायीले रायमाझीलाई भनेका थिए ।
रायमाझी सोमबार दिउँसो करिब ३ बजे जिल्ला अदालतको इजलासभित्र प्रवेश गरे । उनीभन्दा अगाडि १०–१२ जना थुनुवा थिए । उनीहरूको काम सकिएपछि मात्र रायमाझीको पालो आयो ।
आत्मविश्वासका साथ प्रवेश भएका रायमाझी पालो कुरिरहँदा भने आत्तिएका देखिन्थे । उनीभन्दा अगाडि लागुऔषध, चोरी तथा 'साइबर क्राइम'का थुनुवाहरू थिए । उनीहरूलाई इजलास–५ मा रहेका न्यायाधीशले एक–एक गर्दै प्रश्न गरिरहेका थिए ।
पालो कुर्दै बसेका रायमाझीले आफ्ना कानुन व्यवसायीसँग इजलासमा कसरी प्रस्तुत हुने भनेर सल्लाह गरे । उनले कानुन व्यवसायीसँग सोधेका थिए– इजलासमा रहेका न्यायाधीशलाई श्रीमान् नै भनेर सम्बोधन गर्ने हो ?
उनी धैर्य भएर आफूभन्दा अगाडिका थुनुवाहरूलाई न्यायाधीशले गरेका प्रश्न र थुनुवाहरूको जवाफ सुनिरहेका थिए ।
इजलासमा रहेका न्यायाधीशले हरेक थुनुवालाई उनको पेसाका बारेमा सोधिरहेका थिए । थुनुवाले आफ्नो पेसा भनेपछि उनले उक्त पेसाको मानिस कसरी यहाँ आइपुग्नु भयो त भन्दै सोध्ने गरेका थिए । न्यायाधीशले एक थुनुवाको एक हातमा हत्कडी देखेपछि प्रहरीलाई गालीसमेत गरे ।
"इजलासमा प्रवेश गरेपछि सबै व्यक्ति स्वतन्त्र छन्," न्यायाधीशले भनेका थिए । न्यायाधीशले आगामी दिनमा इजलासमा कसैलाई पनि हत्कडी नलगाएर ल्याउन आदेश दिएका थिए ।
रायमाझी पर्खिएको ४० मिनेट भइसकेको थियो । त्यसपछि न्यायाधीशबाट सुनियो– टोपबहादुर रायमाझी ।
न्यायाधीशले नाम लिएर बोलाएपछि इजलासकै बेन्चमा बसेका रायमाझी उठेर अगाडि गए । र, न्यायाधीशलाई सोधे– रोस्टम अगाडि उभिनु कि यत्तिकै उभिनु ?
त्यसपछि न्यायाधीशले उनलाई अरू थुनुवासरह उभिन लगाए ।
अरू सबै थुनुवालाई पेसाबारे सोधेका न्यायाधीशले रायमाझीलाई पेसाबारे प्रश्न गरेनन् । बरु सिधै सोधे– तपाईंलाई केही भन्नु छ ?
जवाफमा रायमाझीले आफूसँग भन्नु पर्ने केही नभएको बताए ।
न्यायाधीशले फेरि सोधे– कहिले पक्राउ पर्नुभएको हो ?
उनको जवाफ आयो– गत राति मात्र ।
इजलासमा सरकारी वकिल कार्यालयको तर्फबाट सरकारी वकिलहरू उपस्थित भएका थिए । न्यायाधीशले उनीहरूतिर फर्किएर सरकारी वकिलहरूको भन्नुपर्ने केही भएको वा नभएको सोधे । सरकारी वकिलले रायमाझीलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति माग गरिएको बताए ।
सरकारी वकिलको भनाइ सकिएसँगै रायमाझीले आफू प्रोस्टेटको बिरामी रहेको बताए । उनले सिधै हिरासतमा आफूलाई नराख्न भने भनेन् । बरु आफूले औषधि खाइरहेकोसम्म भने ।
न्यायाधीशले प्रहरीलाई औषधिको व्यवस्था मिलाउन र एक दिन पनि रायमाझीको नियमित औषधि छुट्न नदिन प्रबन्ध मिलाउन भने । जवाफमा प्रहरीले त्यो मिलिसकेको बताए ।
त्यसपछि रायमाझीले आफूले बाहिरको खाना खान नमिल्ने बताए । आफूले घरको सादा खाना खान पाउनुपर्ने बताए ।
जवाफमा न्यायाधीशले भने– त्यो त प्रहरीले नै मिलाउने कुरा हो ।
न्यायाधीशले औषधि र खानाको प्रबन्धबारे अदालतले केही बोल्नुनपर्ने बताए ।
न्यायाधीशले अरू भन्नुपर्ने केही नदेखेपछि भने– तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्नू ।