काठमाडौं । अभिनेता दयाहाङ राई व्यस्त कलाकारमध्येमा पर्छन् । उनका फ्यान प्रशस्त छन् । दयाहाङको सफलता र चर्चा चुलिँदै जाँदा उनकी जीवनसाथी गायिका बेनुका राई छायामा पर्दै गइन् । अहिले धेरै व्यक्तिले बेनुकालाई गायिकाका रूपमा चिन्दैनन्, दयाहाङकी श्रीमतीका रूपमा मात्र चिन्छन् । उनको गायकीबाट नयाँ पुस्ता बेखबर छ ।
बेनुका गीत–संगीतमा लागेको एक दशक नाघिसक्यो । सुगम संगीतबाट गायनको सुरुआत गरेकी उनको परिचय दयाहाङकी पत्नीमा सीमित हुन पुग्दा कलाकार मनलाई चित्त दुख्नु स्वाभाविकै हो ।
“मेरो आफ्नो मात्रै परिचय छैन । आजकाल त मलाई ‘दयाहाङकी पत्नी’ भनेर नामै राखिदिइसकेका छन्,” पतिको नामबाट चिनिँदा बेनुकालाई खुसी पनि लाग्दो रहेछ ।
केही समयअघि बेनुकाले गाएको पुरानो गीत ‘जोगियाको फेरीले’को म्युजिक भिडियो बनाई युट्युबमा राखियो । भिडियो हेरेपछि उनी गायिका पनि रहेछिन् भन्ने धेरैले थाहा पाए । कतिपयले त बेनुका दयाहाङ कलाकारका रूपमा आउनुअघि नै स्थापित गायिका भइसकेको कमेन्टहरू गरेका छन् । त्यसले उनलाई केही हदसम्म भए पनि खुसी दिलायो ।
हुन पनि उनले गायिकाका रूपमा परिचय बनाइरहँदा बल्ल काठमाडौं झरेका थिए, दयाहाङ । दयाहाङले बेनुकालाई गायिकाकै रूपमा चिनेका हुन् । सुगम संगीतका क्षेत्रमा उनी नाम कमाउँदै थिइन् । विवाहपछि सक्रिय रूपमा आफूलाई यस क्षेत्रमा अग्रसर गराउन सकिनन् । संगीतमा स्नातकोत्तरसम्मको पढाइ भने पूरा गरिन् ।
‘विवाहपछि गाउन छोडिन्’, ‘पलायन भइन्’ भनेको सुन्दा मनै चसक्क हुने उनी बताउँछिन् ।
“सबै कुरा आफ्नो अनुकूलतामा मात्र पनि नचल्ने रहेछ । मैले सांगीतिक यात्रालाई निरन्तरता दिन सकिनँ । तर, यसमा दुःख छैन । तर, संगीतमै मास्टर्स गरेँ । अहिले पनि संगीत नै पढाइरहेकी छु । सिकिरहेकी छु । मैले संगीत एकेडेमिक हिसाबले पढ्नुमा संगीत अध्ययनप्रतिको रुचि हो । एल्बम ल्याएपछि स्टेज पाइरहेकी थिएँ,” बेनुका भन्छिन्, “बीचमा पढाइलाई अलि डिस्टर्ब भयो । कार्यक्रममा जान कम गरेर ब्याचलर सकाएँ । पछि बच्चा भएपछि मास्टर्स सकाएँ । दया पनि रंगमञ्च र सिने क्षेत्रमा संघर्ष गरिरहेका थिए । मैले कम्प्रोमाइज गरेँ । त्यो मैले गर्नु पनि पर्थ्यो । कम्प्रोमाइजले मेरो क्षमतामा ह्रास आएको या म पछि परेजस्तो लाग्दैन । अझै समय छ । तर, म अहिलेको भाइरल हुने हिसाबमा गाउन सक्दिनँ ।”
खोटाङमा जन्मिएकी बेनुका ११ वर्षको हुँदा परिवारसँग बसाइँ सरेर तराई झरिन् । एसएलसीसम्मको शिक्षा मोरङबाट पूरा गरिन् । सानैदेखि सांस्कृतिक कार्यक्रम, नाचगानमा उनको रुचि थियो । बसाइँ सरेपछि भने आफ्नो प्रतिभालाई मनमनै गुम्साउन बाध्य भइन् । तर, स्कुलको ‘ब्रेक टाइम’मा साथीहरूलाई जम्मा पारेर रेडियोमा बजेका गीतहरू हुबहु गाएर सुनाउँथिन् । उनका गीतमा रमाउने साथीहरू ‘ठूलो भएपछि गायिका बन है’ भन्थे ।
एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं आइन् । त्यति बेला काठमाडौंमा उनका दाजुको घर बन्दै थियो । गाउँमा एसएलसी उत्तीर्ण गर्ने जो कोहीलाई पनि काठमाडौं ल्याउने बन्दोबस्त उनैले गरिदिन्थे । बेनुका त आफ्नै बहिनी, त्यसमाथि त्यति बेला एसएलसी पास गर्ने गाउँकी एक मात्र केटी ।
बेनुकालाई शिक्षिका बन्छु भन्ने लाग्थ्यो । शिक्षा विषय लिएर आईएड पढ्न थालिन् । पढ्दै जाँदा उनलाई त्यो विषय मन पर्ने छाड्यो । स्नातकमा ‘सोसियोलोजी’ लिएर पाटन क्याम्पस जान थालिन् । स्नातकमा अध्ययनरतकै बेला बेनुकाले संगीत मात्र पनि पढ्न पाइने सुइँको पाइन् । समाजशास्त्रलाई ‘ड्रप’ गरेर ललितकलामा संगीत पढ्ने सोच बनाइन् ।
प्रवेश परीक्षामा उनलाई कुन्ती मोक्तानका गीतहरू गाउन लगाइयो । सानैदेखि हरेक गीत याद गर्ने बेनुकालाई कुन्तीका सबै गीत कण्ठै थियो । त्यसपछि ललितकला कलेजमा उनलाई ‘जुनियर कुन्ती’ भनेर समेत बोलाउन थालियो ।
आईएड पढेकाहरूले बीए पढ्न फेरि आईएदेखि नै दोहो¥याएर पढ्नुपर्थ्यो । तर पनि मन परेको विषय पढ्न उनले जाँगर चलाइन् । आईएमा राम्रो अंक ल्याएर उत्तीर्ण भइन् । ब्याचलर पुगेपछि गीत रेकर्डिङ, स्टेज शोमा उनको व्यस्तता बढ्न थाल्यो ।
संगीतप्रति दिन प्रतिदिन झुकाव बढ्दै थियो । कलेजमा पढाइने संगीतले मात्र उनलाई पुगेन । जमलमा डोरेमी संगीत पाठशालामा गायन सिक्न पुगिन् । बिहान ९ बजेसम्म डोरेमीमा कक्षा लिएर जंकफुडका भरमा ललितकला जान्थिन् । त्यही समयमा राष्ट्रिय नाचघरमा निःशुल्क संगीत सिक्ने अवसर पाइन् । बेनुकाको व्यस्तता झनै बढ्यो । आत्मबल पनि बढ्दै गयो ।
गायक ईश्वर अमात्य, भानुभक्त ढकाल, चन्द्रराज ढकाल, सुदेश शर्माका उनी प्रिय शिष्य थिइन् । १७ वर्षकी बेनुकालाई सबै गुरुहरूले उत्तिकै रुचाउँथे । उनी सबैको प्रिय थिइन् । त्यो उमेरमै भजनहरू गाउँथिन् ।
कोरसबाट गायन सुरुआत
उनका गुरु भानुभक्त ढकालले बेनुकालाई पहिलोपटक कोरसमा गाउने मौका दिएका थिए । पहिलोपटक कोरस गाउन स्टुडियो पुग्दाको समयलाई उनी जीवनकै सबैभन्दा खुसीको क्षण ठान्छिन् । कलेजमा आफूभन्दा सिनियर निशा देसारसँग कोरस गाएकी थिइन् । त्यसपछि धेरै कोरसमा स्वर दिइन् ।
रेडियोमा आधुनिक गीत प्रतियोगितामा दोस्रो
०५९ सालमा कलेजबाट १८ विद्यार्थी रेडियो नेपालमा आधुनिक गीत प्रतियोगितामा भाग लिन पुगे । त्यसमध्येकी एक थिइन्, बेनुका । पुरस्कृत हुने आफूले कल्पनै नगरेको उनी बताउँछिन् ।
गायक फत्तेमान राजभण्डारी निर्णायकका रूपमा थिए । त्यति बेला स्थापित हुँदै गरेका गायकहरू सत्यराज आचार्य, स्वरूपराज आचार्य, अनिल सिंह गितार बोक्दै प्रतियोगितामा भाग लिन पुगेका थिए । त्यो देखेपछि बेनुकाको मनमा डरले घर गर्यो । आफ्नो गाउने पालो सकिएपछि उनी घरै फर्किइन् । घर पुग्दा त उत्सवजस्तै भयो, रेडियोमा बेनुका दोस्रो भएको समाचार आइसकेको रहेछ । शिव परियार पहिलो, सुरज थापा दोस्रो भएको प्रतियोगितामा उनी तेस्रो भएकी थिइन् ।
स्टेज प्रोग्रामका अफर आउन थाल्यो । हरेक दिनजसो एकेडेमी (नेपाल प्रज्ञा–प्रतिष्ठान), नाचघर र सभागृहमा गीत गाउन पुग्नुपर्ने भयो । ती स्टेजहरूमा पनि उही रेडियो नेपालमा तेस्रो भएको गीत गाउँथिन्–
आफ्नो गाउँघर
बिरानो लाग्छ
किन होला आज मलाई ?
यो गीत उनले सयौँपटक गाइन् । सांगीतिक व्यस्तताले पढाइमा असर ग¥यो । नियमित रूपमा ब्याचलर उत्तीर्ण गर्न सकिनन् ।
दयाहाङसँग भेट
एकपटक स्टेजमा गाउन जाँदा त्यतिखेर भर्खरै काठमाडौं आएका दयाहाङ राईसँग बेनुकाको भेट भएको थियो । परिचय र कुराकानीपछि फोन नम्बर आदानप्रदान गरे । रेडियोमा तेस्रो भएपछि उनको फोटो पत्रपत्रिकामा छापियो । त्यतिखेरै उनले दयाहाङलाई फोन गरेकी थिइन्, जति बेला दयाहाङ बेनुकाकै फोटो हेर्दै थिए । त्यसपछि उनीहरूको निकटता बढ्यो ।
दयाहाङ कलाकार बन्ने सपना बोकेर काठमाडौंमा संघर्ष गर्दै थिए । उनी बेनुकाका हरेक कार्यक्रम हेर्न पुग्थे । ब्याक स्टेजमा पुगेर ‘नर्भस नहुनु, लामो–लामो सास फेर’ भन्दै दयाहाङले हौसला दिएको बेनुकालाई अझै हिजोजस्तै लाग्छ । उनले गाएर सकाउनासाथ दयाहाङ दगुरेर ब्याक स्टेजमा पुगिहाल्थे । पहिलोपटककै भेटमा बेनुका दयाहाङको मनमा बसिसकेकी थिइन् ।
साहित्य, कला र संगीतको यो पारखी जोडीले कहिल्यै आफू यतिविधि लोकप्रिय भइएला, नामदाम कमाइएला भन्ने कल्पना गरेको थिएन । बिहान घरबाट निस्किएपछि उनीहरू दिनभरि सँगै हुन्थे । शंखमूलमा बस्ने दयाहाङ बेनुकालाई सातदोबाटोमा पुर्याएपछि मात्र घर फर्कन्थे ।
उनीहरूको संगत साहित्य र संगीतका अग्रज कलाकारहरूसँग भयो । उनीहरू यसैमा रमान थाले । साथीका रूपमा अघि बढिरहेका यी दुईमा एकार्काप्रति प्रेम भावना थियो ।
दयाहाङ रंगमञ्चमा करियर बनाउँदै थिए । बेनुका गायनमा व्यस्त । त्यति बेला दयाको उमेर २२ र बेनुका १९ वर्षकी थिइन् । उनीहरू पार्क र सिनेमा हलमा ‘डेटिङ’ गएनन् । उनीहरूको ‘डेटिङ स्पट’ भन्नु नै पुस्तक विमोचन, क्यासेट विमोचन, साहित्यिक कार्यक्रम तथा पुस्तकालयहरू हुन्थे ।
“पहिलो एल्बम ०६२ सालमा ल्याएँ, ‘पर्खाइ’ । प्रेम सम्बन्धमा रहेपछि हाम्रो डेटिङ स्पट थियो– सहरका लाइब्रेरी, किताब विमोचनका कार्यक्रम । कुनै पार्क या अन्त कतै गएनौँ । सायद फुर्सद र रुचि पनि थिएन, अन्त जान,” बेनुका भन्छिन्, “उनी किताब खुब पढ्ने, मलाई पनि साहित्यप्रति रुचि थियो । कहिलेकाहीँ फिल्म हेर्न पनि गयौँ । ०६५ सालमा विवाह गर्यौँ ।
दासढुंगा चलचित्रबाट उदाएका दयाहाङ बिहेपछि यो क्षेत्रमा चर्चित भए । घरतिर बेनुकालाई ‘लक्की बुहारी’ भन्थे । दयाहाङको मिहिनेत, इमानदारितालाई हेरेर आफूले बिहे गरेको उनी सुनाउँछिन् ।
दयाहाङसँग घरबाट बिहे गराउन खोजेका थिएनन् । भर्खर गाउँबाट सहर पसेको, न काठमाडौंमा घर न नियमित कुनै आयस्रोत । काका–काकीसँग बसेका थिए, दयाहाङ । तर, बेनुकालाई दयाहाङप्रति विश्वास थियो । उनी भन्छिन्, “सोझो मान्छे, साँचो मायाले गर्दा नै हो, मैले सबैलाई कन्भिन्स गराएर बिहे गरेको ।”
विवाहपछि दयाको करियर रफ्तारमा दगुर्यो । बेनुकाको गायन सुस्त भयो । यसप्रति दयालाई नरमाइलो लाग्छ । आफूभन्दा पहिले नै स्थापित गायिका विवाहपछि अल्मलिएकामा उनी खिन्न पनि छन् । बेनुका भने घर–परिवार र छोराछोरीको रेखदेख तथा श्रीमान्को प्रगतिमा दंग पर्दै जीवन बिताइरहेकी छन् ।
“आफ्नो पतिले गरेको राम्रो काम र प्रशंसा सुन्न पाउँदा को पत्नी खुसी हुँदैनन् होला र ? म पनि खुसी छु,” उनी भन्छिन् ।
उनको गायनयात्रा ठप्पै भएको भने होइन ।
पहिलो छोरो जन्मिएका बेला बेनुका करिब चार/पाँच वर्ष गीत–संगीतबाट टाढा रहिन् । अहिले फेरि गायनलाई निरन्तरता दिइरहेकी छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकलाबाट एमम्युजको अध्ययन पूरा गरिन् । अहिले केही गीतहरूमा काम गरिरहेकी छन्, उनी ।
बेनुकालाई महोत्सव र स्टेज कार्यक्रमहरूमा भने खासै रुचि छैन । उनी भन्छिन्, “म महोत्सवको क्राउड र त्यहाँको हल्लामा गाउन सक्दिनँ । खासमा त्यस्तो गीतहरू पनि मसँग छैन ।”
आधुनिक गीत, लोकगीत, काँठे दोहोरीदेखि क्लासिकल गीतहरूसम्म गाइन् । तर, उनलाई क्लासिकल बेसका आधुनिक गीतहरू गाउन र सुन्न मन पर्छ । उनका ६ दर्जनजति गीत रेकर्ड भएका छन् ।
आफू समय र प्रविधिअनुसार चल्न नसकेको उनी स्वीकार गर्छिन् । गीतको सीडीको समय सकिएको र सुन्नेभन्दा हेर्ने गीतहरू बनाउन थालिएको उनी बताउँछिन् । उनलाई भने पहिल्यैदेखि आफ्नो स्वर सबैले चिनून्, तर आफूलाई नचिनून् भन्ने लाग्थ्यो । स्टेजमा पनि पर्दाभित्रैबाट गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । बेनुका परफर्मर होइन, मात्र गायिका हुन् ।