सूर्यास्तसँगै मौसममा तीव्र अदलाबदली भयो । साँझमा पानी, असिना र हिमपात पर्यो । उष्ण मौसम एकाएक अतिशय चिसो भयो । जिउ–पाउ कठ्यांग्रियो । हातगोडा औँलाका टुप्पाहरू झम्झमाउन थाले ।
सबैको अनुहार थकित देखियो । होटेलको लबीमा रहेको अगेनुवरिपरि सबैसबै पदयात्रु एकत्रित थिए । फलामे ठूलो बाकसजस्तो देखिने अगेनुको धुवाँ सोझै बाहिर निकास हुने प्रविधिको जडान गरिएको रहेछ । त्यसप्रकारको अगेनुको केही अर्कै नाम थियो कि, त्योचाहिँ सोध्न बिर्सिएँ । माथिबाट पानी बसाउन मिल्ने सानो भट्टलजस्तो अगेनुमा दाउरा घचेटेपछि पूरै कोठा हपक्क हुन्थ्यो ।
अगेनुको वरिपरि स्कुले डेस्क–बेन्चजस्तै खाले बस्न मिल्ने बनाइएको थियो । तर, यताउता सार्न मिल्दैनथ्यो । यात्रुहरू सबै तातोपानी पिउँदै आगोको तातोमा ज्यान सेकाउँदै थिए ।
लगत्तै रैथाने तीनजना यात्रीहरू मिलेर माहोललाई एकाएक संगीतमय बनाइदिए । त्यसपछि थकित ज्यानहरू शनैःशनै गीतमा झुम्न थाले ।
पदयात्रामा रहेका तीनजना जर्मन नागरिकहरू पनि हामीसँगै सांगीतिक माहोलमा मिसिए । तीमध्ये दुईजना लगभग ७५ कटेका पाकाबूढाहरू र एकजनाचाहिँ लगभग ६० वर्षका तर अति भद्दा र मोटा थिए । ती भद्दा–मोटा मान्छेलाई पदयात्रामा फ्याँफ्याँ गर्दै पाइला सार्दै गरेको अवस्थामा दिउँसै उछिनेका थियौँ । तर, झम्केसाँझमा त हामी बसेको होटेलमै आइपुगे ।
तीनजनामध्ये पाको उमेरका एकचाहिँ पूरै नेपाली बोल्न जान्ने पो रहेछन् ।
हामीले क्रमशः उनीहरूको नेपाली नाम जुरायौँ, नेपाली बोल्नेलाई ठूलोबाजे, मोटो ज्यान भएकोलाई मोटेबाजे र अर्को एकजनालाई माइलाबाजे । नेपाली बोल्नेले चाहिँ आफू भर्खर ५६ वर्ष पुगेको दाबी गर्दै ‘बाजे नाम मिलेन’ भनेर जिद्दी गर्दै थिए । तैपनि, हामीसँग नेपाली भाषामै हँस्सीमजाकमा उत्रिए ।
गीत–संगीतमा रम्न थालेपछि एउटा गीत सकिँदा नसकिँदै हामी थपडीसँगै ‘वान्स मोर, वान्स मोर’ भन्दै थियाैँ । जर्मनी मोटेबाजे उफ्रिँदै भन्नथाले, ‘फेरि गाउनुहोस्, फेरि गाउनुहोस् ।’
अचानक अर्का नेपाली यात्रु उफ्रेर कराए, ‘चुगाबे, चुगाबे !’ ती बाजेहरूबाटै थाहा भयो, ‘वान्स मोर, वान्स मोर’ भन्नुपर्दा जर्मन भाषामा ‘चुगाबे, चुगाबे’ बोलिनेरहेछ ।
त्यसपछिको माहोल यस्तो बन्यो, नेपालीहरू ‘चुगाबे, चुगाबे’ भन्दै कराउने, जर्मनी बाजेहरू ‘फेरि गाउनुहोस्, फेरि गाउनुहोस्’ भन्ने ।
यो थियो मध्य वैशाखको समय, लौरीबिनाको ‘होटेल मर्निङ भ्यु’मा बितेको एउटा रमाइलो साँझ ।
०००
फागुन महिनाको अन्तिम हप्तातिर प्युठानको स्वर्गद्वारीसम्म निस्किएका थियौँ । त्यो भ्रमण धेरै अविस्मरणीय रह्यो । एउटै अफिसमा कार्यरत कान्ता दिदीले लगत्तै कुरा निकालिन्, ‘अब गोसाइँकुण्ड जाऔँ न ।’
अफिसमा धेरै दिनजसो गन्थनमन्थन चल्यो र जाने दिन टुंगो गरियो । स्वर्गद्वारी र गोसाइँकुण्ड जाने समूहका यात्रीहरू केही अदलबदल भए, केही दोहोरिए । १२ जना सामेल भएको समूह बन्यो र नेता रवि लामिछानेको शब्द सापट लिँदै नामै जुर्यो– १२ भाइ ।
तर, समूहमा भाइहरू मात्र थिएनन्, महिलाको संख्या देशको संविधान बदल्न पुग्ने गणपूरक अनुपात अर्थात् ठ्याक्कै दुईतिहाइ थियो । मध्य वैशाख । १२ भाइको पदयात्रा तीन बजे धुन्चेदेखि सुरु भयो । केहीले लट्ठीको जोहो पहिल्यै गरेका थिए, केहीको त्यहीँ पुगेपछि भयो ।
आउने–जाने र स्थानीयहरूसँग संवाद गर्दै पाइलो चाल्न सुरु गरियो । खाजा खाने कि अहिले नखाने भन्ने सल्लाह हुँदै थियो । बाटोमा भेटिइन् घट्टेखोलाकी होटेल व्यवसायी डोल्मा, अनि उनकै होटेलमा पुगेर खाजा खान प्रस्ताव गरिन् । उनी हामीसँगै बाटो काट्दै थिइन्, छोरीलाई आलु उसिन्न मोबाइलबाटै अह्राइहालिन् ।
उनको होटेलमा लामै अलमल भयो । हामी माथि देउरालीमा बासको प्रबन्धबारे होटेल साहुनीलाई प्रश्न तेर्स्याउँदै थियौँ । छिरिङ नाम गरेका व्यक्तिलाई संकेत गर्दै साहुनीले भनिन्, ‘मामाको होटेल छ त, यहीँ कुरा गर्नुस् न ।’
मामा साइनोका ती व्यक्ति पनि त्यहीँ सुस्ताउँदै चुरोट तानिरहेका थिए ।
देउरालीमा ‘देउराली होटेल एन्ड लज’ चलाउने डोल्माकी मामालाई हामीले समेत मामा बनायौँ । १२÷१२ जना देखेपछि आफ्नै होटेलमा लैजान मामा लोभिए ।
एउटा होटेलमा पुगेपछि त्यहीँबाट खानबस्न गन्तव्यको अर्को होटेल प्रबन्ध गर्न लगाउने हाम्रो आइडियाले यात्राभर फलिफाप नै गरायो । त्यो पनि अफ–सिजनमा सिंगै १२ जना पाहुना लागेपछि हामीले न्यानो सत्कार नपाउने कुरै भएन ।
झमक्क साँझमा बडो कष्ट भोग्दै देउराली पुग्यौँ । मामा पहिल्यै पुगेर हाम्रो बाटो कुरेर बसेका रहेछन् । साँझमा अगेनुवरिपरि बसेर गफ चुट्यौँ । देउरालीमा बास र गाँस राम्रै मिल्यो ।
बिहानको ब्रेकफास्टपछि उकालो हिँडाइ सुरु भयो । ढिम्सा पुगेर सूर्योदयमा लामै समय फोटो र टिकटकको सेसन चल्यो । यसरी हिँड्दै चन्दनबारी पुगेपछि कफी पिउन बसियो ।
देउरालीबाट एउटा कालो कुकुरले चन्दनबारीसम्म साथ दियो । कफी खाएको होटेलमा पनि हामीसँगै थकाइ मार्यो र बिस्कुट खायो । जंगलैजंगल अकेलो उकालो चढ्न त्यसले पनि सायद भय मान्दो रहेछ र मान्छेको सहारा खोज्दो रहेछ ।
चन्दनबारीको हाम्रो लामो अलमल त्यसलाई निको लागेनछ । किनकि, पदयात्रीहरूको अर्को समूह भेटेपछि हामीलाई मतलबै गरेन, छोडिदियो ।
त्यही रातको कुरा थियो, लौरीबिनाको ‘होटेल मर्निङ भ्यु’को रमाइलो । अर्थात्, फेरि गाउनुहोस्, फेरि गाउनुहोस् र चुगाबे, चुगाबेको जुहारी ।
अर्को बिहानीमा लौरीबिनाको उकालो काट्न खासै असहज भएन । शनैःशनै बुद्ध मन्दिर पुगेपछि उषाकालमा खुलेको मौसममा फेरि साटफेर हुने छनक देखियो । अघिल्लो दिनको असिना र हिउँले बाटो छपक्क थियो ।
गन्तव्य अझै कता हो कताजस्तो लाग्दै थियो । हिँड्नुपर्ने बाटो सोधखोज गर्दा फर्कने यात्रुबाट पाएको उत्तरसँगै मुटुले ढ्यांग्रो ठोक्थ्यो ।
छपक्कै हिउँले ढाकेको बाटो पछ्याउँदै त्यहाँबाट अगाडि तर्पाएँतर्पाएँ हिँड्यौँ । पछिल्लो समय पहराको बाटोमा नेपाली सेनाले रेलिङ हालिदिएको रहेछ, तसर्थ कहालीलाग्दा कथनीहरूको याद खासै भएन ।
प्रकृतिको गर्भमा रहेको बिछट्टै सुन्दर तपोभूमि गोसाइँकुण्ड पुगियो । भगवान् भोलेनाथ शयन भएको अनुपम तालको दृश्यले अन्तस्करण चंगा भयो । कुण्डको सामीप्यमा पुगेपछि थाहा भयो– आच्छु, पानी कति चिसो ! कुरा नगरौँ !
१२ भाइ अधिकांशले नुहाउने योजना मारेका थिए । तर, त्यहाँ पुगेपछि के तत्त्वले पे्ररित गर्यो थाहा भएन, सबैले अन्ततोगत्व नुहाएरै छोडे । तीनपटक पानीमा डुबुल्की लाउने धोको तीन सेकेण्डमै सकियो ।
स्वर्गको टुक्रा गोसाइँकुण्ड साँच्चिकै मनमोहक थियो । वरिपरिका चुचुराहरू हिउँले सेताम्य र मनमोहक थिए । त्यो भूतल स्वर्गसमान लाग्यो । गोसाइँकुण्डलाई नै शिवको स्वरूप र महादेव मान्ने अनौठो नियममा परोक्ष साक्षात्कार भएँ ।
निलो तालमा घाम परेपछि छ्याङ्ङ शयनरत् शिवको आकृति देखिने कथनलाई भने हाम्रोसामुन्ने मौसमले छेको हालिदियो ।
स्नानपछि त्रिशूलीको उद्गम त्रिशूलधारातर्फ लाग्यौँ । धाराबाटै बोतलमा जल भरेर फर्कने हाम्रो मनोकांक्षा अधुरो भयो । धाराबाट खस्दै गरेको पानी नै स्थिर भई जमेर लट्ठीझैँ बनेको अनौठो दृश्य पो देख्यौँ । त्यसपछि उँधोतिरबाट बग्दै गरेको जल बोतलमा उठायौँ र फर्कियौँ ।
लौरीबिनाबाट जाँदा र फर्कंदाको मौसममा आकाश पातालको फरक देखियो । वैशाखको घाम पनि पुसको जस्तै पारिलो मान्दै थियौँ । तर, एकाएक असिना र हिमपात पर्न थालेपछि भएभरका लुगाहरू जिउमा थोपर्यौँ ।
लौरीबिना फर्केपछि यात्राको बिट मार्ने दाउमा लाग्यौँ ।
खुरुङरुङ ओरालो झर्दा सबैको खुट्टा कुँजिए । त्यो साँझको गन्तव्य पनि देउराली मामाको होटेल थियो । तर, यात्रामा पछाडि परेकी रञ्जु दिदीलाई ठाडो बाटो ओर्लन मुस्किल भयो । डोर्याउँदै झार्नुपर्ने बाध्यता आइलाग्यो । अरूले छोडेर हिँडे पनि तीनजनाले साथ छाडेनौँ ।
रात बाक्लो भएपछि भने देउराली पुगेर बस्नेहरूको धड्कन बढ्यो र तारन्तार फोन आउन थाल्यो । फोनमा ‘बेकार छाडेर आयौँ’ भन्ने लघुताभास थियो र अग्रपंक्तिमा उनै कान्ता दिदी चिच्याउँदै थिइन् ।
०००
देउराली मामाको होटेलमा आएपछि घरबाट बुबाको फोन आयो । लखतरान भएको ज्यानले जसोतसो बुबाको जिज्ञासा मेटाउँदै थिएँ । अनायास बुबाले भन्दै जानुभयो, ‘सुन्दरीजल हुँदै म पनि गएको थिएँ । सात दिन हिँडेको र फर्कंदा धुन्चे हुँदै बूढानीलकण्ठ निस्केको, हिँडेरै...!’
सम्भवतः बुबाले हिँड्नुभएको रुट सुन्दरीजलबाट सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड र फर्कंदा लौरीबिनाबाट देउराली–धुन्चे–वेत्रावती–छहरे हुँदै काठमाडौंसम्मको थियो होला ।
मैले फेरि रुजु गर्दै बोलेँ, ‘हिँडेरै...! सबै बाटो ?’
उहाँको छोटो उत्तर आयो, ‘त्यो बेलामा सुन्दरीजलबाट गोसाइँकुण्ड हुँदै धुन्चे निस्केर बूढानीलकण्ठ आइपुग्या’हो, हिँडेरै ।’
थकित मेरो जिउज्यानले सोच्नै सकेन । मैले हिँडेको तीन–चारगुणा धेरै बाटो बुबाले जवानीमा खेपिसक्नुभएको रहेछ ।
उँभो लाग्दाबराबरको उत्साह उँधो झर्दाको बखत कसैसँग बाँकी थिएन । मनोज दाजुको कायामा कुन पोषणले काम गरेको थियो, खुट्ट्याउन सकिएन । पुगनपुग दश किलोको झोलाझिटी भिरेरै एउटा छाँगोमा धक फुकाएरै नाच्नुभएको रहेछ । टिकटकले पो भिडियोको नोटिफिकेसन पठायो, मैले भने खिचेकोसम्म पत्तो पाएको थिइनँ ।
यात्राको आकांक्षा भगवान्को आस्थाले मात्र प्रेरित थिएन । भीर–पहरा, जंगल र जँघारहरूको दृश्य सबैको हृदयमा वर्णनातीत रह्यो । उकाली र ओरालीको पृथक् मौसमी अनुभवले लेकाली जीवनलाई झन् नजिकबाट नियाल्ने मौका मिल्यो ।
तामाङ समुदाय एवं संस्कृति, लेकाली जनजीवन र भूगोलको बिछट्टै माया यात्रामा जोडियो । लाङटाङ र गणेश हिमालसँगको साइनो झन् प्रगाढ बन्यो । थरीथरीका गुराँसका फूलहरूले इन्द्रियलाई शुद्ध बनायो ।
घुम्नका लागि विदेश हानिनेहरूलाई सन्देश दिनु थियो– पहिले देश घुमौँ र आफ्नै भूगोलको सुगन्ध सुँघौँ ।
धुन्चे आइपुग्दै गर्दा मनोज दाजु भन्दै हुनुहुन्थ्यो, ‘जीवनमा एकपटक आउनैपर्ने ठाउँ हो ।’
मैले बोलेँ, ‘होइन, बारबार पुग्नुपर्ने ठाउँ हो ।’
एक रात भए पनि जर्मनी बाजेहरूको संगत गरियो । त्यसपछि त अंग्रेजीमा ‘गोसाइँकुण्ड – वान्स मोर’ भन्न मनै लागेन । बाजेहरूलाई सम्झँदै गुनगुनाइयो, ‘गोसाइँकुण्ड – चुगाबे चुगाबे !’