नेपालगन्ज । दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जंगलमा बुधबार डढेलोमा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । गम्भीर घाइते आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको हो ।
भेरी अस्पतालमा उपचाररत विकको गए राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए ।
उनका अनुसार भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चारमध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ । अरू दुईजनाको अवस्था सामान्य छ ।
भेरी अस्पतालमा आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ । अरू चार घाइतेको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी रहेको डा. चापागाईंले बताए ।
माल्या जंगलमा बुधबार लागेको डढेलोमा परी घाइते भएका आठजनालाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज ल्याइएको हो । रासस