site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुद्ध एयरका दाजुभाइबीचको सम्पत्ति विवाद चरमोत्कर्षमा, भाइले मागे ४० प्रतिशतको हक
दाजु वीरेन्द्र र भाइ शिवेन्द्र (बायाँबाट दायाँ क्रमश:)

काठमाडौं । बुद्ध एयरका सञ्चालकद्वय वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्तिको विषयमा विवाद चर्किएको छ । बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएसँगै उनका छोराहरू (वीरेन्द्र र शिवेन्द्र)बीच सम्पत्तिलाई लिएर विवाद चर्किएको हो । 

बुधबार पत्रकार सम्मेलन नै गरेर शिवेन्द्रले ४० प्रतिशत सेयरधनीको हक खोसिएको बताए । उनले कुनै पनि हालतमा आफूले हक पाएरै छाड्ने बताएका छन् । 

शिवेन्द्र बुद्ध एयरका संस्थापक सुरेन्द्रका कान्छा छोरा हुन् । वीरेन्द्र जेठा छोरा हुन् । सुरुमा बुबा सुरेन्द्रको नाममा बुद्ध एयरको सेयर स्वामित्व ८० प्रतिशत थियो । उनका जेठा छोरा वीरेन्द्रको नाममा २० प्रतिशत सेयर थियो ।

सुरेन्द्रको निधनपछि उनको नाममा रहेको बुद्ध एयरको ८० प्रतिशत सेयरमध्ये ४०–४० प्रतिशत दुई भाइको भागमा परेको थियो । जेठा छोरा वीरेन्द्रसँग पहिले नै २० प्रतिशत सेयर थियो । बाँडफाँटपछि वीरेन्द्रको स्वामित्व ६० प्रतिशत पुग्यो । बाँकी रहेको ४० प्रतिशत सेयर स्वामित्व शिवेन्द्रको परिवारको सदस्यको नाममा छ । 

कान्छा छोरा शिवेन्द्रले आफ्नो ४० प्रतिशत सेयर स्वामित्व रहेपनि आफूलाई कम्पनीले गरिरहेको काम कारबाहीबारे कुनै जानकारी नदिएको गुनासो गरेका छन् । कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएको उनको दाबी छ ।

आफूलाई हिसाब नदिइएकाले कम्पनीमा आर्थिक अनियमितता भएको हुन सक्ने आशंका गरेका छन् । शिवेन्द्रले आफूले कम्पनीको हिसाब–किताब माग्न थालेपछि विभिन्न बहानामा ४० प्रतिशतको हिस्सेदारमाथि नै विभिन्न आरोप लगाउन थालिएको आरोप लगाएका छन् ।

अहिले आफूलाई कम्पनीको कार्यालयमा जानसमेत रोक लगाइएको उनको भनाइ छ । कानुनअनुसार हिसाब माग्दा नदिनुले दाइ वीरेन्द्रले ठूलै आर्थिक घोटला गरेको हुनसक्ने आशंका शिवेन्द्रको छ ।

उनले नौवटा एअरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै छलफल नगरेको बताएका छन् ।  यसमा ठूलै आर्थिक घोटाला भएको उनको आरोप छ ।

शिवेन्द्र लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनले आफू अमेरिकामा बस्न थालेपछि बुद्ध एयरमा संलग्न नरहेको समेत बताए ।

“ कामको सिलसिलामा अमेरिकामा बसोबास तथा व्यवसाय सञ्चालन गर्न थालेपछि बुद्ध एअरमा मेरो प्रत्यक्ष संलग्नता रहेन,” उनले भने ।

यो बिचमा ६० प्रतिशत हिस्सेदार (वीरेन्द्र)को नाममा काठमाडौंमा चारवटा घर, पोखरामा एउटा घर र भर्खरै खुलेको आरजु राइस मिलमा केही प्रतिशत बैंक लोनसहित ५० करोड लगानी भएको दाबी उनको छ ।

दाइ वीरेन्द्रको आर्थिक स्थिति हेर्दा कम्पनीले दिएको नाफा, बोनसलगायतबाट हुने आम्दानीको स्रोतसँग सम्पत्ति नमिलेको उनको भनाइ छ । 

“यसबाट पनि आर्थिक रूपमा तलमाथि भएको आशंका हामीलाई लागेको छ । यसरी आर्थिक हिसाब–किताबमा तलमाथि पर्न गएको हुन सक्ने र यो कामका लागि कम्पनीको फाइनान्स कन्टोलरको पनि सहयोग वा संलग्नता रहेको हुन सक्ने हाम्रो आशंका छ,” उनले भने ।

“२०७४ सालदेखि नै एजीएम भएको पनि थाहा छैन । हामीलाई डाकिएको छैन । २०७५ देखि मेरा परिवारलाई आउन थालेको हो,” शिवेन्द्रले भने, “त्यसबेलादेखि बोनस पनि आएको हो । तर, कति सेयरमा भन्ने हामीलाई  थाहा छैन ।”

उनले आफूले बुद्ध एयरको ब्रान्ड बिगार्न पत्रकार सम्मेलन नगरेको पनि बताए । अधिकारका लागि बोल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

“आफ्नो अधिकार खोजेको हो । उहाँहरूको सम्पत्ति जताततै देखिएको छ, व्यक्तिको नाममा । काठमाडौंमै ६ वटा घर छ । यो सम्पत्तिको कमाइको स्रोत के हो त ?,” उनले भने ।

बुद्ध एयर २५ वर्षेदेखि नेपाली आकाशमा उडान भर्ने निजी विमानसेवा कम्पनी हो । बुद्ध एयरले ११ अक्टोबर १९९७ मा एउटै विमानबाट सुरु भएको थियो । अहिले उक्त एयरले राष्ट्रिय र अन्तरराष्ट्रिय दुवै क्षेत्रमा उडान गर्दै आएको छ । बुद्ध एयरले नेपालका १४ स्थान र भारत र भुटानमा (चार्टर) पनि उडान गर्दै आएको छ । अहिले उसले १७ वटा अत्याधुनिक विमानबाट सेवा दिइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro