काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घट्दै गएको छ । नेप्से घट्दै गएपछि अधिकांश कम्पनीको सेयरमूल्य घटेको छ । कतिपय कम्पनीको सेयरमूल्य त आईपीओकै अंकित मूल्यमा झरेको छ ।
तर, यसरी कम्पनीको सेयरमूल्य घट्दै गएको भए पनि चार जीवन बिमा कम्पनीहरूले भने प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यसरी प्रिमियममा मूल्य थप गरी आईपीओ निष्कासन गर्न आवेदन दिनेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।
यी कम्पनीहरूले आईपीओको अंकित मूल्यमा रकम थप गरी आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । बोर्डले स्वीकृति दिएपछि यी कम्पनीको आईपीओ निष्कासन हुनेछ ।
त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि मर्जर अगाडि सार्वजनिक निष्कासन गरेर मात्रै मर्जरमा जाने तयारी गरेको छ । यो कम्पनीले पनि प्रिमियममै आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिने बताइएको छ । आईपीओ जारी नगरी मर्जरमा जाँदा बिमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी नपुग्ने भएकोले पनि आईपीओपछि मात्रै मर्जरमा जाने प्रस्तावसहित बिमा प्राधिकरणसँग स्वीकृति माग गरेको छ ।
महालक्ष्मी लाइफले भने आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिन बाँकी छ ।
कुन कम्पनीले कतिमा आईपीओ निष्कासन गर्दै छन् ?
धितोपत्र बोर्डका अनुसार रिलायबल लाइफले प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासन गर्न आवेदन दिएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सले २९०, आईएमई लाइफ इन्स्योरेन्सले २७६ र सन नेपाल लाइफ इन्स्योरेन्सले २५०.५५ रुपैयाँमा आईपीओ निष्कासन गर्न आवेदन दिएका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १०० अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरी आईपीओ निष्कासन गर्न लागेको हो । यो कम्पनीले बोर्डमा २०७९ फागुन २ गते आवेदन दिएको हो । यो कम्पनीले सर्वसाधारणलाई एक कराड २० लाख कित्ता सेयर निष्कासन गर्न आवेदन दिएको हो ।
सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गर्न २०७९ चैत ५ गते बोर्डमा निवेदन दिएको हो । यो कम्पनीले पनि अंकित मूल्य १०० मा प्रतिकित्ता १९० रुपैयाँ प्रिमियम थप गरी आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले बोर्डसँग सर्वसाधारणका लागि एक करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति माग गरेको छ ।
आईएमई लाइफ इन्स्योरेन्सले बोर्डमा २०७९ चैत २८ गते आवेदन दिएकोमा कम्पनीले पुन वैशाख १३ गते निवेदन दिएको हो । यो कम्पनीले पनि अंकित मूल्य १०० मा प्रतिकित्ता १७६ रुपैयाँ प्रिमियम थप गरी आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले बोर्डसँग सर्वसाधारणका लागि एक करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति माग गरेको छ ।
त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न बोर्डमा २०७९ चैत १७ गते निवेदन दिएको हो । यो कम्पनीले पनि अंकित मूल्य १०० मा प्रतिकित्ता १५० रुपैयाँ ५५ पैसा प्रिमियम थप गरी आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले बोर्डसँग सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न स्वीकृत दिन माग गरेको छ ।
प्रिमियममा निष्कासन भएको आईपीओमा पर्ला त आवेदन ?
अहिले धितोपत्र दोस्रो बजारमा ९ वटा जीवन बिमा कम्पनीको सेयर कारोबार भइरहेको छ । जसमा सबैभन्दा बढी सेयरमूल्य लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको रहेको छ । यो कम्पनीको सेयरमूल्य एक हजार २७८ रुपैयाँ छ । योबाहेक अधिकांश कम्पनीको सेयरमूल्य कम छ ।
दोस्रो बजारमा कारोबारमा रहेका आठ कम्पनीमध्ये प्रभु लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य गत आइतबार ४०० रुपैयाँभन्दा कम छ । सबैभन्दा कम सेयरमूल्य गुराँस लाइफको ३६० रुपैयाँ रहेको छ ।
यसरी दोस्रो बजारमा जीवन बिमा कम्पनीहरूको सेयरमूल्य घटिरहँदा प्रिमियममा ल्याइएका आईपीओहरू बिक्री हुन नसक्ने लगानीकर्ताहरूको बुझाइ छ । दोस्रो बजारमा सस्तोमा सेयर पाइने हुँदा प्राथमिक बजारबाट बढी मूल्य हालेर सेयर किन्न उचित नहुँने लगानीकर्ता एसपी चौलागाईं बताउँछन् । घटेको बजारमा प्रिमियममा आईपीओ ल्याउँदा मूल्य घटेर त्यो मूल्यभन्दा तल झर्ने हुँदा आईपीओ खरिद गरेर फाइदा नहुने उनी बताउँछन् ।
अर्का लगानीकर्ता तथा स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की पनि प्रिमियमको आईपीओ खरिद गर्नु जोखिम हुने बताउँछन् । तर, बुझ्दै नबुझेका लगानीकर्ताले भने आईपीओ खरिद गर्न सक्ने सम्भावना बढी भएको कार्की बताउँछन् ।
“धितोपत्र बोर्डले प्रिमियममा आईपीओ निष्कासन गर्न दिए पनि १०० रुपैयाँमा भर्न पाए जसरी कसैले पनि भर्दैनन् । कतिपयले झुक्किएर मेरो सेयरबाट १० कित्ता भर्न सक्छन् । उनीहरूले पैसा काटेपछि मात्र थाहा पाउँछन्,” उनले भने, “अहिले पनि आईपीओ भनेर कतिपयले झुक्किएर ऋणपत्र खरिद गरिरहेका छन् । प्रिमियममा ल्याइएको आईपीओमा पनि यस्तै हुन सक्छ । तर, अहिले परेको जस्तो आवेदन पर्दैन् । बुझेकाले भर्दैनन् । बरु दोस्रो बजारमा किन्छन् ।”
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार सूचीकृत संगठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्कासन गर्न चाहेमा त्यस्तो संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिसेयर नेटवर्थभन्दा बढी नहुने गरी प्रिमियम सहितको निष्कासन मूल्य निर्धारण गर्नुपर्छ ।
यो व्यवस्था अनुसार कायम भएको औसत मूल्य र सांगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिसेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्नेछ ।