site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काशी–बनारसको यात्रा
Ghorahi CementGhorahi Cement

काशी–बनारसको विषयमा बाल्यकालदेखि नै पिताजीको मुखबाट केही न केही सुन्दै आएको थिएँ । मेरा पिताजी आजभन्दा झन्डै सत्तरी वर्षअघि पितृ–तर्पण र पितामहको अस्तु सेलाउन त्यस थलोमा पुग्नुभएको थियो अरे !

हिन्दु धर्म–संस्कृति र पूर्वीय मूल्यमान्यता अंगीकार गरी अगाडि बढेको समाजमा काशी–बनारसलाई समादरको भावले हेरिँदै आएको छ । नेपालीमा एउटा आहान छ– न्याय हराए गोर्खा जानू, धर्म हराए काशी जानू । यो उक्तिको अन्तर्य कति सत्यता र यथार्थको नजिक छ, त्यो त मलाई थाहा छैन, तथापि उपयुक्त अवसर आएमा गोर्खा र काशी घुम्ने योजना जीवन्त नै थियो ।

पौराणिक कथाअनुसार शिवले पाँच हजार वर्षपूर्व काशी नगर स्थापना गरेको लोकविश्वास छ । त्यसैकारण पनि यो ठाउँ सनातनीहरूका निम्ति पवित्र तीर्थस्थल बन्यो ।

Agni Group

पौरस्त्य वाङ्मयका रामायण, महाभारत, ऋग्वेद, स्कन्दपुराणलगायत कैयौँ प्राचीन ग्रन्थहरूमा काशीको नाम उल्लिखित छ । अतिशयोक्तिमूलक व्याख्या–विश्लेषणमा नजाँदा पनि बनारस अर्थात् वाराणसी नगर आजभन्दा कमसे कम तीन हजार वर्षअगाडिदेखि अस्तित्वमा थियो भन्ने कुरा अनेकानेक तथ्य–प्रमाणहरूले बोल्दछन् ।

प्राचीनकालमा पनि काशी–बनारस मलमल, रेसम कपडा, अत्तर, हात्तीको दाँत र शिल्पकलामा अग्रणी थियो भनिन्छ । प्रसिद्ध चिनियाँ यात्री ह्वेन साङले यस थलोलाई धर्म, शिक्षा र कलात्मक गतिविधिको केन्द्रका रूपमा वर्णन गरेका छन् ।

Global Ime bank

समय र उपयुक्त मौका मिलेमा यस थलोलाई एकचोटि नजिकबाट स्पर्श र अवलोकन गर्ने अभिप्सा हृदयमा टाठो थियो । नेपालमा शिक्षाको विकास नभएको राणाकालीन समयमा जागरुक युवाहरूको निम्ति शिक्षादीक्षा हासिल गर्ने थलो पनि बनारस थियो । नेपालका प्राज्ञिक, शैक्षिक, प्रशासनिक क्षेत्रका अनेकौँ अग्र–पुस्ताका व्यक्तिहरूले यसै भूमिमा शिक्षादीक्षा हासिल गरेका अनेक उदाहरण छन् ।

साथै, नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखरहस्ती राजनेताहरूको संकटका क्षणमा आश्रय लिई क्रान्ति र परिवर्तनको रूपरेखा कोर्ने थलो पनि बनारसै थियो । चाहे बीपीको निर्वासन होस् या पुष्पलालको निर्वासन, बनारसले अनेकौँ नेताहरूलाई न्यानो आश्रय प्रदान गरेको छ ।

नेपाली साहित्यका विराट हस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटाले २००४ सालमा राणाशाहीलाई लल्कार्दै यसै थलोमा निर्वासित भई युगवाणी पत्रिकामार्फत क्रान्तिको शंखघोष गर्ने काम गरेका थिए ।

नेपाली साहित्यका भानु, मोतिराम, महाकवि देवकोटादेखि युद्धप्रसाद मिश्र, मोदनाथ प्रश्रित, गोविन्द भट्टसम्मका अनेकौँ स्रष्टाहरूको जीवन कुनै न कुनै रूपमा बनारससित जोडिएका सन्दर्भहरू पढ्न पाएको छु । यस हिसाबले पनि यस थलोमा पाइला राख्ने उत्कट अभिलाषा थियो ।

तँ चिता म पुर्याउँछु भनेझैँ एक दिन अचानक गुरु ज्ञानसाहिलले फोनबाट बनारस यात्राको योजना सुनाउनुभयो । मैले खुसी हुँदै त्यसमा सहमति जनाएँ । उहाँले गाईघाटतर्फका अरू दुई–चारजना मित्रहरूलाई सामेल गर्न सकिने संकेत पाएपछि मैले कैलाश कार्की, भीमप्रसाद पराजुली र राजदेव सिंहसित सम्पर्क गरेर उहाँहरूसित यात्राको कार्यक्रम सुनाएँ । उहाँहरू तीनैजनाले खुसीसाथ यात्रामा जाने आशय देखाउनुभयो । पुनः लाहान फोन गरेर उहाँहरूको पनि टिकट बनाउँदा हुन्छ भनेँ ।

२०६३ कार्तिक १३ गतेका दिन हामीलाई प्रस्थान गर्नु थियो । बिहानै विद्यालय गएँ । टिफिन टाइमसम्म अध्यापन गरेँ । प्रधानाध्यापकसित सात दिनको बिदा स्वीकृत गराएँ ।

बेलुकीपख कैलाश दाइ, भीमप्रसाद पराजुली र म रात्रिबसमा लाहान प्रस्थान गर्याैं । राजदेव सर पहिले नै गइसक्नुभएको थियो । उहाँकी पत्नी बिमार भएर लाहान अस्पतालमा राखिएको थियो । उहाँ बिरामी पत्नी छोडेर यात्रामा जाने कि नजाने दोधारमा हुनुहुन्थ्यो ।

साँझदेखि नै गुरुआमाको स्वास्थ्यमा उल्लेख्य सुधार भइसकेको थियो । छोराहरूले ‘तपाईं यात्रामा जाँदा हुन्छ, हामी छौँ’ भनेपछि उहाँ पनि जान तत्पर हुनुभयो । त्यो रात लाहानमै बास बसियो ।

भोलिपल्ट २०६३ कार्तिक १४ गतेका दिन बिहानै जीपमा चढेर जयनगर पुगियो । ८ बजेको रेल थियो । चढ्याैँ । र, साढे १ बजेतिर दरभंगा पुगियो । दरभंगा पुगेर खाना खाइयो ।

दिउँसो ३ बजे दिल्ली जाने रेलमा चढ्ने गरी हाम्रो टिकट बनेको थियो । ठिक समयमा रेल आइपुग्यो । यो रेलयात्रा मेरो जीवनकै पहिलो रेलयात्रा थियो । मन एककिसिमको रोमाञ्चक भावले चुलबुल बनिरहेको थियो ।

रातको १ बजे बनारस पुग्यौँ । ओशो आश्रमबाट हामीलाई लिन जीप आइसकेको थियो । त्यसैमा हामी सामनेघाटस्थित आश्रममा पुगेरै विश्राममा ढल्कियौँ । भोलिपल्ट १५ गते सारनाथ र रामनगरको अवलोकन भ्रमण गर्ने योजना थियो । त्यसैले आराम जरुरी थियो ।

बिहान चियानास्ता गरेर सारनाथ प्रस्थान गरियो । सारनाथ बनारसबाट १० किलोमिटर पूर्वाेत्तर दिशामा अवस्थित रहेछ । सारनाथ बौद्ध, हिन्दु र जैन धर्मको तीर्थक्षेत्र मानिन्छ ।

गौतमबुद्धले बोधिज्ञान प्राप्त गरेपछाडि पहिलोचोटि आफ्नो ज्ञानको उपदेश यसै थलोबाट सुरुआत गरेका थिए । जसलाई धर्मचक्र प्रवर्तन पनि भनिन्छ । जैन साहित्यमा यस थलोलाई सिंहपुरको नामले पनि पुकारिन्छ । जैनधर्मका ११औैँ तीर्थकंर श्रेयांसनाथको जन्म कुशीनगरमै भएको मान्यता छ ।

सारनाथमा मूलभूत दर्शनीय स्थलहरू सम्राट अशोकको चतुर्मुख सिंह स्तम्भ, बुद्ध मन्दिर, धामेख स्तूप, चौखण्डी स्तूप, राजकीय संग्रहालय, जैन मन्दिर, चिनियाँ मन्दिर र मूलगन्ध कुटीको अवलोकन गरियो ।

सारनाथका मुख्यमुख्य स्थल घुमिसक्दा भोकले खानाको सम्झना गरायो र हामी खाना खानतिर लाग्यौँ । त्यसपछि मात्र रामनगर किल्लातर्फ प्रस्थान गरियो । रामनगर किल्ला गंगाको किनारमा अवस्थित रहेछ । बनारसको मूल केन्द्रबाट १४ किलोमिटर र काशी हिन्दु विश्वविद्यालयबाट २ किलोमिटरको दूरीमा रहेछ यो । काशी तुलसीघाटको ठिक पारिपट्टि (गंगापारि) काशीका नरेश बलवन्त सिंहले सन् १७४० मा यो किल्ला बनाएका रहेछन् ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बाहिरी पर्यटकको अध्ययन अवलोकनका लागि खुला गरिने यस दरबारभित्रको संग्रहालयमा पसेर धेरै चिजहरू हेरियो । मध्ययुगीन राजा–महाराजाले प्रयोग गरेका वेशभूषा, पाल्की, हौदा, मुकुट माणिक्यादिलगायत पुरातात्त्विक महत्त्वका अनेकन् चिजबिजहरू सुरक्षित राखिएको रहेछ । त्यहाँको खगोलीय घडी, ५३५ थान मुगलकालीन मुगल चित्रहरू विशेष अवलोकन गर्न लायकका कलाकृतिहरू थिए ।

रामनगर किल्लाको अवलोकनपछि हाम्रो टोली साँझपख असीघाट पुग्यो र सन्ध्याकालीन गंगातटको आरती हेरेर कोठामा फिर्ता भयो । भोलिपल्ट कार्तिक १६ गते पनि केही अरू ठाउँहरू घुम्ने योजना बनेको नै थियो । बिहानको नित्यकर्मपछि हामी सबै काशी विश्वनाथ मन्दिर हेर्न गयाैँ । त्यसपछि मणिकर्णिका घाट पुग्यौँ ।

काशीको मणिकर्णिकाघाट एक प्रख्यात घाट मानिन्छ । यस घाटमा रोजिन्दा दर्जनाैँ लासहरूको सद्गत गरिन्छ । यो घाट यति प्रसिद्ध हुनुमा एउटा मिथक जोडिएको रहेछ । मिथकअनुसार पार्वतीको कानमा लाउने कर्णफूल त्यहाँको कुण्डमा झरेर हराएछ । शिवले कर्णफूल खोज्न त्यस कुण्डमा ओर्लेको किंवदन्तीबाट त्यसघाटको नाम मणिकर्णिका घाट बनेको रहेछ ।

अर्काे किंवदन्तीअनुसार पार्वतीको देहान्तपछि शिवले त्यही थलोमा उनको दाहसंस्कार गरिएको मान्यता पनि चर्चित रहेछ । मृत्युपछि यसघाटमा जल्न पाउँदा मोक्ष प्राप्त हुने विश्वासले अनेकौँ मान्छे अन्तिम अवस्थामा (त्यहीँ निधन होस् भन्ने हेतुले) काशी जाने चलन नै थियो । अहिले त्यो चलनमा ह्रास आए पनि त्यहाँ हरबखत आठ–दशवटा चितामा लास जलिरहेको दृश्यले अझै पनि मृत्यु सन्निकट रहेका मानिस काशीमै गएर मर्छन् कि क्या हो जस्तो लाग्छ ।

मणिकर्णिका घाटको परिवेश नियालिसकेपछि हामी कविर चौराहा पुग्यौँ । कविरका मातापिता निमा र निरूको प्रतिमास्थलमा पनि पुग्यौँ । समाजसुधारक सन्त कवि कविर आजभन्दा सात सय वर्षअगाडि बनारसमै जन्मिएका थिए । कविरको जन्म सन् १३९८ मा भएको थियो । उनी १२० वर्ष बाँचेर १५१८ मा यस संसारबाट अस्ताएका थिए भन्ने भनाइ छ ।

कसैले जन्म दिएर बेवारिसे फालिएको बच्चालाई एक मुस्लिम जुलाहा दम्पती निमा र निरूले पालनपोषण गरी हुर्काएका थिए । हुन त उनी निरक्षर, अनपढ व्यक्ति थिए, तथापि अवधि, सधुक्कडी पचमेल–खिचडी भाषाको प्रयोग गरी बेजोड काव्यपंक्तिको रचना गरेका थिए ।

उनका समग्र वाणीहरूको संकलन विजक ग्रन्थमा पढेको थिएँ । हिन्दु र मुस्लिम धर्मभित्रका आडम्बर, ढोँग र पाखण्डलाई प्रहार गरी लेखिएका पंक्तिले जो कोहीलाई गहिरो प्रभाव पार्दछ ।

एउटा लोकोक्ति पनि छ कविरको जन्मका विषयमा । काशीमा एक विधवा ब्राह्मणी एक दिन गुरु रामानन्द नजिक पुग्छिन् । आफ्नो दर्शन गर्न आएकी बाहुनीलाई खुसी भएर गुरुले ‘पुत्रवति भवः’ को आशिष दिन्छन् । ती बाहुनी एक दिन गर्भवती बन्छिन् र लोकलाजबाट बँच्नका लागि बच्चा जन्माएर लहरतारा तालको किनारमा शिशुलाई छाडेर हिँड्छिन् ।

भर्खर विवाह बन्धनमा बाँधिएका मुस्लिम दम्पती निमा र निरूले त्यस बेवारिसे बच्चालाई भेट्छन् । तिनले खुसीसाथ ग्रहण मात्र गर्दैनन्, बच्चाको पालनपोषण गर्छन् । हुर्काउँछन्, बढाउँछन् । र, बच्चालाई आफ्नो कपडा बुन्ने, धागो कात्ने पेसामा पनि पारंगत बनाउँछन् । आत्मसाक्षात्कार गरिसकेका कविरले जीवनभरि धागो र कपडा बुन्ने काम छोडेनन् ।

कविर गुरु रामानन्दबाट दीक्षित थिए । हिन्दी साहित्यमा कविरको एक बेजोड स्थान छ । बनारसमा उनको जन्मस्थली हेर्ने इच्छा पूरा भएको थियो मेरो, त्यस दिन ।

उनले प्रयोग गरेको अँइटो, चर्खा, कपडा बुन्ने तानलाई सुरक्षित राखिएको रहेछ । त्यसलाई पनि हेर्न भ्याइयो । कविर चौराहको परिभ्रमणपछि कोठामा आइयो । र, खाना खाईवरी आराम गर्न सुतियो ।

भोलिपल्ट बनारस हिन्दु विश्वविद्यालय घुम्न जाने योजना बनेको थियो । बिहानको जागरणपछि चियानास्ता गरियो । एक हजार ३०० एकड जमिनमा फैलिएको यो विश्वविद्यालयको स्वरूप हेर्दा विस्मयचकित बनेँ । यसलाई काशी हिन्दु विश्वविद्यालय पनि भनिन्छ । छोटकारीमा बीएचयू ।

कैयौँ नेपालीले यस विश्वविद्यालयमा अध्ययन गरेर विभिन्न उपाधि हासिल गर्दै नेपालमा शिक्षाको ज्योति फैलाएका छन् । यो विश्वविद्यालय आजभन्दा सय वर्षअगाडि सन् १९१६ मा पण्डित मदनमोहन मालवीयले स्थापना गरेका रहेछन् ।

विश्वविद्यालयको मुख्य परिसरमा तीन संस्थान, १४ संकाय र १२४ विभाग रहेछन् । यो विश्वविद्यालय एसियाको सबभन्दा ठूलो विश्वविद्यालयमध्येको एक विश्वविद्यालयका रूपमा स्थापित रहेछ । ३५ हजार विद्यार्थी अध्ययनरत यस विश्वविद्यालयमा भारतका धेरै दानशील र धनाढ्य व्यक्तिहरूले चन्दा दिएर शिक्षाको यस मन्दिरको जग हालेका रहेछन् ।

दरभंगाका राजा रामेश्वर सिंहदेखि हैदराबादका निजाम मीर उस्मान अलिखानले थुप्रै धनराशि अर्पण गरेका रहेछन् । अलिखानले त त्यो समयको १० लाख रुपैयाँ दान गरेका रहेछन् । प्रांगणको बीचभागमै विडलाले विशालतम आकारको विश्वनाथको मन्दिर बनाएका रहेछन् ।

त्यस मन्दिरको जताजतै, सम्पूर्ण भित्ता र भुईंमा संगमर्मर टाँसिएको छ । र, त्यसका भित्ता हिन्दु धर्मग्रन्थका अनेकाँै श्लोक र आप्तवाणीहरूले सुसज्जित छन् । हिँडेर केही घण्टामा छिचोली नसक्नु यसको विस्तीर्ण परिसरमा हामी केही घण्टा रम्यौँ, रमायौँ ।

ज्ञानगंगाको यति विराट महासागर आफ्नो छातीमा बोकेर काशी–बनारस दुनियाँलाई ज्ञानको दर्शन बाँडिरहेछ । ज्ञानको आलोक छरिरहेछ । सदाझैँ बेलुकी कोठामा आयौँ ।

आज साँझबाट पाँचदिने मौन ध्यान (साइलेन्स मेडिटेसन)को कार्यक्रम सुरु हुनेवाला थियो । पाँच दिनसम्म आँखामा पट्टी राखेर, कानमा ठेडी कोचेर मौन ध्यानमा डुबुल्की मारियो !

बनारस बसाइको अन्तिम दिन कार्तिक २२ गते ३ बजे दरभंगा फर्किन रेलको टिकट बनेको थियो । बिहानको खाली समय लहरतारा तलाउ हेर्न जाने योजना बन्यो । कविर साहेब जन्मेको ठाउँ अर्थात् जहाँ उनलाई एक बेवारिसे शिशुका रूपमा निमा र निरूले भेटेका थिए, महाकरुणाबस आफ्नो काखामा ग्रहण गरेका थिए, त्यस ठाउँमा पुगेर अत्यन्त भावुक बनियो । यसै क्रममा त्यहाँका केही स्थानीय व्यक्तिहरूसित संवाद गरियो ।

त्यहाँबाट फर्केर आफ्नो झोलीतुम्बा ठिकठाक पारियो । अपराह्न ३ बजे रेल समात्नु थियो । समातियो र भोलिपल्ट बिहानै ४ बजे बिहारको दरभंगा उत्रियौँ । ६ बजे जयनगर आइपुग्ने रेल ११ बजेतिर मात्र जयनगर आइपुग्यो ।

त्यसपछि गाडीमा हिँडेको हामी अपराह्न ४ बजेतिर गाईघाट आइपुग्यौँ । आउनासाथ सुनियो खुसीको कुरो, अघिल्लो रात मात्रै सरकार र माओवादीबीच ६ बुँदे बृहत् शान्ति सम्झौता भएको रहेछ । लामो समयसम्म चलेको द्वन्द्व र अशान्तिको बादल हटेर गएको कुराले मनमा आनन्द छायो ।

नेपाल छाडेपछि यहाँका समाचार हेर्न र सुन्नबाट वञ्चित रहेको थिएँ । अब नेपाल शान्ति र समृद्धिको दिशामा उन्मुख हुने कुराले मनमा अथाह आशा पलाएर गएको छ, यतिखेर ।                                                          

(रचनाकाल : २०६३ कार्तिक २४ गते)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC