site stats
बाह्रखरी :: Baahrakhari
देश
‘आगो देखियो’ भनिएको जहाज अवतरण भएन, गन्तव्यतर्फै लाग्यो 

काठमाडौं । काठमाडौंबाट दुवईका लागि उडेको विमानमा उड्नासाथ समस्या देखिएको भए पनि पछि सबै ‘प्यारामिटर’ नर्मल रहेको भन्दै गन्तव्यतर्फ लागेको छ ।

काठमाडौंबाट अहिले बेलुका ९ बजेर २० मिनेटमा उडेको जहाजबाट ‘ठूलो आवाज’ आएको थियो ।

काठमाडौंका स्थानीयले ‘पड्किएको आवाज’ सुनेको बताएका छन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाका अनुसार जहाज उड्नासाथ समस्या आएको भन्दै अवतरणको अनुमति मागिएको थियो ।

त्यसपछि विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो ।

“उड्नासाथ जहाजमा समस्या आयो भनेर खबर आयो,” निरौलाले बाह्रखरीसँग भने, “उड्नासाथ समस्या आयो भनेर केहीबेर रोक्यो । त्यसबेला आगो देखिएको कुरा आयो । केहीबेर होल्ड गरेपछि आफ्ना सबै प्यारामिटर चेक गरेर नर्मल देखियो भन्दै जहाज गन्तव्यतर्फ नै गयो ।”

विमानस्थल स्रोतले दिएको जानकारीअनुसार आकस्मिक अवरतणको सबै तयारी पूरा गरिएको थियो ।

अन्य गन्तव्यतर्फबाट आएका जहाजलाई एकैछिन रोकेर फ्लाई दुवईको जहाज अवतरणको तयारी गरिएको थियो ।

तर पछि जहाजले ‘आफ्ना सबै प्यारामिटर नर्मल’ अवस्थामा रहेको भन्दै गन्तव्यतर्फ लागेपछि अन्य जहाजहरु अवतरण गराइएको विमानस्थल स्रोतले जानकारी दियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्