site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
विद्युत् प्राधिकरणलाई डेढ लाख ई–सिम दिँदै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि एक लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । यसका लागि आज दुवै पक्षबीच एक सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत् प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत् प्राधिकरणसँग व्यावसायिक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै फेरि पनि यस किसिमको सहकार्य जारी रहने बताएकी छन् ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुने भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले विद्युत महशुलसम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । टेलिकमले उपलब्ध गराएको ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बिचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ ।

१०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि ई–सिम प्रयोग गरिने भएको छ । नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्