आमा तिमीले म जन्मनुभन्दा धेरै पहिलेदेखि
मलाई प्रेम गरेकी हौ
जब तिम्रो गर्वमा म बसेँ,
तिमीले मलाई अथाह प्रेम गर्न सुरु गर्यौ
आफ्नो च्यातिएको धोतीलाई भन्दा बढी
खाली खुट्टा हिँड्दा चिरिएका कुर्कुचालाई भन्दा बढी
काँडा बिझेर खिल पल्टेको औँलालाई भन्दा बढी
त्यसैले आमा तिमी मेरी प्रेमिका हौ
सक्दिनँ म छाती चिरेर फर्काउन
भ्याउदिनँ चित्रमा तिम्रो प्रेम दर्शाउन
रितिन्नै परे पनि म एक्लै रित्तिऊँला आमा
सकूँ सदा स्नेह र विश्वास तिमीलाई बर्साउन ।
बुवाको औषधि भयौ तिमी
दाजुको लागि सहकारी भयौ
दिदीको रोदन भयौ
मेरो लागि मुरीका मुरी अट्ने
तिमी प्रेमको भकारी भयौ
भन त आमा, अब तिमी केसम्म हुन सक्छौ ?
टाढाएर जन्म दिने आमाबुवासँग
छुट्टिएर आफ्ना दाजुभाइसँग
रित्तिएर आफू आफैँसँग
दूध दोएपछि भैँसीको थुन रित्तिएजसरी
भात पस्किएपछि कसौँडी रित्तिएजसरी
धान भित्र्याएर खेत रित्तिएजसरी
तिम्रो ओठको हाँसो कहिलै रित्तिन नपरोस् ।
म जहाँ छु, त्यहाँ सधैँ तिमी हुनेछौ
चाहन्नँ म यात्रामा तिम्रो व्यथा चर्काउन
मेरो सफलताले एक दिन शिखर छुनेछ
आमा, प्रगतिमा अश्रुधारा भ्याउनेछौ बर्साउन ।
कस्टकरसँग नौ महिना गर्वमा राखेर तिमीले
दाइलाई जिन्दगीभरको ठूलो दान दियौ
दिदीलाई कहिल्यै बिर्सनै नसकिने ज्ञान दियौ
मलाई म को हुँ भन्ने पहिचान दियौ
आमा, अब तिमीलाई हामीले
त्यही एउटा इमानभन्दा के दिन सक्छौँ र ?
गालाका खोल्सा ओभानो नै हुन्छन्
पक्कै पर्ने छैनन् अब छाती चर्काउन
यही देश, यही परिवेश आफैँ सिँगारेर
खुसीका अमृत धारा सक्छौ तर्काउन ।