
काठमाडौं । वसुन्धरा—मान प्रज्ञा–प्रतिष्ठानले नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइतलाई २०८० सालको लागि ‘वसुन्धराश्री पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रतिष्ठानले नेपाली वैज्ञानिक डा. महावीर पुनलाई २०८० सालको लागि ‘मानश्री पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बुधबार बसेको बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्सा सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै विश्व समुदायमा नेपाल र नेपालीको प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट भूमिका निर्वाह गर्ने डा. रुइतलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले राष्ट्रिय आविष्कार केन्द्रका माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएर विश्व समुदायमाझ नेपाल र नेपालीको प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न योगदान पुर्याउने वैज्ञानिक डा. पुनलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार प्रतिष्ठानले यसअघि वसुन्धराश्री पुरस्कार कविवर माधवप्रसाद घिमिरे, उपन्यासकार दौलतविक्रम विष्ट, कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’, समालोचक यदुनाथ खनाल, आख्यानकार मदनमणि दीक्षित, उपन्यासकार डायमनशमशेर राणा, साहित्यकार इन्द्रबहादुर राई, कवि मोहन कोइराला, संस्कृतिविद् सत्यमोहन जोशी, समालोचक कृष्णचन्द्रसिंह प्रधान, कवि वैरागी काइँला, कवि धर्मराज थापा, समालोचक प्रा.डा. वासुदेव त्रिपाठी, चित्रकार शशी शाह, कलाकार हरिप्रसाद रिमाल, संगीतकार अम्वर गुरुङ, आख्यानकार लीलबहादुर क्षेत्री, समालोचक प्रा. डा. तारानाथ शर्मा, गायक प्रेमध्वज प्रधान, कलाकार मदनकृष्ण श्रेष्ठ, आख्यानकार डा. ध्रुवचन्द्र गौतम, लोकगायक कुमार बस्नेत र साहित्यकार ठाकुरप्रसाद गुरागाईंलाई प्रदान गरिसकेको छ ।
त्यस्तै, मानश्री पुरस्कार यसअघि कवि तथा गीतकार दिनेश अधिकारी, साहित्यकार विनय रावल, नाटककार अशेष मल्ल, गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार मञ्जुल, कथाकार मधुवन पौडेल, कवि विष्णुविभु घिमिरे, कवि कृष्णभूषण बल, कथाकार भुवन ढुंगाना, कथाकार सनत रेग्मी, कवि विजय बजिमय, समालोचक डा. रामदयाल राकेश, कथाकार डा. वेञ्जु शर्मा, चित्रकार किरण मानन्धर, कलाकार नीर शाह, गायक दीप श्रेष्ठ, साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ, सञ्चारकर्मी खगेन्द्र नेपाली, गायक भक्तराज आचार्य, कलाकार हरिवंश आचार्य, साहित्यकार सरुभक्त, गायिका मीरा राणा र कलाकार थानबहादुर रावललाई प्रदान गरिसकेको छ ।