site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
आफ्नै नेतृत्वको पनि आलोचना गरौँ  

राजनीति सुध्रिएन, अवसरवाद बढ्यो । नेताले देश बिगारे । नेता बूढा भए पनि छोडेनन् र युवाको पालो आएन ।

शासकीय व्यवस्था परिवर्तन भयो जनस्तरमा तात्त्विक फरक परेन । राणा, निरंकुश शासन फ्याँकियो । दुई सय वर्षबढी रजगज गरेका राजा पनि फ्याँकियो । एकात्मक शासनबाट देशलाई तीन तहको सरकार रहनेगरी संविधानमा अधिकार दिएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य पनि बनाइयो । तैपनि जनतस्तरमा ‘क्रान्तिकारी रूपान्तरण’ भएजस्तो लाग्दैन । 

माथि उल्लेख गरिएका विषयहरू सामान्य कुराकानीमा सुनिने केही विषय हुन् । राजनीति बुझेका, त्यसमा भिजेका र राजनीति गर्ने हुटहुटी भएका मानिसहरूबीच निराशाको बादल मडारिँदै गएको सत्य हो । अझ निरन्तर पार्टी, संगठन भनेर आफ्नो ऊर्जा र समय लगाएकाहरूले अवसर नपाउने संस्कार पछिल्लो समय सबै दलहरूभित्र मौलाइरहेका बेला निराशाको बादल मडारिनु के आश्चर्य भयो र ? 

Dabur Nepal
NIC Asia

महत्त्वपूर्ण त के भने ‘भुइँमान्छे’ भन्ने गरिएका जनसाधारणमा पनि राजनीतिप्रति वितृष्णा व्याप्त छ । नागरिक अधिकारका लागि ७ दशक बढी समयदेखि सक्रिय रहेका राजनीतिक दलहरूले पनि व्यवस्थाको विषयमा नागरिकलाई बुझाउने र ‘डेलिभरी बेस पोलिटिक्स’ गर्नुको साँटो सत्ता र स्वार्थकेन्द्री राजनीति गरिरहँदा सामान्य नागरिकमा आशाको सञ्चार होस् पनि कसरी ? 

नयाँ दलका नेताहरू सुशासन र ‘डेलिभरी अन टाइम’को नारा दिएर आए । व्यवहारमा भने तिनले ‘कुर्सी पहिले’ नीति लिएको देखेपछि नागरिकको आवेगको पारो ह्वात्तै बढेको देखिएको छ । 

गल्ती कसको त ? हामी भेटघाट, चियामात्र होइन मदिरामा लठ्ठ भएको बेला पनि गर्ने गफको विषय नेतृत्व तहमा रहेका नेताहरूले विचार र सिद्धान्तलाई बन्धक बनाए भन्ने हुन्छ । नेतृत्वको कार्यशैली र गतिविधिबारे सबैले विरोध, आपत्ति र भत्र्सना पनि गर्छौँ । गफैमा संविधानको उपलब्धि तथा देश र देशवासीको चिन्ता पनि गर्छाैँ । तर, जब नेतृत्वको सामुन्ने पर्छौं नि अनि उही जय नेपाल, लालसलाम, अभिवादन कमरेड गर्दै जी हजुरी गर्नुबाहेक आलोचनात्मक सुझाव दिनै सक्दैनौ । 

सामान्य मान्यता हो – राजनीति शक्तिका लागि गरिन्छ । शक्ति सत्तामा हुन्छ । सत्तामा पुग्न र त्यसको कुर्सीमा टासिरहन मन लाग्छ नै । यो ‘मानव मनोविज्ञान’ हो । मानिस सत्ताबाट बाहिर बसेर आफ्नो शक्ति खेर फ्याक्न चाहँदैन । त्यसैको लोभ कार्यकर्तामा पनि शुन्छ । त्यसैले नेतृत्वले गलत गरिरहन्छ । सत्ताको दुरूपयोग गरिरहन्छ । सत्ताको डन्डीले कार्यकर्ता र जनतालाई तर्साइरहन्छ । 

कुर्सी र सत्तामा नेतृत्व टासिँदासम्म कार्यकर्ताले पनि शक्तिलाई पूजा गरिरहन्छ । नेतृत्वलाई रिझाएर स्वार्थपूर्ती गर्न चाहन्छ । बाहिर हुँदा ‘सत्तो सराप’ गरेर नेतृत्वको ‘उछित्तो’ काडे पनि नेतृत्वको अघि पुगेपछि भन्ने गर्छ – विरोध पनि कसरी गर्न सक्छु र ? के गर्नु गल्ती गरेको छ भन्ने थाहा छ तर बोल्यो भने आफैँलाई घाटा लाग्छ । सबै शक्ति नेतृत्व तहकै नेताहरूको निगाहको भरमा चल्छ । बोलेर केही हुँदैन । विरोध गरेर सकिनुभन्दा चाकडी गरेर केही फाइदा लिनु उपयुक्त हुन्छ ।

नेताहरूलाई खुसी पार्न नसके राजनीतिमा अगाडि बढ्नै नसकिने रहेछ । साथीहरूको कुरा सुनिरहँदा यसलाई अस्वीकार गर्नुपर्ने केही कतै कारण छैन । तर, कति समयसम्म? अहिलेका सचेतक हामीले सोच्नुपर्ने समय आएन र? 

गुनासो गर्नु र गुनासो सुन्नु अनि त्यसलाई समाधान गर्नु नितान्त फरक विषय हो । गुनासो गर्नेहरूले कुन मनस्थितिमा के भन्दिन्छन् थाहा हुँदैन । कहिलेकाहीँ त सुझाव भनेर दिएका उपायहरू र नेतृत्वप्रति पोखिएका असन्तुष्टिहरू दुरुस्त ‘कपी पेस्ट’ शुन्छ । यसले कसलाई फाइदा गर्छ त्यो त सम्बन्धित ‘दूत’ लाई थाहा होला । तर, आजभोली मैले नेतृत्वको बारेमा बोल्नुपर्छ भन्ने लागेर खराब लागेका कामका विषयमा बोलेरमात्र होइन लेखेरै पनि उजागर गर्न थालेको छु । 

हामी कसैले नबोल्दा, सचेत नगर्दा यो देशको ऐतिहासिक पार्टीहरू आज धृणा र गालीको पुराण सुनाएर राजनीति सुधार गर्छौं भन्नेहरूसँग डराउनु परेको छ । आफ्नो नेता, राजनीतिक, आर्थिक सामाजिक तथा विश्वराजनीति र बदलिएको परिवेशलाई समेत व्याख्या र विश्लेषण गर्न सक्ने स्पष्ट दृष्टि भएका दलहरू विचारशून्य झुण्डहरूसँग डराउनुपर्ने अवस्था आएको छ । नागरिकको हकअधिकारका लागि सडकमा आवाज बुलन्द गर्न सक्ने हामी आफ्नै नेताहरूको गलत कार्यशैलीविरूद्ध सचेत गराउने हिम्मत गर्न नसकेर राजनीतिक रूपमा ‘आफ्नै खुट्टामा बञ्चरो’ हानिरहेका छौँ । 

हामीले यो व्यवस्था किन ल्यायौँ ? लोकतन्त्रमा आलोचनात्मक चेत र अभिव्यक्ति र त्यसको पक्षपोषण गर्न पाउने अधिकार उपयोग गर्न नसक्दा हामीले आफैँलाई न्याय गर्न सकेका छैनौ । हामीले संगठनमा बगाएको रगत पसिना तथा देश बनाउने नारा लगाउँदै हिँडेको ऊर्जावान् समयले हामीलाई गिज्याउने अवस्था आएको छ । देश आन्तरिक र बाह्य रूपमा दलदलमा फस्दै गएको अनुभूति भइरहँदा पनि टुलुटुलु हेर्न बाध्य छौंँ । 

जीवनको पाचौं दशकमा हिडिरहँदा म गम्भीर भएर गम्ने गर्छु – के हाम्रो राजनीतिक लक्ष्य र संघर्ष देशको यो दुर्दशा हेर्नलाई मात्र हो त ? बन्दुकको नाल अगाडि छाती खोलेर ‘गोली ठोक’ भनेर ललकार्न देखाएको बहादुरी आजैका लागि थियो त ? त्यो आँट साहस हराएर आफ्नै नेतृत्वले कमजोरी गरिरहँदा किन शिर झुक्छ ? हिजो हामीले गरेका त्याग र समर्पण के नेता र नेताहरूको परिवारको सामन्ती शैली स्थापित गर्नका लागि नै हो ? सबै दलका नेताहरू शासक र कार्यकर्ताहरू लगभग ‘दास’ मा परिणत भइरहँदा हामी बोल्न किन सक्दैनौ ? हामी कहाँ चुक्यौँ ?  कस्तो विडम्बना ? आज कसैले नेताको अगाडि बोल्यो भने कुरा पो लगायो कि भने डरले काप्दै थुरथुर हुनुपरेको छ । 

साँच्चै, अब हामी कार्यकर्ताबाट हली र बुँख्याचामा परिणत भइसकेका छौँ । असल नेता उत्पादन गर्ने कारखाना भनिने विद्यार्थीहरूले पनि माउपार्टीलाई सर्तक गराउन र सहीबाटोमा हिडाउन सकेका छैनन् । उनीहरूले पनि उल्टै हुकुमी शासन र ‘गुलामी’ सिकिसके । अरू भातृ र शुभेच्छुक संस्थाहरूको चर्चा गर्नै परेन । न्यायालय, प्राध्यापक, डाक्टर, कूटनीतिविद, इन्जिनियरदेखि समाजमा आदर्श मानिएको पेसाव्यवसायी पनि जी हजुरी शैलीमै छन् । 

मलाई त आजभोलि राजनीति नै धन कमाउने र थुपार्ने पेसाको रूपमा स्थापित भइसकेजस्तोे लाग्न थालेको छ ।

युरोपका देशमा राजनीति सेवा हो तर हामीकहाँ त सबैभन्दा सुरक्षित पेसा पो बन्दै गएको छ । राजनीतिको दोकान चोक, गल्ली, वडा हुँदै फैलँदो छ । यो नागरिक चेतनाको रुपमा फैलेको भए त हुन्थ्यो नि । ‘पोलिटिकल लिटरेसी’ बढेको भए पो हुन्थ्यो । विडम्बना, यहाँ त कसैको राजनीति जोगाइदिन पसल खुल्छ, बार्गेनिङ हुन्छ र जनता ढाँट्ने काम हुन्छ । कतिसम्म भने धनसम्पत्ति थुपार्ने लोभले हामी सबैले आफ्नै सन्तानहरू विदेशमा विक्री गरिरहेको समेत हेक्कै राखेका छैनौ । 

आज देशको उत्पादनको आधारै ‘वीर्य र गर्भाशय’ बनाइसकियो । आफ्नो शरीरले काम गरून्जेल आफ्ना सन्तान विदेशमा छन् भनेर गदगद हुनेहरू बुढेसकालमा सहारा खोज्छन् । त्यतिबेला सिटामोल दिन पनि वरिपरि कोही नहुँदा पछुताउन बाध्य हुनुपरेको छ । आफ्नो सञ्चित धनसम्पत्ति पनि मर्ने बेला काउसो बनेको छ । 

यी सबै कुराको जानकारी हुँदाहुँदै पनि अझै हामी किन मौन छौँ । यो सबै देशको मूल नीति राजनीतिमा आएको विचलनले निम्त्याएको हो । थितिको स्थानमा बेथितिको प्रभुत्व भएको हो ।

सधैँ यसरी चल्छ त ? अवश्य चल्दैन । बीपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता देशभक्त नेताहरूले स्थापना गरेका दलका हाम्रो पुस्ता र अहिलेका युवा पुस्ता जागेर आँट्यौ भने देशले काँचुली फेर्छ । हामीभन्दा कैयौँ ठूलो र धेरै जनसङ्ख्या भएको बिहार र बङ्गलादेश बन्न सक्छ भने लगभग तीन करोड जनसंख्या भएको हाम्रो देश नबन्ने कुरै छैन । हामी सम्पन्न छौँ । बस, व्यवस्थापन हुन सकेन । नेतृत्वको कान समातेर तिनलाई ठीक ठाउँमा हिँडाउन नसकेको परिणाम आज आएको हो । देखेको बोल्न नसक्दा थितिको ठाउँमा बेथिति भएको हो । 

देश बनाउन धेरै विषयहरू आवश्यक छैन । देशमा भएको कानुनको लागु गर्ने र हामी सबैमा इमानसहितको प्रतिबद्धता भए सबै ठीक ठाउँमा आउँछ । 

व्यक्ति हैन पार्टी र सिद्धान्तको पछाडि लागौँ । देशलाई बचाऊँ । आफ्ना सन्तानहरूलाई जोगाऊँ। युवा पुस्तालाई आफ्नै देशको माटोमा पसिना बगाउन दिऊँ ।

( नेपाली कांग्रेसका नेता )
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro