site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
कथा पोखराको 

सहरहरूको उद्भव र विकास आधुनिक विश्वको एउटा महत्त्वपूर्ण परिघटना मानिन्छ । नेपाल पनि यसबाट पृथक रहेको छैन । 

खेतीपाती छाडेर अन्य व्यवसायतर्फ आकर्षित हुँदै नेपालका ग्रामीण भेगबाट सहरतर्फ मानिसहरूको संख्या बढिरहेको देखिनु यसको उदाहरण हो । 

तर, पाश्चात्य संसारमा जस्तो  औद्योगिक क्रान्तिले जन्माएको तीव्र सहरीकरणसँग नेपाली सहरीकणको तुलना गर्न भने सकिँदैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आफ्नै मौलिक विशेषता र परम्परा बोकेर नेपालमा सहरहरूको उद्भव र विकास भइरहेको छ । नेपालको मध्यपहाडी उपत्यकामा उदीयमान यस्तै एउटा सहरको कथा हो यो । 

नेपालको पश्चिममा पर्ने गण्डकी क्षेत्रको केन्द्र स्थलमा अवस्थित पोखरा उपत्यका धेरैका निम्ति आकर्षणको केन्द्र बन्न पुगेको छ । 

Royal Enfield Island Ad

रमणीय पर्यटकीय स्थलको रूपमा प्रद्धिद्ध यस सहरका अरू पनि अनेकौं् विशेषता छन् जसले विगत केही दशकदेखि स्वदेशी तथा विदेशी अनुसन्धाता र अन्वेषकहरूको समेत ध्यान यसले आकर्षित गर्न थालेको देखिन्छ । 

यस उपत्यकाको रहस्यमय भौगर्भिक बनावट भूगर्भविद्हरूका निम्ति चुनौतीको विषय बनेको छ भने यहाँको सामाजिक र सांस्कृतिक संरचना समाजशास्त्रीय तथा नृशास्त्रीय अध्ययनका निम्ति उत्तिकै रहरलाग्दो एवं नवीन विषय बन्न सक्छ । 

आफ्नै विशेषतायुक्त पोखराको सहरी संस्कृतिका विविध पक्षहरूलाई केस्रा केस्रा गरेर केलाउने हो भने तिनबाट निकै रमाइला र  आश्चर्यलाग्दा निश्कर्षहरू निस्कन सक्छन् ।


यस भूखण्डको निर्माण प्रक्रिया आजभन्दा ५७ करोड वर्षअघि सुरु भई ५० लाख वर्षअघिसम्म कायम रहेको थियो । करिब ७ करोड वर्षअघि हिमालय पर्वत र १ करोड ४० लाख वर्षअघि महाभारत र चुरे पर्वत शृङ्खलाहरू उठान भए । 

भौगर्भिक हलचलको परिणामस्वरुप नेपालका पहाडहरूको उत्थानका बेला ठाउँठाउँमा बनेका खाल्डाहरूमा पानी भरिएर तालहरूको निर्माण भयो । 

यसरी बनेका नेपालका मध्यपहाडी भेगका तालहरूमा पोखरा, काठमाडांै, बनेपा, खोपासी, पाँचखाल आदि उल्लेखनीय मानिन्छन् । 

यही कारणले पोखरा उपत्यकामा त्यसबेला बन्न गएको ताललाई ‘प्राचीन पोखरा ताल’ पनि भन्ने गरिएको हो ।  

यसरी हेर्दा पोखरा सहरको नामकरण प्राचीन अस्तित्वमा रहेको त्यही विशाल जलाशय वा पोखरीको प्रसङ्गसँग गाँसिएको तर्क अधिक सान्दर्भिक लाग्छ । 

नदी प्रवाहको कटान तथा भूस्खलनको परिणामले भीमाद क्षेत्रबाट प्राचीन पोखरा तालको पानी प्रवाहित भै बाहिर निकास हुन थालेपछि पोखरा उपत्यका क्रमशः अस्तित्वमा आएको थियो ।  


अन्नपूर्ण तथा माछापुच्छ्रेजस्ता सुन्दर हिमशृङ्खलालाई आफ्नो काखमा राखेर बसेको पोखरा उपत्यकाको वर्तमान भूसतहको निर्माणमा ती हिमशृङ्खलासँग गाँसिएका भौगर्भिक परिघटनाहरू जिम्मेवार छन् । 

यस उपत्यकाको विभिन्न भागको भूसतहमा भीमकाय ढुंगाहरू (वाउल्डर) को उपस्थितिको रहस्य खोतल्ने क्रममा ती भौगर्भिक परिघटनाको सूचना प्राप्त भएको हो । 

एक लोक आख्यानले भन्छ – महाभारतका भीमसेनले माछापुच्छ्रेबाट यी विशाल ढुंगाहरू ठेलो हान्दा पोखरा उपत्यकामा आइपुगेका थिए । पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको यस्तै एक विशाल ढुंगा समयक्रममा भीमकालीको रूपमा मानिसद्वारा पुजिन थाल्यो र यही ढुंगाको नामबाट त्यस क्षेत्रलाई ‘भीमकाली पाटन’ पनि भन्न थालियो । 

यस लोककथामा अन्तर्निहित संकेतलाई पछिका भौगर्भिक अध्ययनले पनि सत्य साबित गरिदिनु कम अश्चर्यलाग्दो छैन । 

वास्तवमा आजभन्दा १० हजार वर्षअघि पहिलोपल्ट र ७०० वषअघि दोस्रोपल्ट माछापुच्छ्रे/अन्नपूर्ण क्षेत्रको हिमताल विस्फोट हुँदा त्यसले बगाएर ल्याएका ढुंगा, बालुवा, कंकण माटो आदिसँगै यी भीमकाय ढुंगा पनि पोखरा उपत्यकामा थुप्रिन आइपुगेका थिए । 

यिनै भौगर्भिक हलचलबाट पोखरा उपत्यकाको वर्तमान भौतिक संरचना निर्माण भएको हो भन्ने भूगर्भिविद्हरूको अध्ययनको निष्कर्ष रहेको छ । 

तर, पोखरा उपत्यकाको वर्तमान भूसतहको वास्तविक कालक्रम कुन हो भन्ने सम्बन्धमा अझै गहन अध्ययन र अनुसन्धानको खाँचो देखिन्छ ।


आरम्भिक गतिविधि

पोखरा उपत्यकामा मानवीय गतिविधिको सुरु मध्यकालमा भएको थियो । 

ईटालीका प्रोफेसर जि. टुचीका अनुसार पोखराका विभिन्न स्थानमा निर्मित मन्दिरका वास्तुकला तथा मूर्तिकलाहरू त्यति पुराना देखिँदैनन् जसका आधारमा पोखरा सहरको उद्भव आजभन्दा लगभग ४०० वर्ष पहिले भएको अनुमान गर्न सकिन्छ । 

मध्यकालमा नेपालका अधिकांश मानव बस्तीहरू सामरिक महत्त्व र सुरक्षाका दृष्टिले पहाडी थुम्कामा रहेका गढ वा किल्ला (कोट) का वरिपरि केन्द्रित हुन्थे । 

विभिन्न भुरे, टाकुरे राजारजौटाका बीचमा निरन्तर भइरहने युद्ध आक्रमणले गर्दा मानव बस्तीका निम्ति समथर भूमि वा उपत्यकाको त्यसबेला उति महत्त्व थिएन । 

त्यसैले मध्यकालभर नै पोखरा उपत्यका मानव बस्तीविहीन रहेको हुनुपर्छ ।  सामरिक दृष्टिले कमजोर, औलोको प्रकोप र खानेपानीको अभावका कारणले निकै लामो समयसम्म पोखरा उपत्यकाले मानव बसोवासलाई आकर्षित गर्न सकेन । 

तर धेरै पहिलेदेखि पोखरा सेरोफेरोका पाखाहरूमा बसोवास गर्दैआएका मानिसहरूका निम्ति यो समथर भूमि आकर्षणको केन्द्र बन्दै गयो । 

पोखरा उपत्यकामा सर्वप्रथम पाइला राख्ने मानिसहरू व्यावसायिक जातीय समुदायका श्रमजीवीहरू नै थिए । 

उनीहरू दिउँसो तल ओर्लिएर काँसको झाडी फाँड्दै खेतीयोग्य जमिन तयार पार्ने र साँझ पर्नुअघि नै माथि उक्लने गर्न थालेका थिए । 

रातमा सक्रिय हुने लामखुट्टेको टोकाइबाट लाग्नसक्ने औलोको प्रकोपबाट बच्न यसो गर्नु आवश्यक थियो । यस प्रकारको आरम्भिक मानवीय गतिविधिबाट क्रमशः यस उपत्यकाको समथर क्षेत्र आवादीका निम्ति अनुकूल बन्दै गयो । 


मानव बस्तीको सुरु

पन्ध्रौं शताब्दीमा आएर मिचा खानका सातौं पुस्ताका कुलमण्डन शाह (जगती खान) ले पोखरा भेगका ९ घले गुरुङहरूको राज्य जितेर कास्कीकोट अधिनस्थ ९–९ मुखिया जिम्मावालको झुत्तामा बाँधिदिए । 

जगती खानकै पालामा सर्वप्रथम पोखरा उपत्यकाको उत्तरी कुनामा रहेको बाटुलेचौर कास्की राज्यको शीतकालीन राजधानीको रूपमा देखा पर्‍यो । 

यस घटनाक्रमबाट पोखरा उपत्यका र यसको सेरोफेरोमा आरम्भिक मानव वसोवासको सुरु त्यसैबेलादेखि भएको संकेत पाइन्छ । 

बाटुलेचौरमा शीतकालीन दरबारको स्थापनाले त्यस क्षेत्रमा आउने नवआगन्तुकमा स्वभावतः क्षेत्री समुदायका शासक खलकका मानिसहरूको बाहुल्य रह्यो । 

पछि कोट मौलोमा पूजा व्यवस्थाका लागि ब्राह्मण तथा गाइने  र व्यावसायिक जातीय समुदायका मानिसलाई पनि बाटुलेचौर दरबारले आकर्षित गर्‍यो । 

विश्वास के गरिन्छ भने जगती खानले नै जुम्लाबाट झिकाएका पण्डित निलाम्वर पराजुलीलाई पुजारीको काम गर्नेगरी पोखरा उपत्यकाको केही जमिन बिर्ताको रूपमा दिएका थिए । 

विन्धवासिनी वरपर ब्राह्मण बस्तीको विकास हुनाको कारण पनि यही नै थियो । 

समय र परिस्थिति अनुकूल बन्दै गएपछि उपत्यकातर्फ फैलिएका पहाडी पाखाहरूमा बस्ने मानिसहरूको बढ्दो स्थानान्तरणले लामाचौर, बिरुवा, विन्धवासिनी वरपरका पराजुलीथर, रेग्मीथर, परस्याङ, माँसवार, बैदाम, ढाँड, फूलवारी, कुँडहर, सिग्देलथर, मजेरीपाटन, चुरेटापाटनको मियाबस्ती आदि देखा पर्दै गए । 

नेवारः सहरी संस्कृतिको सूत्रधार

अठारौं शताब्दीमा आएपछि पोखरामा दूरगामी प्रभाव पार्ने केही महत्त्वपूर्ण गतिविधि देखा परे । 

समयको यही सेरोफेरोमा बन्दव्यापार र शिल्प कारिगरीमा कुशल नेवारहरू बाइसीचौबिसी राजाहरूको आग्रहमा काठमाडौं उपत्यका बाहिर छरिन थालेका थिए ।

गोरखा राज्यमा भने केही पहिले नै (राम शाहको समय सन् १६०९ तिर) काठमाडौं उपत्यकाका नेवारहरू पुगिसकेका थिए । वास्तवमा १७औं शताब्दीदेखि नै व्यापार र कला कौशलको क्षेत्रमा नेवार समुदायको ख्याति काठमाडौं उपत्यका बाहिरसमेत फैलिसकेको थियो । 

भनिन्छ, नेपालका पहाडी भेगका प्रायः सबैजसो बजार बस्तीको स्थापना र विकासमा नेवार समुदायकै योगदान रह्यो । 

पोखराका सन्दर्भमा कास्की राज्यका अन्तिम राजा सिद्धिनारायण शाहको समयताक (सन् १७५२ तिर) सर्वप्रथम यहाँ भादगाउँले नेवारहरूको आगमन भएको विश्वास गरिन्छ । 

तत्कालीन कास्कीका शासकले नेवारहरूलाई कुँडहर र अर्घौं पौवामा केही जमिन बिर्ता पनि दिएका थिए । 

अठारौं शताब्दीको उत्तरार्धदेखि विशेषतः नेपालको राजनीतिक एकीकरणपश्चात् मुलुकमा देखापर्दै गएको स्थिरता र प्रशासनिक बन्दोबस्तले गर्दा पोखराजस्ता ठाउँहरूको महत्त्व बढ्दै जानु स्वाभाविकै थियो । 

व्यापारको सुनिश्चितता, स्थानान्तरणमा सहजता र सुरक्षा बढ्दै गएपछि पोखरामा नेवार समुदायको आगमनमा तीव्रता आयो । नेवार व्यवसायीहरूको उपस्थितिले पोखराका परम्परागत हटियाहरू स्थायी बजार बस्तीको रूपमा विकसित भए । 

नागर जीवनको दैनिक आवश्यकता परिपूर्ति गर्ने क्रममा केस काट्ने (नापित), सरसफाइका निम्ति कुचीकार (पोडे), कपडा धुने (धोबी) तथा मासुपसले (कसाई) जस्ता व्यावसायिक जातीय समुदाय पनि नेवारी समाज र संस्कृतिको उपजका रूपमा क्रमशः अस्तित्वमा आए । 

पोखराको आरम्भिक नेवार बस्ती २६ घर परिवारको भएकोले त्यसलाई  “छब्बीस कुरिया” पनि भन्ने गरिन्थ्यो । 

नेवारी बिशेषता बोकेको बजार बस्तीको संरचना, घर निर्माणको नेवारी शैली, टोलहरूको नामकरण तथा हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न मन्दिरहरूको प्रतिष्ठापनमा यहाँ आएका नेवारहरूले महत्त्वपूर्ण योगदान पु¥याए । 


केन्द्रवर्ती बजार क्षेत्रको रूपमा भैरवटोल र भीमसेन टोल रहे भने अन्य नेवार टोलहरूमा नालामुख, बगालेटोल, मोहोरियाटोल, रामकृष्णटोल, सिंहनाथटोल, तेर्सापट्टि, रानीपौवा आदी प्रमुख थिए । 

सन् १८९९मा पोखराको भ्रमण गर्ने पहिलो जापानी विदेशी यात्री कावागुचीको भनाइअनुसार त्यसबेला पोखरा एक सुन्दर र आकर्षक गाउँघरको सहर तथा नेपालभरमा हरेक चिज सस्तो पाइने ठाउँको रूपमा प्रख्यात भइसकेको थियो ।

पोखरामा नेवारहरूको आगमनसँगै उनीहरूका आफ्नै जातीय विशिष्टताका अनेकौं नृत्य परम्परा, जात्रा र पर्वहरू पोखराको सहरी संस्कृतिको आधारशीलाका रूपमा स्थापित भए । 

नेवारहरूको ऐतिहासिक पृष्ठभूमिसमेत बोकेको भैरव नाचको विशिष्ट परम्पराले पोखरामा पनि प्रवेश पायो ।  हिन्दु र बौद्ध सम्प्रदायमा विभाजित नेवार समुदायका आआफ्नै पर्व र  परम्परा पोखराको संस्कृतिमा घुलमिल भए । 

नेवार समुदायका यी सांस्कृतिक संपदाहरू यस भेगका धेरै मानिसका निम्ति बेग्लै आकर्षण तथा सामाजिक अन्तरक्रियाका राम्रो माध्यम बने । 

बहुजातीय सम्पर्क विस्तार

उत्तर र दक्षिणका उत्पादनहरू ओसारपसार गर्ने व्यापारिक मार्गमा पर्ने पोखरामा बढ्दो व्यापारिक एवं सांस्कृतिक गतिविधिले एकातिर बहुजातीय सामाजिक सांस्कृतिक सम्पर्क बढायो भने अर्कोतिर सहरीकरणको प्रक्रियालाई तीव्र बनाउन पनि मद्दत पुर्‍यायो ।

उच्च पहाडी भेगका आदिवासी समुदायका मानिसहरूका निम्ति पोखरा नयाँ संस्कृति प्रसारणको सन्निकट केन्द्रस्थल भएर देखा पर्‍यो । 

हिमाली क्षेत्रको टुकुचे र तराई क्षेत्रको बुटवलबीच प्रमुख व्यापारिक सम्पर्क स्थलको रूपमा पोखराको विकास भएकोले मध्यपहाडी भेगको संस्कृतिसित हिमाली र तराई संस्कृतिको समेत सम्पर्क हुन थाल्यो । 

यसैक्रममा हिमाली क्षेत्रका व्यापारी समुदाय थकालीहरू पनि सन् १८४६ तिर पोखरामा झरे र व्यापारिक गतिविधिमा संलग्न हुन थाले । 

वर्तमान समयसम्म कुनै न कुनै रूपमा प्रचलनमा रहेको ‘ढिकुटी प्रथा’ पोखरामा सर्वप्रथम थकालीहरूले नै भित्र्याएका थिए जुन प्रथा आफ्नो समुदायका कुनै परिवार वा व्यक्तिको खाँचो टार्ने र कुनै काममा लगानी गर्न सजिलो पार्ने उद्देश्यले थाकखोला क्षेत्रमा थकालीहरूले सूत्रपात गरेका थिए ।

ढिकुटी प्रथा पोखराका अन्य समुदायहरूले पनि अवलम्बन गरे । समयक्रममा व्यापारिक प्रतिस्पर्धामा मात्र नभएर सामाजिक र राजनीतिक क्षेत्रमा समेत थकालीहरूले पोखरामा आफ्नो प्रभावशाली उपस्थिति देखाए । 

आफ्नै किसिमको कबिला परम्परा र संस्कृतिमा हुर्किएको यो समुदायमा सांस्कृतिक रूपान्तरणको प्रक्रिया कति तीव्र रह्यो भने उनीहरू पछि लामा धर्म हँुदै हिन्दु धर्मबाट समेत चाँडै प्रभावित हुन पुगे ।

राणाकालमा आएर पोखरामा एक अर्को आधारभूत सुविधा थपियो । 

पोखरास्थित तत्कालीन सैनिक कमान्डर बबर शमसेरको तत्परतामा सन् १९२० मा पहिलोपल्ट पोखरा बजार क्षेत्रमा १४ वटा धाराको व्यवस्था गरी पाइपबाट पानी वितरणको आधुनिक प्रणाली स्थापित गरियो । 

आफ्नो १४ वर्षीय छोरा बालनरसिंहको अकस्मात मृत्युपश्चात् उनको स्मृतिमा ती धाराहरू निर्माण गरिएकाले छोराको नामबाट  ‘बालधारा’ भनी तिनको नामकरण गरिएको थियो । 

पचासको दशकयता मुलुकमा देखापरेको परिवर्तनको लहरले पोखरालाई पनि प्रभाव पार्‍यो । 

राणा शासनको अन्त्य र प्रजातन्त्र प्राप्तिपछि वाहिरी विश्वसँगको सम्पर्कले नेपाली समाजको दृष्टिकोणमा केही सकरात्मक परिवर्तनहरू देखा पर्न थाले । 

सन् १९५२ मा काठमाडौं–पोखरा हवाई सेवाको सुरुआतले पोखरालाई राजधानीको नजिक पु¥यायो । 

अब विदेशी पर्यटकहरूको निम्ति पनि पोखरा दुर्गम रहेन । 

हवाई यातायातको सुविधाले पोखरालाई एक अत्यन्तै लोकप्रिय प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा स्थापित गर्न मद्दत पुर्‍यायो । 

डा. हर्क गुरुङका अनुसार पोखरामा विकासको उल्टो गति अर्थात् पहिले हवाई जहाज (१९५२), त्यसपछि जिप (१९५७) र सबभन्दा  पछि  गोरु गाडा  (१९६१) देखियो ।


पहाडी जनजातिको प्रभाव

साठीको दशकमा आएर पोखरा उपत्यकामा औलो उन्मूलन भएपछि तथा सेवामूलक विविध संरचनाहरू बढेपछि पोखराको सेरोफेरोमा रहेका धेरै मानिसहरू यसतर्फ आकर्षित हुन थाले । 

पोखरामा मानिसहरूको बढ्दो चापको अर्को कारण पहाडी भेगमा यस अवधिमा भएको जनसंख्याको अत्यधिक वृद्धि पनि थियो । 

यस भेगमा लामो इतिहास र परम्परा भएका गुरुङ समुदायका मानिसहरूको ठूलो संख्या यसै अवधिमा पोखरामा ओर्लियो र उनीहरू स्थायीरूपले यहाँ बसोवास गर्न थाले । 

विदेशी पल्टनबाट फर्केका पूर्वसैनिकहरूको चिन्तन र जीवनशैलीमा आएको परिवर्तनले आफ्नो समुदायलाई गाउँबाट पोखरामा स्थानान्तरण गराउन ठूलो भूमिका खेल्यो । 

शिक्षाको महत्त्व बुझेर विदेशबाट फर्केका लाहुरेहरूले आफ्नो भावी सन्ततिको शिक्षादीक्षाका निम्ति गाउँबाट पोखरा सर्नुपर्ने आवश्यकता महसुस गरे । 

गुरुङ समुदायको यो स्थानान्तरणको प्रक्रिया यति तीव्र रह्यो कि छोटो अवधिमै उनीहरू पोखरामा प्रभावशाली समूहको रूपमा स्थापित हुन सफल भए । 

झन्डै यस्तै पृष्ठभूमि भएको मगर समुदायले पनि पोखरामा आफ्नो उपस्थिति देखायो । 

गुरुङ, मगर तथा अन्य जनजातीय समुदायहरूको पोखरामा स्थानान्तरण भएपछि  लामो इतिहास र परम्परामा आधारित उनीहरूको आफ्नै विशेषतायुक्त जनजातीय संस्कृति पनि पोखरामा भित्रियो । 

पाश्चात्य शैलीका आधुनिक घरहरू, आधुनिक वस्त्रआभूषण र मनोरञ्जनका साधनहरू, आधुनिक जीवनशैलीको प्रस्तुतिसँगै पोखरामा सहरीकरणको द्र्रूततर विकासमा यस समुदायका लाहुरेहरूको उपस्थिति महत्त्वपूर्ण साबित भयो । यसप्रकार पोखरा विविध जातीय–जनजातीय संस्कृतिहरूको एक ‘जीवित संग्रहालय’ को रूपमा रूपान्तरित हुन पुग्यो ।


संस्कृतिको स्वरूप

पोखराको संस्कृति कुनै एक जाति वा वर्ग विशेषको मात्र देन होइन । यसको सांस्कृतिक संरचनामा विभिन्न जाति जनजातिको योगदान रहेको छ । 

पोखराको सहरी संस्कृतिको उद्भव र विकासमा मूलतः तीन किसिमका राजनीतिक, सामाजिक एवं आर्थिक शक्तिहरूको भूमिका दृष्टिगोचर हुन्छ । 

पहिलो चरणमा यस उपत्यकामा आफ्नो उपस्थिति देखाउने समुदायहरू तत्कालीन राज्यद्वारा संरक्षित क्षत्री, ब्राह्मण तथा व्यावसायिक जातीय समूहका मानिसहरू थिए जसले सर्वप्रथम यहाँ कृषिमा आधारित ‘ग्रामीण संस्कृति’ सूत्रपात गरे । 

यसका अवशेषका रूपमा पोखराका कतिपय स्थानहरूमा अझै पनि पशुपालन र खेतीपातीमै जीवन निर्वाह गरिरहेका समुदायहरू अस्तित्वमा छन् । 

केही वर्ष अघिसम्म पनि बैदाम क्षेत्रमा राता माटाले लिपिएका घुमाउने घरहरू थिए जो प्राचीन ग्रामीण घरको आदिम स्वरूपको एक जीवन्त प्रमाण थियो । 

ग्रामीण जीवन शैलीलाई झल्काउने ढिकीजाँतो, मकैका थाँक्रा, गाईगोठ, पराले टौवा आदि आजसम्म  पनि पोखराका कतिपय ठाउँहरूमा देख्न सकिन्छ । 

कृषिजन्य चाडपर्वहरू तथा हिन्दु धर्म र दर्शनबाट प्रभावित अनेकौं सांस्कृतिक क्रियाकलापले ग्रामीण संस्कृतिको झझल्को दिइरहेकै छन् । 

दोस्रो चरणमा देखापरेको  पोखराको संस्कृतिको अर्को महत्त्वपूर्ण पाटो यहाँको ‘नागर संस्कृति’ हो । 

काठमाडौं उपत्यकाबाट यहाँ स्थानान्तरण भएका नेवार समुदायको व्यापारिक एवं सांस्कृतिक गतिविधिले यहाँको नागर संस्कृतिको आधारशीला तयार पारेको हो । 

व्यापार व्यवसायमा आधारित यो संस्कृति झल्काउने दोहोरी लाइनका घरहरू, टोलटोलमा विभाजित बस्ती, पाका इँटाले बनेका छुट्टै वास्तुशैलीका घर तथा मन्दिरहरू, हिन्दु एवं बौद्ध परम्पराका अनेकांै जात्रा तथा पर्वहरू यस संस्कृतिका प्रमाण हुन् । 

तेस्रो चरणमा विकसित पोखराको संस्कृतिको अर्को उत्तिकै महत्त्वपूर्ण पक्ष लामो परम्परामा आधारित ‘जनजातीय संस्कृति’ हो जसको प्रतिनिधित्व पोखरा आसपासका पहाडी भेगबाट पोखरा झरेका गुरुङ, मगर, तामाङ,  थकाली आदि  समुदायले गरेका छन् । 

थकालीबाहेक अन्य जनजातिहरूमा आफ्नै क्षेत्रगत तथा जातिगत समुदाय खोजेर बस्ने प्रवृत्ति तथा लामा बौद्ध धर्म र परम्परागत झाँक्रीवादमा आधारित संस्कारले यस संस्कृतिको अलग पहिचान दिइरहेकै छ । 

यस प्रकार नागर, ग्रामीण तथा पहाडी भेगका गरी तीनवटा सांस्कृतिक धरोहरहरू पोखराको सांस्कृतिक धरातलमा उभिएका देखिन्छन् । 

यी तीनथरी सांस्कृतिक समूहहरूको आआफ्नै लामो इतिहास र परम्परा भएकोले यी एक अर्कामा सहजरूपमा विलीन नभएर छुट्टाछुट्टै पहिचानसहित सामान्य प्रभाव, प्रतिस्पर्धा, अन्तरसम्बन्ध र परिवर्तनका लहरहरूमा हेलिदै एकै ठाउँ प्रवाहित भइरहेको पाइनु पोखराको संस्कृतिको रमाइलो विशेषता नै मान्नुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro