site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविका सहयोगी को हुन्, जसले रास्वपाबाट मन्त्री बन्नेसँग पैसा असुल्छन् ?

काठमाडौं । सुशासन र राजनीतिक सुधारको नारा दिएर गत निर्वाचनबाट आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मेडिकल व्यवसायीसँग पैसा ‘डिल’ गर्दै गरेको ‘अडियो टेप’ सार्वजनिक भएको छ । सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न साढे दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएको हो ।

सार्वजनिक अडियो टेपअनुसार अघिल्लो दिन अर्थात पुस मसान्तको साँझ सांसद ढाकाकुमारले प्रसाईंसँग पैसा माग्छन् । छोटो कुराकानीमै प्रसाईंले पैसाको व्यवस्थापन गरिदिने आश्वासन दिन्छन् । सँगै, उनले डा. तोसिमा कार्कीले माग्दा नदिए पनि अरुले माग्दा मेडिकल व्यवसायीले पैसा दिने आश्वासन दिन्छन् । सांसद श्रेष्ठले तोसिमामन्त्री बनेर काम पनि नभएको बताउँछन् ।

कपुरबोट मिडिया नामक फेसबुक पेजमा सार्वजनिक भएको अडियोअनुसार श्रेष्ठले आफूलाई स्वास्थ्यमन्त्री दिने निश्चित भएको भन्दै रविको ‘कोर’ टिमलाई पैसा बुझाउनुपर्ने बाध्यता सुनाउँछन् ।

Dabur Nepal
NIC Asia

भोलिपल्ट बिहान प्रसाईं आफैले ढाकाकुमारलाई फोन गर्छन् । र, डिटेल कुरा बताउन आग्रह गर्छन् । त्यसपछि ढाकाकुमारले बेलिबिस्तारमा प्रसाईंंलाई सुनाउँछन् ।

“हामीले स्वास्थ्य पाउने भयो । मलाई साढे दुई जति चाहियो भनेका छन् । मेरो पक्का चाहिँ भयो । आज मैले फिक्स गर्नु छ क्या सर । म फेरि आर्थिकमा त्यतिसारो ऊ छैन । मन्त्री पनि बन्नुपर्यो । अब यो स्वास्थ्य क्षेत्रलाई पूरै धोइपखाली र सुधार पनि गर्नुपर्यो । मैले धेरै सुधार पनि गर्छु, त्यसमा हजुरहरुको सहयोग, सपोर्ट चाहियो भन्ने कुरा हो क्या,” ढाकाकुमारले भन्छन् ।

त्यसपछि प्रसाईंले रास्वपामा डाक्टर भनेको तोसिमा कार्की मात्रै भनेर बुझेको रहेछु भन्छन् । जवाफमा ढाकाकुमारले तीनजना डाक्टर भएको बताउँछन् । कुराकानीमा दुईजनाबीच राम्रो चिनजानसमेत नरहेको भान हुन्छ ।

“म, तोसिमा र डा. चन्दा कार्की छौँ । चन्दालाई त चिन्नुहुन्छ होला,” ढाकाकुमारले भन्छन् । त्यसो भनेपछि प्रसाईंले उनको घर सोध्छन् । ढाकाकुमारले पोखरा भएको बताउँछन् । पढाइ कहाँ भनेर सोध्छन् । उनले चीनबाट एमबीबीएस गरेको बताउँछन् । त्यसपछि एमडी पनि नगरेको जानकारी दिन्छन् ।

त्यसपछि प्रसाईंले डा ढाकाकुमारलाई पढाउन थाल्छन् ।

“हेर्नुस् है डाक्साब ! मेडिकल क्षेत्रमा धेरै समस्या छन् । देशमा भएका नर्सिङ कलेज सबै बन्द गराए । अहिले नर्सिङ पढ्न पाउँदैनन्,” प्रसाईंले भनेका छन्, “दुबईका डान्स बारमा नेपाली चेली पठाउनुभन्दा नर्स पढाउँ । मैले त डाक्टर उत्पादन गरौं, बरु सयवटा मेडिकल कलेज खोलौँ । विदेशबाट एमबीबीएस पढ्ने विद्यार्थी ल्याउँ, स्वास्थ्य निःशुल्क गरौं, भनेको हुँ नि होइन त !” त्यसो भन्दा ढाकाकुमार ‘हो नि !’ भन्दै स्वीकृति जनाउँछन् ।

त्यसपछि ह्वाट्सएपमा भएको भन्दै प्रसाईंले ढाकाकुमारलाई अस्वस्त पार्दै पार्टीभित्रको कुरा सोध्न थाल्छन् । र, रास्वपाका अरु नेताहरुसँग पनि आफ्नो कुरा हुने गरेको भेद खोल्छन् ।

“अनि मुकुलहरुले त नलिने भयौँ भन्थे त स्वास्थ्य र शिक्षा ?,” प्रसाईंले सोध्छन् । जवाफमा ढाकाकुमारले मुकुललाई पनि धेरै कुरा थाहा नहुने बताउँछन् ।

“मुकुलजीलाई पनि थाहा छैन सबै कुरा । मुकुलजी पनि कोर टिममा छैनन् क्या । बाहिर त महामन्त्री नै हो,” ढाकाकुमारले भन्छन्, “पार्टीको कुरा गर्दा दुई/तीनजना छुट्टै हुनुुहुन्छ, सुरुआती क्षणदेखि नै सहयोग गर्ने रवि सरलार्ई ।” उनले त्यही टिमबाट आफूलाई कुरा आएको भन्दै त्यही दिन पैसाको कुरा ‘फिक्स’ गर्नुपर्ने बाध्यता सुनाउँछन् ।

“त्यही टिमबाट मलाई कुरा आएको हो । फेरि उधारो हुँदैन भन्छन्,” ढाकाकुमारले भन्छन् । त्यसपछि प्रसाईंंले साढे दुई करोडको कुरा ठूलो नभएको बताउँछन् । त्यसपछि उनले आजको आजै भने पैसा नहुने बताउँछन् ।

“आज बन्द छ नि ! नौ लाख ९९ हजारभन्दा माथिको चेक साटिँदैन । अलिकति टाइम राखेर गर्ने हो भने म सहयोग गर्छु । भोलि मेरो काम गर्नुपर्छ तपाईंँले,” प्रसाईंंले भन्छन् । त्यसपछि कामको चिन्ता नगर्न ढाकाकुमारले आश्वस्त पार्न डा. गोविन्द केसीलाई गाली गर्छन् ।

“कामको त चिन्तै नगर्नुस् न सर,” आश्वस्त पार्दै ढाकाकुमार भन्छन्, “दिक्क भाछ के यो गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो भाछ मलाई त ! यो पूरै जेनेरेसन एमबीबीएस पढ्न नपाएको पनि त्यसैले गर्दा हो ।” 

उनको भनाइमा समर्थन जनाउँदै प्रसाईंंले आफ्नी छोरीलाई पनि एमडी पढाउन तीन करोड खर्चिएर जापान पठाउनुपरेको सुनाउँछन् । र, डा. केसीकै कारण आफ्ने मेडिकल कलेज चलाउन नपाएको बताउँछन् ।

“म त कति मरिरछु भन्नुस् त ! भौतिक पूर्वाधार पुगेको, काठमाडौं उपत्यकाबाहिर मेची अञ्चलमा ३२ लाख ‘पपुलेसन’ छ, म त डुबेको छु कि छैन लु भन्नुस् त,” प्रसाईंले भन्छन् ।

त्यसपछि ढाकाकुमारले उनलाई समर्थन जनाउँदै यस्तो विकृति हटाउनुपर्ने बताउँछन् । भन्छन्, “त्यही त, यसलाई हटाउनुपर्छ । तपाईंको समस्या पनि समाधान गर्नुपर्छ ।”

त्यसपछि प्रसाईंले ढाकाकुमारलाई भाइ भनेर सम्बोधन गर्न थाल्छन् ।

“अनि शिक्षा चाहिँ कसले लिनेभयो भाइ ?,” प्रसाईंको प्रश्नमा ढाकाकुमार भन्छन्, “शिक्षा हामीलाई परेन जस्तो छ सर ।” त्यसपछि शिक्षा चाहिँ हजुरबुबा (केपी अ‍ोली)ले राखे होलान् भन्दै प्रश्न गर्छन् ।

“सायद राखेको हुन सक्छ,” ढाकाकुमारले भन्छन् ।

त्यसपछि प्रसाईंले अर्कोतिर कुरा मोड्छन् ।

“यसपालि मलाई एफिलिएसन दिनुछ नि हजुरबुबा (केपी शर्मा ओली)ले !,” प्रसाईं भन्छन्, “किनभने काठमाडौं युनिभर्सिटिले एफिलिएसन दिएको छ । सिट मात्रै तोकिदिएको छैन । त्यो त नारायणकाजी श्रेष्ठको मान्छे हो नि त गिरिराज ... त्यो गिरी । पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्यो ।” 

त्यसपछि ढाकाकुमार ‘ए ! हजुर हजुर’ भन्दै कुरा अघि बढाउँछन् । ढाकाकुमारले काम मिलेर गर्नेमा निश्चिन्त हुन आग्रह गर्छन् । “अब निश्चिन्त हुनुस्, तपाईं म मिलेर काम गर्ने हो,” ढाकाकुमारले भन्छन् ।

त्यसपछि प्रसाईंले केपी ओली आउने कार्यक्रम भएकाले त्यस दिन काठमाडौं आउन नसक्ने र भोलि अर्को दिन मात्र काठमाडौं आउने बताउँछन् ।

“अब हेर्नुस् आज त बन्द भयो, यसै चेक साटिँदैन । केपी ओली झापा आउँदै हुनुहुन्छ । भोलि हजुरबासँगै म काठमाडौं आउँछु । त्यसपछि म तपाईं भेटौँला । त्यसपछि म तपाईंंलाई सहयोग गर्छु,” प्रसाईंले भन्छन् ।

“तर, अलिकति टाइम लाग्छ है, पैसा मिलाएर निकाल्नु पर्छ । त्यत्तिकै निस्कँदैन,” प्रसाईंले भन्छन्, “बैकले जम्मै सिस्टम खोज्छ, त्यति सजिलै हुँदैन । सिधै बाकसमा पैसा लिएर त गाह्रो छ । कुरा बुझ्नुभयो नि ! त्यो त कसैले गर्न सक्दैन आजको आजै, नेपालमा कसैले सक्दैन ।”

ढाकुमारले ‘हजुरलाई त साह्रै गाह्रो छ होला है विचरा’ भन्छन् । “गाह्रो छ नि ! यो पुस मसान्तको ब्याज बुझाएँ । यो स्वास्थ्य बिमाले १४/१५ कडोर रुपैयाँ अझै दिएकै छैन, अढाइ वर्षदेखि,” प्रसाईंले भन्छन् । 

“बिमा पनि अहिले नेपालमा १२ अर्बको चाहिँ लगानी हुँदो रहेछ,” ढाकाकुमार भन्छन्, “बिमा सबैतिर लागु गर्नुपर्ने भाछ ।”

“बिमा कसरी लागु गर्ने त्यो म तपाईंंलाई भन्दिन्छु । दुई करोड रुपैयाँ मैले दिने भए तपाईंंलाई, यो पैसा तपाईंंले रविलाई त बुझाउने होला नि होइन ?,” प्रसाईंले प्रश्न गर्छन् । 

“अँ, मैले रवि सरलाई भन्दा पनि उहाँ देखा पर्नुभएको त छैन । दुई/तीनजना साथीहरु हुनुहुन्छ उहाँको । पार्टीलाई नै जान्छ भनेका छन् क्यारे,” ढाकाकुमारले भन्छन्, “कसरी गर्छन् थाहा छैन । पार्टीमा जान्छ कि जाँदैन भन्ने पनि थाहा छैन । पार्टी कमजोर छ, अहिलेको अवस्थामा गाह्रो छ ।” त्यसपछि प्रसाईंले माघ २ वा तीन गते भेट्ने वचन दिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro