site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब ओलीको चर्को आलोचना भयो...
केपी ओली । फाइल तस्बिर ।

पोखरा । नेकपा (एमाले)को दुईमहिने ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत शनिबार मुस्ताङमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरियो । यतिसम्म कि एमाले मुस्ताङकै पदाधिकारीले ‘ओलीले अभिव्यक्ति नसच्याए ग्रासरुट कार्यक्रम नै बहिष्कार गर्ने’ चेतावनी दिए ।

हिमालपारिको जिल्ला मुस्ताङमा शनिबारदेखि ग्रासरुट अभियान सुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले कार्यक्रमको उद्घाटन गरे । त्यहीँ स्थानीय एमालेपंक्ति नेतृत्वको अभिव्यक्तिलाई लिएर आलोचनामा उत्रियो ।

मुस्ताङमा बौद्ध कलेज खोल्ने विषयमा अध्यक्ष ओलीले यसअघि सरकारको कडा आलोचना गर्दै आएका थिए । त्यही बारेमा त्यहाँ असन्तुष्टि जनाइएको हो ।

मुस्ताङमा खोल्ने भनिएको बौद्ध कलेजका विषयमा एक कार्यक्रमका क्रममा ओलीले दिएको अभिव्यक्ति यस्तो थियो–
“मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनमाथिको गद्दारी हो । ०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजेको हो । आफ्नै मुलुकको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वाधीनतालाई अस्वीकार गरेको हो । विश्वविद्यालय बनाउन खोज्या हो र त्यहाँ ? विश्वविद्यालयका नाममा अर्थाेकै गर्न खोजेको हो । विदेशीको खेलमैदान बनाउन खोजेको । त्यसको युरेनियम, त्यसमा ध्यान दिएको । त्यहाँबाट पहिले ०३१ सालमा वाङ्दी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थियो । त्यही कुरा मार्फाको छेउबाट अब लिएर जाने– लोमान्थाङभन्दा माथि । जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय ! भनेको त्यो खास उद्देश्यका ‘पेड’ मान्छेहरू, खास उद्देश्यका मान्छेहरू मात्रै बस्छन् त्यहाँ । यो एउटा बहुतै खतरनाक कुरा हो । यस्ता अनेक कुराहरू छन्, यी हाम्रा कमन कुराहरू हुन । राष्ट्रिय हितका–पक्षका कुराहरू हामीले उठाउनुपर्छ र त्यसका सन्दर्भमा लड्नुपर्छ ।”

उनको यही अभिव्यक्तिप्रति कार्यक्रममा चर्को आलोचना गरियो । ओलीको उक्त अभिव्यक्तिको गण्डकीका पूर्वसांसद इन्द्रधारा ढाडु विष्टले यसअघि नै खण्डन गरेका थिए ।

त्यसबारेमा उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेका छन्, “मेरो अनुरोध अध्यक्ष कमरेडलगायत सबैमा । यो हाम्रो मुस्ताङको आवश्यकता, इतिहासले सुझाएको, हामी सबैले चाहिएको र अहिलेको यो समय हामीले यो परियोजनालाई सफल बनाउन सके त्योअनुसारको विद्वान् व्यक्तित्वहरू समेत हाम्रै क्षेत्रकै व्यक्तित्वहरू तयार रहेको हुँदा सके सहयोग, नसके आँच नपुर्‍याउन र यो विषयलाई राजनीतिक नबनाउन सबैमा अनुरोध गर्दछु ।”

अध्यक्षलाई नै ध्यानाकर्षण गराउँदै उनले थप लेखेका छन्, “साथै, अध्यक्ष कमरेड, तपाईंको राष्ट्रियता भावनालाई सलाम गर्दै अस्ति तपाईंको अभिव्यक्तिले हामीलाई असहज महसुस भइरहेको हुँदा विशेष गरी हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) मुस्ताङको भविष्यमाथि समेत चुनौती थप्ने र प्रश्न उठ्ने भएको हुँदा यसबारे तपाईंको ध्यानाकर्षण गर्न बाध्य भएको छु ।”

adfmg1680408887.jpg

विष्टकै शैलीमा शनिबार लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पनि पार्टी अध्यक्षले अभिव्यक्ति नसच्याए ग्रासरुट कार्यक्रम नै बहिष्कार गर्ने चेतावनी दिए । लोप्साङ एमाले गण्डकीका सदस्य पनि हुन् ।

“केपी शर्मा ओलीले पनि हिउँले मान्छे नै बस्न सक्दैनन्, मान्छे नै नबस्ने ठाउँमा किन विश्वविद्यालय, कलेज चाहियो ? यसमा तर्क चाहिन्छ भनेर बोल्नुभयो,” उनले भने, “म के तर्क दिन्छु भने, युनिभर्सिटी, कलेज भनेको काठमाडौं, पोखरा, जहाँ मान्छेको भीड छ, त्यहीँ मात्र खोल्नुपर्छ भन्ने छैन नि त ! अमेरिकामा बस्ती पनि नभएको ठाउँमा सहरभन्दा धेरै टाढा युनिभर्सिटीहरू छन् । त्यहाँ संसारका विद्यार्थीहरू पढ्छन् । त्यो मोडालिटीमा पनि त हामी जान सक्छौँ नि त !”

संक्षेपमा लोप्साङ छोम्फेल विष्टको थप भनाइ यस्तो थियो–
हाम्रो पार्टीका अध्यक्षले त्यस्तै हाउभाउमा बोल्नुभएको थियो । सामाजिक सञ्जालमा ठूलो तरंग नै आयो । मुस्ताङ भनेको बुद्धिस्ट बस्ने ठाउँ हो । त्यहाँ गुम्बाहरू छ, विद्यार्थी पनि छन् । माध्यमिक तहको शिक्षा त्यहीँ हासिल गर्छन् । थप शिक्षाको लागि भारत र काठमाडौं जानुपर्ने अवस्था छ । हामीले यहाँ दुःख गरेर विद्यार्थीलाई पढाउने, अनि उनीहरूले उच्च शिक्षाको लागि भारत, काठमाडौं र पोखरा जाँदाखेरि त्यो ठाउँको भविष्य हुने भयो । थोरै विद्यार्थी मात्र फर्किन्छन् । धेरैजसो उतै पलायन हुन्छन्, उतै काम गर्छन् ।

हाम्रो सोच कस्तो हो भने, हाम्रो उत्पादन हाम्रै ठाउँमा प्रयोग गरौँ भन्ने हो । शिक्षित मान्छेहरू यही ठाउँमा किन प्रयोग नगर्ने ? यहाँ कलेज खोलेर यही ठाउँमा पढाउन सक्यो भने त उनीहरू मुस्ताङकै भविष्यका लागि काम गर्छन् नि !

अहिले विश्वव्यापी रूपमा बुद्धिष्टहरूलाई मानिसहरूले धेरै विश्वास गर्छन् । यो उहाँले (केपी शर्मा ओली) भनेझैँ निषेधित क्षेत्रमा पर्दैन । जोमसोमदेखि सबैभन्दा नजिकको ठाउँ हो, यो । यहाँ कलेज खोल्न लागिएको हो, विश्वविद्यालय होइन ।

यहाँ शरणार्थीका बच्चाहरू पढाइन्छ भनिएको छ, त्यहाँ पढ्दैनन् । शरणार्थी क्याम्प एउटा मात्रै छ । क्याम्पमा बूढाबूढी मात्रै छन्, योङहरू छैनन्, पलायन भइसके । बालबच्चाहरू भारत र देहरादुनमा पढ्छन् ।

यहाँ पढ्ने भनेको विशुद्ध मुस्ताङीहरू मात्रै हो । वारागुङ र उपल्लो क्षेत्रमा गरेर १०–१२ वटा गुम्बाहरू छ । यी गुम्बामा १००–१२० जना विद्यार्थीहरू छन् । माध्यमिक शिक्षा लिएपछि उनीहरू पछि कि त भारत कि त काठमाडौं जानुपर्छ । त्यसकै लागि भनेर कलेज खोल्ने भनिएको हो ।

यहाँ एउटा बौद्ध कलेज बनाउँदा यहीँकै मान्छेले रोजगार पाउन सक्छ । हाम्रा विद्यार्थी पनि बाहिर जानु पर्दैन । आफ्नै ठाउँमा पढ्ने, बस्ने वातवरण बन्न सक्छ । अहिले बाहिर पढ्न जाँदा गाउँ नै बिर्सिने स्थिति आएको छ ।

सच्चिएन भनेर ग्रासरुटमा गएर काम छैन । ग्रासरुटमा जाने भनेको जनताको समीक्षा लिएर जाने हो । जनताको चाहना, मनमा लागेको कुरा बुझ्ने हो, हामीले बुझाउने हो ।

अब आमजनतामा बुद्धिष्ट धर्ममाथि आक्रमण हो कि सुनियोजित तरिकाले मुस्ताङमा विकास गर्न नदिने मनसाय हो कि भन्ने प्रश्न पनि आउँछन् नि त ! पार्टीबाट राम्रो सुझाव आएन भने यो कार्यक्रममा म बस्दिनँ भनेर भनेको हुँ ।

बाह्रखरीसँगको फोन सम्पर्कमा उनले अनविज्ञताका कारण ओलीले त्यस्तो अभिव्यक्ति दिएको जिकिर गरे । कार्यक्रमै अध्यक्षको चर्को आलोचना भएपछि मुख्यमन्त्री अधिकारीले ओलीसँग फोन संवाद गरेका थिए । ओलीसँग मुख्यमन्त्री अधिकारीले गरेको संवाद ‘लाउड स्पिकर’ लगाएर उपस्थित सबैले सुनेका थिए ।

“यो विषयमा म अनभिज्ञ थिएँ । स्थानीय र गाउँपालिका मिलेर कार्यक्रम अगाडि बढाइएको हो भनेदेखि म पनि त्यहीअनुसारको लबिइङ गर्छु,” ओलीको भनाइ उद्धृत गर्दै विष्टले भने ।

शनिबारै स्थानीय नेताले मुख्यमन्त्री अधिकारीलाई कलेज खोल्ने भनिएको ठाउँ देखाएका छन् । “जुन ठाउँमा कलेज बनाउने हो, त्यो ठाउँ जोमसोमदेखि कति टाढा रहेछ भन्ने देखाउन मुख्यमन्त्रीलाई पनि त्यहाँ लगिएको थियो । लालपुर्जा नभएको जग्गा पनि होइन,” उनले भने ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, फल्याकमा कलेजका लागि छुट्ट्याइएको जग्गाको मुख्यमन्त्रीसहितको टोलीले अवलोकन गरेको थियो । बौद्ध कलेज स्थापना गर्ने भनिएको जग्गा करिब सात घरधुरीको निजी हो । उनीहरूले कलेज खोल्न मुस्ताङ शाक्या बौद्ध संघलाई जग्गादान दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro