
काठमाडौं । १६औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्सले विजयी सुरुआत गरेको छ । शनिबार पन्जाबले कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्दतिअनुसार सात रनले हरायो ।
मोहालीमा टस हारेपछि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा कोलकाताले १६ ओभरमा सात विकेट गुमाएर १४६ रन बनाउँदा वर्षा भयो । त्यसपछि खेल सञ्चालन हुन सकेन र पन्जाबले सात रनको रोमाञ्चक जित दर्ता गर्यो ।
पन्जाबका भानुका राजापाक्षेले ५० रन बनाए । भानुकाले ३२ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान शिखर धवनले ४०, साम करनले २६, प्रभसिम्रन सिंहले २३, जितेश शर्माले २१ र सिकन्दर राजाले १६ रन जोडे ।
कोलकाताका टिम साउदीले दुई विकेट लिए । उमेश यादव, सुनील नारिन र वरुन चक्रवर्तीले समान एक विकेट लिए ।

१९२ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताका आन्द्रे रसेलले ३५ रन बनाए । भेन्कटेस ऐयरले ३४, कप्तान नितिश रानाले २४ र रहमनुल्लाह गुर्बजले २२ रनको योगदान गरे ।
पन्जाबका अर्शदीप सिंहले तीन विकेट लिए । साम करन, नाथन एलिस, सिकन्दर राजा र राहुल चहरले समान एक विकेट लिए ।
जितसँगै दुई अंक जोडेको पन्जाब लिग अंकतालिकाको दोस्रो स्थानमा छ ।