
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट आसन्न उपनिर्वाचनका उमेदवारलाई टिकट प्रदान गरिएको छ । शनिबार काठमाडौंको वसुन्धरास्थित ‘घण्टीघर’मा आयोजित पत्रकार सम्मेलनमा उमेदवारीको टिकट हस्तान्तरण गरिएको हो ।
पार्टी सभापति रवि लामिछानेलाई चितवन क्षेत्र नम्बर–२, डा. स्वर्णिम वाग्लेलाई तनहुँ–१ र रमेश खरेललाई बारा–२ बाट उमेदवार बन्ने गरी टिकट दिइयो । रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उनीहरूलाई उमेदवारीको टिकट दिएका थिए ।
“...हामी तीनै भाइ विजयी भएर तपाईंहरूसमक्ष यो विजयको उल्लास मनाउनको लागि जम्मा हुनेछौँ भन्ने मैले पूर्ण आशा लिएको छु । र, म मेरा दुवै साथीहरूलाई विजयको अग्रिम शुभकामना दिन चाहन्छु । विजयी भवः...,” लामिछानेले पत्रकार सम्मेलनमा भने ।
रास्वपाको चुनाव चिह्न घण्टी हो । केन्द्रीय कार्यालयलाई घण्टीघर नामकरण गरिएको छ ।

शनिबार टिकट पाएका मध्ये लामिछाने गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाटै निर्वाचित भएका थिए । नागरिकता प्रकरणमा उनले सांसद पद गुमाएपछि उपनिर्वाचन हुन लागेको हो ।
यस्तै, अर्थविद् डा. वाग्ले रास्वपाबाट टिकट पक्का गरी पार्टी प्रवेश गरेका हुन् । गएको बिहीबार मात्र उनले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका थिए । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ पनि उपनिर्वाचन हुन लागेको हो ।
खरेल मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौं–१ बाट पराजित भएका थिए । नेपाल प्रहरीका पूर्वडीआईजी उनले त्यति बेला स्वतन्त्र उमेदवारी दिएका थिए । अहिले उनी उमेदवार बन्न लागेको बारा–२ बाट रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । यादव उपराष्ट्रपति बनेपछि त्यहाँ समेत उपनिर्वाचन हुन लागेको हो ।
थप तस्बिर हेर्नोस्–