
बझाङ । बझाङमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगमको ज्यान गएको हो ।
जिल्ला सदरमुकाम चैनपुर जाने पक्की पुलनजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुपप्र०२–००१ख १११९ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएका बोहराको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
उनका अनुसार बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुर्चौडी नगरपालिका–५ का गणेश बोहरालाई नियन्त्रणमा लिइएको छ ।
दुर्घटनापछि घटनास्थल चौडबजार क्षेत्र तनावग्रस्त भएको छ । पीडित परिवार तथा आफन्तले बसचालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् । रासस
