
नेपालले संघीय शासन प्रणाली अँगालेसँगै प्रशासनिक, राजनीतिक र आर्थिक हिसाबले तत्कालीन अवस्थामा सीमित समूहमा केन्द्रित राज्य शक्ति र स्रोत स्थानीय स्तरसम्म विकेन्द्रित भएका छन् | स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएसँगै स्थानीय सरकारहरू नयाँ कार्यकालमा प्रवेश गरेका छन् | तत्कालीन शासन व्यवस्थाको तुलनामा स्थानीय स्तरमा विकास निर्माणका कार्यले गति लिए पनि ग्रामीण क्षेत्रमा बेरोजगारी र गरिबीको अवस्थामा गर्व गर्न लायक परिवर्तन भने आएको छैन | त्यसैका कारण गाउँका युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन् |
ग्रामीण क्षेत्रमा रोजगारका स्रोत सिर्जना गर्न नसक्दा युवालाई गाउँमै रोक्न सकिरहेका छैनौ | विदेशिएका युवालाई स्वदेशमै रोजगार दिने वा व्यवसाय सञ्चालन गर्न प्रभावकारी कार्यक्रम स्थानीय स्तरमै सञ्चालन गर्नसकेका छैनौ |
यसकारणले गाउँमा बस्ने युवा जनसङ्ख्या घट्दा ग्रामीण क्षेत्रको अर्थसामाजिक जनजीवन झन् समस्यातिर धकेलिँदै छ | यसकारण आर्थिक हिसाबले पछाडि परेका ग्रामीण क्षेत्रमा उद्योग कलकारखाना सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै ग्रामीण अर्थतन्त्र सबल बनाउनु अत्यन्तै आवश्यक छ |
राजनीतिक र प्रशासनिक विकेन्द्रीकरणजस्तै ‘ग्रामीण औद्योगीकरण’ ग्रामीण क्षेत्रको आर्थिक रूपान्तरणको निम्ति एउटा महत्त्वपूर्ण अवधारणा र प्रभावकारी माध्यम बन्न सक्छ | यस अवधारणाले मुख्य सहर र व्यापारिक क्षेत्रमा केन्द्रित आर्थिक गतिविधिसँग सम्बन्धित औद्योगिक संरचना, आर्थिक स्रोत, जनशक्ति, कानुनी संरचना, प्रविधि र अन्य कुरालाई ग्रामीण क्षेत्र र आर्थिक हिसाबले कम विकसित ठाउँमा विकेन्द्रित गर्दै सन्तुलित आर्थिक विकास र दिगो ग्रामीण अर्थतन्त्रको निर्माण गर्ने उद्देश्य राख्छ |
ग्रामीण औद्योगीकरणको आवश्यकता
अझै पनि कुल जनसङ्ख्याको सबैभन्दा ठूलो हिस्सा ग्रामीण क्षेत्रमै बसोवास गरिरहेको छ | विश्व बैंकको तथ्यांक (२०२१) अनुसार नेपालमा कुल जनसंख्याको ७९ प्रतिशत जति जनसंख्या ग्रामीण क्षेत्रमा बसोवास गर्छन् | नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रकाशित ‘नेपाल लेबर माइग्रेसन रिपोर्ट, २०२२’ अनुसार सन् २०२१/२२ मा मात्रै ६ लाख ३० हजार जनाले श्रम स्वीकृति लिएको देखिन्छ | यसले नेपालको युवा श्रम शक्ति ठूलो संख्यामा विदेशिइरहेको स्पष्ट देखाउँछ । यसमध्ये पनि ठूलो हिस्सा ग्रामीण क्षेत्रकै युवाको रहेको छ |
गाउँमा धेरैको दैनिक जीवनयापन कृषिमै आधारित छ | कृषि क्षेत्रका विभिन्न समस्याले गर्दा अर्थोपार्जनको दृष्टिले मानिसहरू पूर्णरूपमा कृषिमै भर पर्न सकिरहेका छैनन् | रोजगार सिर्जना गर्ने उद्देश्यले सरकारले अघि सारेका रोजगार कार्यक्रम पनि उद्देश्यअनुरूप प्रभावकारी बन्न सकिरहेका छैनन् | जनसंख्याको ठुलो हिस्सा बोकेको युवा जनशक्ति यति ठूलो संख्यामा विदेशिनुले अर्थतन्त्रमा नकारात्मक असर पुगिरहेको छ | यो संख्या घटाउन ग्रामीण क्षेत्रका युवाको सीप, दक्षता र श्रमको उचित उपयोग हुनेगरी स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ |
स्थानीय स्तरमै उत्पादन गर्न सकिने वस्तु विभिन्न ठाउँबाट आयात भइरहेको देखिन्छ | गाउँमै उद्योगहरू स्थापना गरी सञ्चालन गर्न सके ग्रामीण क्षेत्रमा उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना गर्न सकिन्छ | यसबाट स्थानीय कच्चा पदार्थ, जनशक्ति र श्रमको उपयोग गरी स्थानीय आर्थिक जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्छ | यसकारण संविधानतः विकेन्द्रित राज्य शक्ति र स्रोतको सदुपयोग गर्दै स्थानीयस्तरमा औद्योगिक गतिविधि बढाउनु आवश्यक छ |
ग्रामीण औद्योगीकरण - संघीयता संरक्षणको आधार
राज्य शक्ति र स्रोत स्थानीय स्तरसम्म विकेन्द्रित भए पनि अझै बेरोजगारी, जनशक्ति पलायन, सरकारी ऋण, व्यापार घाटा, गरिबी, भ्रष्टाचार, दण्डहीनता, महंगी रहिरहँदा संघीयताको विषयमा अनेक टीकाटिप्पणी सुरुभएका छन् | स्थानीय स्तरमै रोजगार सिर्जना गर्ने उद्देश्यमा कमै स्थानीय तहहरूमात्र केन्द्रित देखिन्छन् | ग्रामीण क्षेत्रमा उद्योग, उत्पादन र रोजगारीका विषयलाई मुख्य प्राथमिकतामा राखेर स्थानीय स्तरको अर्थतन्त्र बलियो बनाउँदै आर्थिक जीवनस्तर माथि उकास्न सके संघीयताको औचित्य जनताले नजिकबाट अनुभूति गर्न पाउने थिए |
स्थानीय स्तरमा औद्योगीकरणको अवसर
नेपालको संविधान, २०७२ को अनुसूची-८ अन्तर्गत स्थानीय तहलाई स्थानीय स्तरका विकास आयोजना र परियोजनाको सम्बन्धमा एकल अधिकार प्रदान गरेको छ | स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद-३ को उपदफा १(छ) मा स्थानीय स्तरका विकास आयोजना र परियोजनाका सम्बन्धमा स्थानीय सरकारले सम्बन्धित नीति, कानुन, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन गर्नसक्ने कानुनी व्यवस्था छ | आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधार विकासको लागि आवश्यक आयोजना र परियोजनाको सम्बन्धमा पनि कानुनी अधिकार प्रदान गरिएको छ |
यी नै अधिकारको दायरामा रही औद्योगिक आयोजना र परियोजनाको योजना तर्जुमा र सञ्चालन गर्ने अवसर राज्यले दिएको छ | स्थानीय स्तरमा औद्योगिक गतिविधि बढाउने उत्पादन उद्योग, पर्यटन, खनिज, लघु, घरेलु तथा साना उद्योगको सञ्चालन गर्न लगानी र सहजीकरण गर्दै बेरोजगार युवालाई रोजगार उपलब्ध गराउने अन्य विकासका कार्यहरू गर्न सकिन्छ | स्थानीय तहमा कर्मचारी व्यवस्थापन र अन्य संरचनागत एवं संस्थागत कार्य सक्रियरूपमा रहेकाले यसलाई अझ सबल पार्दै औद्योगीकरणको निम्ति प्रशासनिक सुविधा र सहजीकरण गरिदिन सकिन्छ |
प्राविधिक शिक्षालयहरूसमग समन्वय र सहकार्य गरी स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन गरेर परिपूर्ति गर्न सकिन्छ भने आवश्यक जनशक्तिको विकास गर्न थप यस्ता संस्था सञ्चालनमा ल्याउन सकिन्छ | अर्कोतर्फ, साना र घरेलु उद्योगहरूको सञ्चालनको लागि आवश्यक पर्ने सडक, खानेपानी, बिजुली, स्वास्थ्य सेवा, इन्टरनेट, फोन र यातायात पूर्वाधार, आधारभूत भौतिक पुर्वाधारहरू धेरैजसो ठाउँमा सञ्चालन र सुधारको अवस्थामा रहेकोमा अब उद्योगहरू स्थापना र सञ्चालन गर्न सहज बाटो खुलेको छ |
औद्योगिक ग्राम, औद्योगिक पार्क, उत्पादन विशेष कार्यक्रमजस्ता संघ र प्रदेश सरकारका औद्योगिक पूर्वाधार र आर्थिक अनुदानसम्बन्धी कार्यक्रमहरू सञ्चालनमा रहेको अवस्थालाई सदुपयोग गरेर स्थानीय स्तरमा औधोगीकिकरणलाई अगाडि बढाउन सकिन्छ | स्थानीय स्तरका कृषि, ऊर्जा, सीप, खनिज, वन, पर्यटन, मानव तथा प्राकृतिक स्रोतसाधन आदिलाई पहिचान, संरक्षण, विस्तार, व्यवसायीकरण र विविधीकरण गरी औद्योगीकरणसँग जोड्न सकिन्छ |
केही चुनौती
स्थानीय स्तरमा उद्योग सञ्चालन गर्न प्रविधि, दक्ष जनशक्ति र उद्योग मैत्री प्रशासन अत्यन्तै आवश्यक हुन्छन् | घरेलु उद्योगमा प्रयोग हुने प्रविधिलाई त्यति उच्च प्रकारको विज्ञता र दक्षता आवश्यक नपरे पनि मेसिनरी औजार, उपकरणको जडान र सञ्चालनको लागि दिगो प्राविधिक योजना जरुरी हुन्छ | उद्योग स्थापना र लगानीको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्थापन चुनौतीको एउटा पाटो हो | यससँग जोडिने बिमा, सहुलियतपूर्ण ऋण, सहायता, अनुदान र प्रविधि हस्तान्तरणका सन्दर्भमा कानुनी संरचना अर्को चुनौती हुन सक्छ | उद्योगहरूलाई आवश्यक पर्नसक्ने जनशक्तिको ठूलो हिस्सा स्थानीय स्तरका प्राविधिक शिक्षालयहरूमार्फत उत्पादन गर्न शैक्षिक क्षेत्रको भूमिका आवश्यक हुन्छ | यी सबैको लागि बलियो राजनीतिक सोच, उद्योगमैत्री प्रशासन, प्रभावकारी योजना र कार्यक्रमहरू आवश्यक छन् |
थप पूर्वाधारलगायत अन्य स्रोत साधनको व्यवस्थापनका निम्ति विभिन्न तहका सरकार, अन्य निकाय र सरोकारवाला पक्षहरूसँगको समन्वय र सहकार्य आवश्यक छ | यसैगरी कृषि, अन्य व्यवसाय, सामाजिक र पर्यावरणीय क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने औद्योगिक गतिविधिहरूको अनुगमन अर्को चुनौती हो | यस्ता चुनौतीहरूको सामना गर्ने दिगो योजनासहित अगाडि बढ्न सके औद्योगीकरणको यात्रा सहज बनाउन सकिन्छ |
ग्रामीण औद्योगीकरणको अभ्यास कसरी गर्ने ?
स्थानीय जनजीविका, आर्थिक स्रोत, प्राविधिक ज्ञान, पुँजीको आकार र उपलब्ध स्रोत साधनलाई हेर्दा अधिकांश जनसंख्या कृषिमै भर परेको देखिन्छ । यसो हुँदा कृषिमा आधारित उद्योगहरूको सञ्चालनलाई प्राथमिकता दिएर अगाडि बढाउन सकिन्छ | प्राकृतिक सौन्दैर्य देशको सम्पत्ति भएको हुँदा पर्यटन व्यवसायलाई प्रोत्साहन दिन सकिन्छ | ठाउँ विशेषमा आफ्नै सम्भावना बोकेका स्थानीय स्रोत, साधन र सीप पहिचान गरी उद्योग व्यावसायसँग जोड्न सकिन्छ | उद्योग खोल्नको लागि ऋण, लगानी, बिमाको सन्दर्भमा स्थानीय सरकारले आफ्नो कार्यक्रम र अन्य कानुनी प्रबन्ध मिलाएर यस्ता कार्यहरू सञ्चालन गर्न सकिन्छ |
विशेष सम्भावना बोकेका ठाउँमा छुट्टै औद्योगिक क्षेत्रहरू सञ्चालनमा ल्याएर छरिएर रहेका/रहने उद्योगहरूलाई एकीकृत व्यवस्थापन गरी विशेष व्यवस्थासहित औद्योगिक गतिविधि अघि बढाउन सकिन्छ | स्थानीय बजारको अनुसन्धान गरी आयात प्रतिस्थापन गर्ने खालका उद्योगहरूको सञ्चालनमा विशेष सहायता दिनुपर्छ | स्थानीय जनाजीविकालाई प्रत्यक्ष असर पार्ने खालका खास किसिमका उद्योगहरूमा आफ्नै लगानीमा पनि उद्योगहरूको स्थापना र सञ्चालन गर्न सकिन्छ | उत्पादित वस्तु वा सेवालाई बजारीकरण गर्ने कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ |
विदेशबाट फर्केर आएका युवाको खास सिपलाई उद्योगसँग जोड्दै व्यवसाय सञ्चालन गर्न आवश्यक प्रोत्साहन, सहायता र सहयोग दिनुपर्छ | खेर गरिरहेका/जाने र पहिचान बोकेका स्थानीय स्रोत साधनहरूलाई उद्योगसँग जोड्न सकिन्छ | आवश्यक कार्यक्रम मार्फत युवाहरूको क्षमता र शिप विकास गर्दै व्यवसायसँग जोड्न सकिन्छ |
निष्कर्षमा,
मुख्यतः कृषि तथा वनमा आधारित उद्योगहरू, स्थानीय खपतलाई विस्थापन गर्ने उत्पादनमूलक उद्योग तथा पर्यटन व्यावसायजस्ता सेवा उद्योगहरूको सञ्चालनले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन र बलियो अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्छ | स्थानीय स्तरका स्रोतसाधनलाई व्यवसायीकरण र औद्योगीकरणसँग जोडेर गाउँगाउँमा रोजगारी सिर्जना गर्न सकेमा वैदेशिक रोजगारीमा जानेको र गाउँ छोडेर अन्यत्र बसाइँ सरी जानेको बढ्दो संख्यालाई घटाउन सकिन्छ |
विदेशिएको र विदेशिन लागेको युवा श्रम शक्तिको उपयोग गरी ग्रामीण अर्थतन्त्र सुधार्न सकिन्छ | त्यसकारण स्थानीय स्तरमा उद्योग कलकारखानालगायत आर्थिक गतिविधिको योजना निर्माण, सञ्चालन, विस्तार र प्रोत्साहनको निम्ति सबै तहका सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, सहकारी, नागरिक समाजलगायत सम्पूर्ण सरोकारवालाको परिणाममुखी बहस, क्रियाशीलता र सहभागिता अत्यन्तै आवश्यक छ |
(औद्योगिक इन्जिनियर)