site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरको पहिचानवादी आन्दोलनमा डीएसपीसहित २० जनाभन्दा धेरै घाइते

विराटनगर ।‌ कोसी प्रदेशका सांसद सहभागी कार्यक्रमको विरोधमा उत्रिएका पहिचानवादीहरूको प्रदर्शनका क्रममा भएको झडपमा नेपाल प्रहरीका डीएसपीसहित २० जना भन्दा धेरै घाइते भएका छन् । 

विराटनगरमा आज होटल बिगमा कोसी प्रदेश सभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । 

झडपमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी विजय क्षेष्ठसहित सशस्त्र प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीतर्फ पनि एक दर्जन बढी घाइते भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चक संघीय सचिव दिलकुमार लावतीले जानकारी दिए ।

'दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला'मा सहभागी हुन सांसदहरू सहभागी हुने भएपछि पहिचानवादीले होटल नै घेराउ गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेका थिए । स्थिति उग्र बनेपछि प्रहरीले १४ राउन्ड हवाई फायर तथा ४० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । 

यूएनडीपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थविज्ञ स्वर्णिम वाग्लेले प्रवचन दिने तय भएको थियो । तर, कार्यक्रम सुरु हुनु अगावै पहिचानवादीले प्रदर्शन गरेका हुन् ।

उनीहरूले ढुंगामुढा गर्न थालेपछि प्रहरीले पहिले पानीको फोहोरा हानेको थियो ।‌

यसअघि मोरङको सुन्दरहरैँचामा विराटचोकस्थित नेपाल इरिका होटलमा कार्यक्रम राखिएको थियो । तर त्यहाँ पनि प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले घेराउ गर्ने जानकारी आएपछि असुरक्षा देखाएर विराटनगरमा कार्यक्रम सारिएको थियो । पहिचानवादीले आजै प्रदेशका विभिन्न पालिका कार्यालयमा तालाबन्दी पनि गरेका छन् । 

पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोसी नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग गर्दै आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्