site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाललाई धनी बन्ने सुवर्ण अवसर ! 

काठमाडौ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा १५ वर्षदेखि ५९ वर्षसम्मको संख्या एक करोड ८० लाख ७१ हजार ६८५ रहेको छ । 

कूल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मा कमाउन सक्ने जनसंख्या ६१.९६ प्रतिशत हुनु भनेको निकै राम्रो हो । 

विकासका लागि नेपालको जनसंख्याको उमेर समूह अहिले सबैभन्दा राम्रो अवस्थामा छ ।  आर्थिक रुपमा जनसांख्यिक लाभांश(डेमोग्राफिक डेभिडेन्ट) सबैभन्दा बढी हुने अवस्थामा अहिले नेपालमा छ । 

देशको विकासको लागि अहिले काम गर्ने उमेर समूह बढी छ । यो विकास गर्नको लागि निकै सुनौलो मौका हो । काम गर्नेभन्दा अहिले आश्रित हुने संख्या कम छ । 

तर,विकास भएन भने देशको जनसंख्या धनी नभएर नै गरिब हुने अवस्थामा पुग्न सक्छ ।  अहिले युवा र काम गर्न सक्ने उमेरका व्यक्तिहरु बुढो हुँदै जादा युवा जनसंख्याको लाभ नेपालले लिन सक्दैन । 

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका सहायक प्राध्यापक डा. रघुवीर विष्ट विकास गर्नको लागि नेपालको जनसंख्याले उपयुक्त अवसर दिएको बताउँछन् । 

“अर्थतन्त्रलाई अगाडि बढाउन सक्रिय उमेर समूहको जनसंख्या महत्वपूर्ण योगदान हुन्छ,” विष्टले बाह्रखरीसँग भने, “आर्थिक रुपमा सक्रिय रहेको जनसंख्या बढी भएको बेला देश विकसित र धनी हुन सकेन भने विकास गर्ने अवसर गुम्छ ।”

जनगणना २०७८ को तथ्यांकले नेपालले ‘डेमोग्राफिक डेभिडेन्ट’को लाभ लिन नसकेमा धनी नभएर नै बुढो हुने र देश विकसित नहुने खतरासमेत देखाएको छ । 

विस १९९८ देखि अहिलेसम्मको तथ्यांक हेर्दा अहिले जनसंख्याको वृद्धिदर एक प्रतिशतभन्दा पनि कम अवस्थामा रहेको छ । 

२०७८ सालको जनगणनाको तथ्यांकअनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९६ प्रतिशत छ ।  यो भनेको काम गर्ने समूहको जनसंख्या विस्तारै बुढो हुँदै जाने र युवाहरुको संख्या कम हुने हो । 

२०६८ सालको गणनाको तुलनामा काम गर्ने सक्रिय समूह १५ देखि ५९ वर्षको अनुपात बढे पनि युवाको तुलनामा वृद्ध समूहको हिस्सा आगामी दिनमा बढ्ने देखिन्छ । 

२०६८ सालमा १४ वर्षसम्मको उमेर समूहको जनसंख्या ३४.९१ प्रतिशत थियो ।  २०७८ सालमा आइपुग्दा १४ वर्षसम्मको उमेर समूहको हिस्सा कुल जनसंख्यामा २७.८३ प्रतिशत छ । 

आर्थिक रुपमा सक्रिय नहुँने उमेर समूहमा राखिएको ६० वर्षभन्दा बढी उमेरका व्यक्तिको संख्या कुल जनसंख्यामा अहिले १०.२१ प्रतिशत छ । 

२०६८ सालमा यसको अनुपात कुल जनसंख्यामा ८.१३ प्रतिशत थियो । 

२०६८ सालको तुलनामा १४ वर्षसम्मको उमेर समूहको जनसंख्याको अनुपात घटेको र ६० वर्षमाथिको उमेर समूहको अनुपात बढेको छ । यो आगामी दिनमा अझै बढ्ने देखिन्छ । 

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अर्थविद् नरबहादुर थापा जनगणनाको तथ्यांकले विकास गर्नको बढीमा ४० वर्षको समय रहेको देखिएको बताउँछन् । 

“अहिलेको हाम्रो पुस्ताले देशलाई विकसित र जनतालाई धनी बनाउन सकेन,” थापाले बाह्रखरीसँग भने, “आउने पुस्ताले विकास गर्ने धनी बन्छ भनेर अपेक्षा गरौं ।”

नेपाल हालैमात्र अतिकम विकसित देश(एलडीसी)बाट स्तरोन्नति भएको छ । 

राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले आफ्नो पुस्तक ‘अतृप्त अवसर’मा केही वर्षमा विकसित नभएमा धनी नहुँदै बूढो हुने स्थितिमा नेपाल पुग्ने विश्लेषण गरेका छन् । 

“नेपालले अबको २० वर्षमा विकास र आफूलाई धनी बनाउन नसकेमा जनसंख्याको लाभ लिन सक्दैन, यस्तो लाभ लिन सक्दैन,” वाग्लेले पुस्तकमा भनेका छन् । 

बूढो जनसंख्यासँगै सामाजिक सुरक्षा भत्ताको बढ्दो भार 

सरकारले चालु आर्थिक वर्षको बजेटमा वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट झारेर ६८ मा बनाएको छ । 

जनगणना २०७८ अनुसार ६८ वर्षभन्दा माथिको उमेर पुगेका व्यक्तिहरुको संख्या १५ लाख २४ हजार ७६३ रहेको थियो ।

यो भनेको कुल जनसंख्याको ५.२३ प्रतिशत हो । २०६८ सालको तुलनामा करिब दोब्बरले ६८ वर्षभन्दा बढीको जनसंख्या बढेको छ । अझ ६० देखि ६८ वर्षभन्दा कमको उमेर समूह करिब अहिले ५ प्रतिशतको हाराहारीमा छ ।
अहिले दिएको वृद्धभत्ता पाउनको लागि यो समूह छिटै तयार हुन्छ । 

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न एक खर्ब १३ अर्ब बजेट विनियोजन भएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार ७५२ वटा स्थानीय तहले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्छन् । 

बृद्धभत्ता बाहेक सामाजिक सुरक्षा भत्ता पाउने जनसंख्या ३७ लाख १ हजार १४९ रहेको छ । 

जनसंख्याको करिब १३ प्रतिशतले राज्यबाट अहिले सामाजिक सुरक्षा भत्ता पाएका छन् । आगामी दिनमा यो संख्या अझै बढ्ने छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विष्ट आर्थिक विकासको लागि जनसंख्याको तथ्यांकले फड्को मार्न ढिलाई हुँदै गएको बताउँछन् । 

“हामीसँग भएको युवा जनसंख्याको लाभ खाडी तथा मलेसियाजस्ता देशले उठाएका छन्,” विष्टले भने, “पछिल्लो समय स्थायी पलायनको लागि विकसित देशमा जाने प्रचलन बढेको हुँदा रेमिट्यान्स घट्ने र नेपालमा बस्नेहरु बुढाबुढीहरुमा मात्र हुने देखिएको छ।” 

अर्थविद् थापा भने विकसित देशमा गए पनि युवाहरुले सीप सिकेको हुँदा अझै पनि आशावादी हुनुपर्ने बताउँछन् । 

“विकास गर्नको लागि अबको पुस्ताले नीतिगत परिवर्तन गर्छ,” थापाले भने, “निराशा मात्र हुने कुरा नगरौं, हामीभन्दा हामीपछि आउने पुस्ताले पक्कै काम गर्ला ।”
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro