
काठमाडौं । नयाँ वर्षको छेको पारेर दयाहाङ राईका मात्रै दुईवटा चलचित्र रिलिज हुँदै छन् । चलचित्र ‘बिहे पास’ र ‘जारी’मा दयाहाङ मुख्य भूमिकामा छन् । यी दुवै चलचित्र वैशाख १ गते रिलिज हुँदै छन् ।
यी चचित्रले ट्रेलर पनि एकै दिन रिलिज गरेका थिए । ‘जारी’ उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र हो । ‘बिहे पास’ प्रवेश पौडेलले निर्देशन गरेका छन् ।
आफूले मन पराएको युवतीसँग विवाहका लागि एक युवाले गर्ने संघर्ष ‘बिहे पास’को ट्रेलरमा देखिन्छ । निःसन्तान दम्पतीको जीवनमा आउने उतारचढावलाई ‘जारी’को ट्रेलरमा देखाइएको छ ।
एकै दिन आफू मुख्य भूमिकामा रहेको चलचित्र रिलिज हुँदा दयाहाङलाई भने पब्लिसिटीमा समस्या पर्ने देखिन्छ । “एकै दिन नआऊ भनेर मैले भनेको हो । तर मानेनन्,” दयाहाङ बाह्रखरीसँग भन्छन्, “उल्टै मलाई तपाईंलाई चाहीँ कस्तो लाग्छ भनेर उनीहरू सोध्छन् । मलाई कस्तो लाग्थ्यो र ? एकै दिन आउने नै भएपछि एउटै बसाइमा दुइटै सिनेमाको प्रचार गर्छु । मेरो जिम्मा पब्लिसिटीको हो, त्यो गर्छु ।”
आफूले गर्ने काम सिनेमामा गरिसकेको भन्दै उनी अब पब्लिसिटीको मात्रै काम रहेकाले व्यक्तिगत रूपमा भने आफूलाई त्यति धेरै समस्या नहुने उनी बताउँछन् । एकै दिन दुइवटा सिनेमा प्रदर्शनमा ल्याएर आफूलाई अफ्ठ्यारोमा नपार्न र पब्लिसिटीको विषयलाई लिएर आफूसँग रिसाउन पाइँदैन भनेर आफूले भनिसकेको उनले स्पष्ट पारे ।
व्यापारिक रूपमा भने निर्मातालाई घाटा हुने दयाहाङको भनाइ छ । त्यसैले आफूले एकै दिन रिलिज नगर्न निर्माण पक्षलाई आग्रह गरेको उनले स्पष्ट पारे ।
“तीन वर्षदेखि सिनेमा छायांकन गरेर बसेका कारण पनि निर्माताको ठूलो रकम फ्रिज भएर बसेकाले आत्तिएको हुनसक्छ । दुवैले वैशाख १ गतेकै तयारी गरेकाले यही दिन आउँछौँ भने,” दयाहाङ भन्छन् ।
अहिले पनि चलचित्रको प्रोमोसन गर्ने तरिका पुरानै भएको भन्दै दयाहाङ अब नयाँ तरिकाले अगाडि बढ्नु पर्नेमा जोड दिन्छन् । “हामी अहिले पनि दिनकै हलमा गएर प्रोमोसन भइरहेको छ भनिरहेका छौँ । हलमा दर्शक नभए पनि हलमा कलाकार गएको देखिन्छ । कुनै समय दर्शकलाई धन्यवाद भन्न जानु त ठिकै हो । तर, दिनकै हलमा गएर प्रोमोसन हुन्छ भन्ने लाग्दैन,” दयाहाङ भन्छन्, “सिनेमा प्रोमोसनको तौरतरिका पुगिरहेको छ भन्ने लाग्दैन । अब प्रोमोसनको शैली पनि नयाँ हुनुपर्छ भन्ने लाग्छ ।”