
बुटवल । प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुका पुरातात्विक सम्पदाहरूको संरक्षण र प्रचारप्रसार गर्ने उदेश्यले सोमबार ‘तिलौराकोट–कपिलवस्तु सम्पदा उत्सव’ गरिएको छ ।
लुम्बिनी विकास कोष, पुरातत्व विभाग, युनेस्को लगायतका संस्थाको संयुक्त आयोजनामा तिलौराकोटमा सम्पदा उत्सव गरिएको हो ।
उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरीले बुद्धको गृहनगर प्राचिन कपिलवस्तुका पुरातात्विक सम्पदाको उत्खनन् चाँडो गर्न आग्रह गरिन् । बुद्धले २९ बर्ष बिताएको कपिलवस्तु पछाडि परेको बताउँदै यसको विकासमा लागिपर्ने बताइन् ।
यस्तै, कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई जतिसक्दो चाँडो विश्व सम्पदा सूूचीमा सूचीकरण गर्न पुरातत्व विभाग र लुम्बिनी विकास कोषलाई आग्रह गरे । उनले कपिलवस्तुमा सयौं उत्खनन गर्नुपर्ने सम्पदा रहेको तर, उत्खनन् हुन नसकेको बताए ।
प्रदेशसभा सदस्य अर्जुन केसीले कपिलवस्तुमा निकै सुुस्त गतिमा उत्खनन् हुँदा पुरातात्विक सम्पदाहरू विनास हुने खतरामा रहेको बताए । उनले पुरातत्व विभागलाई उत्खनन् गर्ने जनशक्ति उत्पदानमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेकुमार त्रिपार्ठील तिलौराकोटलाई आगामी सन् २०२४ मा विश्वसम्पदा सूचीमा सूचिकरण गर्नका लागि प्रस्ताव पेस गर्नेगरी तयारी गरिएको बताए । उनले कपिलवस्तुको विकासका सवालमा लुम्बिनी विकास कोषले गुरुयोजना तयार पारेर केहि महिनामा सार्वजनिक गर्ने र त्यसैका आधारमा विकासको गति अगाडि बढ्ने बताए ।