
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी सांसद रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर बिनाकारण बदनाम भएको हत्याराको उपमा पाएको भन्दै गुनासो गरेकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले टीकापुरले न्याय खोजेको बताइन् । “टीकापुर घटनाले बिनाकारण बदनाम भयो टीकापुर । अछामी, थारु, पूर्वेली मधेसीबीचको द्वन्द्व देखाएर आरोपको सिकार भयो टीकापुर,” उनले भनिन्, “आगन्तुकले रगतको होली खेले, एकले अर्कोलाई घाइते बनाए । तर, बिनाकारण सबैको हत्यारा भयो टीकापुर ।”
सांसद श्रेष्ठले राज्यले टीकापुरलाई न्याय दिनुको सट्टा आरोप र कर्फ्यु लगाइएको बताइन् । अत्यधिक मतले सांसद जितेका रेशम चौधरीको पूर्णकाल राज्यले खाइदिएको भन्दै उनले आफ्नो कार्यकाल पनि न्याय माग्दामाग्दै बित्ने त हैन ? भन्दै प्रश्न गरिन् ।