
काठमाडौं । सभामुख देवराज घिमिरेले बालबालिका तथा युवालाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन् । छैटौं एशिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पिस कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारभर नै बालबालिका तथा युवालाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्नसक्ने बताए ।
उनले सीमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताए ।
स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउन जरुरी रहेको उनको भनाइ छ । सभामुख घिमिरेले स्काउटले विविध कार्यक्रम सञ्चालन गरी बालबालिकाको सर्वपक्षीय विकासको लागि काम गरिरहेको भन्दै आगामी दिनमा यस्ता कार्यलाई झनै बढाउँदै लैजानुपर्ने बताए ।