
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगितामा आज साँझ जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीबीच खेल भइरहेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
सहिद स्मारक ए डिभिजन लिगका यी दुई टिमबीच विराटनगरको सहिद रंगशालमा कडा प्रतिस्पर्धा जारी छ ।
आर्मीका लागि क्याप्टेन जिलेप्सीजंग कार्की र जवालखेललाई क्याप्टेन सिमान्त थापाले नेतृत्व गरेका छन् । आर्मी हालै सम्पन्न झापा गोल्डकपको उपाधि विजेता हो ।
पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक खेलमा जावलाखेलले आठ मिनेटमा डिबक्स नजिकै पाएको फ्रिकिक गोलमा परिणत हुन सकेन । त्यस्तै, आर्मीका सुदिन राईले १२औं मिनेटमा प्रहार गरेको फ्रिकिक पनि बिफल बन्यो । त्यसलगत्तै जावलाखेलले १५औं मिनेटमा अर्को फ्रिकिक प्राप्त गर्यो । तर, त्यो पनि गोलमा परिणत हुन सकेन ।

२६औं मिनेटमा जिलेप्सीजंग कार्कीले ३५ यार्ड नजिकबाट प्रहार गरेको बल पोस्टमाथिबाट गएको थियो । आर्मीले राम्रा अवसरहरु प्राप्त गरे पनि तिनलाई गोलमा परिणत गर्न असफल भयो ।
३०औं मिनेटमा दिपक गुरुङको फ्रिकिक पासलाई जिलेप्सीजंग कार्कीले प्रहार गरे तर त्यो पोस्टमाथिबाट गएको थियो । जावलाखेलका खेलाडी फोडीफोफानालाई लडाएपछि आर्मीका भरत चौधरीले पहेँलो कार्ड पाए ।
३६औं मिनेटमा सुदिन राईले गरेको फितलो प्रहार किपरले रोके । यसैगरी सुशान्त चौधरीले तत्कालै गरेको प्रहार पनि जवलाखेलका किपर अनिश देउलाले रोकिदिए । ३८औं मिनेटमा आर्मीका जिलेप्सीजंग कार्कीले पोस्ट नजिकै दिएको क्रसलाई सुशान्त चौधरीले सदुपयोग गर्न सकेनन् ।
३९औं मिनेटमा प्रभावकारी मानिएका जवलाखेलका हिसुब थपलियाले प्रहार गरेको कर्नरलाई सदुपयोग गर्ने अवसर भए पनि चुक्यो । आर्मीले एक र जावलाखेलले दुई कर्नर प्राप्त गरेका थिए ।