रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । बिहीबार राति न्युरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । अस्पतालले दिएको जानकारीअनुसार राति १० बजेर १० मिनेटमा ताम्राकारको निधन भएको हो । आज उनको दाहसंस्कार गरिने भएको छ । उनले रेडियो नेपालमा लामो समय समाचार बाचिकाका रूपमा काम गरेकी थिइन् । उनका बारेमा बाह्रखरीको ‘म पत्रकार’ स्तम्भमा ०७५ चैत ३० गते प्रकाशित यो सामग्री अर्काइभबाट ।
० ० ०
बुधबार साँझ टेलिफोन गर्दा कृष्णा ताम्राकार भन्दै थिइन्, “बाबु कसले रिफर गर्यो मसँग कुरा गर्न ? के सोध्नुहुन्छ ? मलाई त बोल्न आउँदैन ।”
बोलेरै बाँचेकी कृष्णालाई बोल्न नआउने कुरै थिएन । पत्रकार भएर पत्रकारसँगै के बोल्नू भन्ने संकोचमात्रै थियो त्यो । हामीलाई उनको रेडियो अनुभव सुन्नु थियो । तीन दशक रेडियो नेपालमा काम गर्दाको उतारचढावपूर्ण संघर्ष जान्नु थियो । करिब ६ दशक ध्वनि तरंगमा तरंगित आवाजको कथा पाठकसामु पुर्याउनु थियो । त्यसैले हामीले समय माग्यौं । कृष्णा बिहीबार दिउँसो ४ बजे उपलब्ध हुने भइन् ।
बिहीबार ठीक ४ बजे बूढानीलकण्ठ भिल्ला पुग्दा उनी भर्खरै न्युरो हस्पिटलबाट फर्किएकी रहिछन् । विभिन्न थरीका फूल, बिरुवा अनि चाइनिज दुबोले भरिएको रहरलाग्दो कम्पाउन्डमा बसेर हामीले उनका कुरा सुन्यौं—
० ० ०
हामीले पहिलो जिज्ञासा राख्यौं, “पत्रकारिता पेशा नभइसकेको बेला तपाईं पत्रकारितामा प्रवेश गर्नुभयो । महिलालाई सञ्चार र चलचित्रमा काम गरेको अहिलेसम्म पनि समाजले राम्रो मान्दैन । केले आकर्षित गर्यो सञ्चार क्षेत्रमा प्रवेश गर्न ?”
उनले सहजै भनिन्, “मेरो परिवार, वरपर र छिमेकमा कसैले पनि पत्रकारिता गर्नु हुँदैन भनेनन् । नाचघर र रेडियो नेपाल पनि जानु हुँदैन भन्ने एक खालका मान्छेमा धारणा थियो होला तर त्यो ममा लागू भएन ।”
कुराको पोयो खुल्यो । उनले आफ्ना कुरा भन्दै गइन् ।
०१७ सालमा कृष्णा तत्कालीन शाही नेपाल वायु सेवा निगममा काम गर्थिन् । टिकट बिक्री कक्षमा उनको ड्युटी थियो । नयाँ सडकमा निगमको कार्यालय थियो । त्यही कार्यायलमा थिइन् उनी ०१७ पुस १ गते । त्यहीँ उनले सुनिन्— राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई बर्खास्थ गरेर शासनसत्ता हातमा लिए । शासन व्यवस्था परिवर्तन भएको थियो । दशकौं लामो प्रयासले स्थापित प्रजातन्त्र खोसिएको थियो । तर, पनि जनता ‘तैं चुप मै चुप’ थिए । त्यसमा पनि सरकारी जागिरेहरू बोल्ने कुरै भएन । कि विद्रोह गर्नु पर्यो कि चुपचाप सहनुपर्यो ।
त्यसको पाँच महिनापछि (०१८ जेठ)मा रेडियो नेपालले आवेदन आह्वान गर्यो । हिन्दी र नेपाली समाचारका लागि जनशक्ति मागिएको थियो । सानैमा गान्धी महिला आश्रममा इन्डिया बसेर पढेको हुनाले कृष्णालाई नेपालीभन्दा हिन्दी बोल्न सजिलो लाग्थ्यो । त्यसैले उनले हिन्दी समाचारका लागि परीक्षा दिइन् । दुई जनाका लागि ७५ प्रतिस्पर्धी थिए । हिन्दीमा एक र नेपालीमा एक जना मागिएकोमा हिन्दीमा कृष्णाले बाजी मारिन् ।
घरमा रेडियो सेट थियो । ‘अल इन्डिया’ रेडियो बज्थ्यो । कृष्णालाई अहिले पनि ‘अल इन्डिया’ रेडियोमा बोल्ने प्रस्तोता धेरैको नाम कण्ठस्त छ । जस्तैः विनोद कश्यप, अशोक बाजपेयी, देवकीनन्दन पाण्डे आदि ।
उनीहरू रेडियोमा बोलेको सुनेर कृष्णालाई पनि रेडियो नेपालमा समाचार पढ्ने रहर लाग्यो । त्यो समय रेडियो नेपालमा भोग्यप्रसाद शाह, शेखर मानन्धर, ईश्वरराज पाण्डेलगायतहरू समाचार पढ्थे ।
कृष्णाले ०१८ जेठ २४ गते रेडियो नेपालमा उप–सम्पादक तथा प्रशारकको नियुक्ति लिइन् । “एयरलाइन्समा मेरो तलब १७५ रुपैयाँ थियो तर त्योभन्दा ५० रुपैयाँ कम १२५ रुपैयाँमै रेडियो नेपालमा काम शुरु गरें,” रेडियोप्रतिको आफ्नो मोह सुनाइन् उनले ।
लोकसेवा आयोगका प्रतिनिधि, सञ्चार मन्त्रालयका सचिव र रेडियो नेपालका हाकिम थिए अन्तर्वार्ता लिने । लिखित, मौखिक र स्वर परीक्षासम्म भयो । उनले सबैलाई पछि पारिन् । “त्यो बेला एक्जाम फेयर हुन्थ्यो । निष्पक्ष मान्छेहरू आउँथे । मन्त्रीका भानिज आउने बेला थिएन । पछि बिग्रिएर गयो,” समय र प्रवृत्तिको तुलना एकै वाक्यमा गरिन् कृष्णाले ।
शुरुका दिनमा उनी नेपाली भाषामा लेखिएका समाचारलाई हिन्दीमा अनुवाद गर्थिन् । तर, जसो गरे पनि ‘भएन’ भन्दिन्थे । “मभन्दा सिनियर एकजना हुनुहुन्थ्यो । शायद तीन–चार वर्ष काम गरिसक्नुभएको थियो । उहाँ स्वर परीक्षामा अनुत्तीर्ण हुनुभयो,” कृष्णा रेडियो नेपाल प्रवेशका शुरुआती दिन सम्झिन्छिन्, “जस्तै राम्रो गरे पनि भएनमात्रै भन्ने । शायद मेरो समाचार होइन, मलाई मन पराइएन होला जस्तो लाग्छ । मलाई काम मन परेको थियो तर कति पटक त बेकार आएछु जस्तो लागेको थियो । त्यही पनि म बसें ।”
एक हप्तापछि कृष्णा समाचार पढ्न स्टुडियो छिरिन् । प्रायः पहिलो दिन सबैजसो डराउँछन् । फलतः स्वर काँप्छ, समाचार बिग्रिन्छ । तर, न कृष्णा डराइन् न त समाचार नै बिग्रियो । आत्मविश्वास र दह्रो इच्छाशक्तिले काम गर्यो । समाचार राम्रो भयो ।
“पहिलो बुलेटिनमै प्रशंसा पाउनुभयो ?”
हाँस्दै उनी अचम्म मानेझैं सोध्छिन्, “प्रशंसा ? पहिलो बुलेटिनमात्रै होइन, मैले रेडियो नेपालमा कहिल्यै पनि प्रशंसा पाइनँ । बाहिर सबैले राम्रो भन्थे तर रेडियो नेपालभित्र मैले पढेको समाचार कसैले पनि राम्रो भनेको कहिल्यै सुनिनँ । एउटा न एउटा कुरा झिकेर खेदो खन्ने प्रवृत्ति थियो । आफूअनुकूल कुरा गरे ठीक, नत्र बेठीक ।”
भोग्यप्रसाद शाहको भने उनले खुलेर प्रशंसा गरिन् । भोग्यप्रसाद समाचार प्रमुख थिए । “हि इज रियल्ली गुड । मैले मेरो जीवनकालमा उहाँजस्तो राम्रो समाचार र रेडियो स्क्रिप्ट लेख्ने पत्रकार आजसम्म देखेकी छैन । एउटा प्याराग्राफमा एउटा शब्द पनि दोहोरिँदैनथ्यो, उहाँले लेखेको समाचार र स्क्रिप्टमा ।”
०२१ सालसम्म कृष्णाले हिन्दी समाचार पढिन् । त्यसपछि उनी सारिइन् नेपाली समाचारमा ।
महिला चुलोचौकामै सीमित भएका बेला सञ्चार क्षेत्रमा आउनु आफैंमा कठिन थियो । घरभित्रै संघर्ष गर्नुपथ्र्यो । भलै घरभित्र कृष्णाले संघर्ष गर्नु परेन । तर, कार्यक्षेत्र शायद महिलामैत्री भइसकेको थिएन । पुरुषमा पुरुष हुनुमै दम्भ थियो । त्यसमा पनि आफूभन्दा क्षमतावान् महिलालाई कसरी स्वीकार्न सक्थे र पुरुष !
यो तीतो भोगाइ पनि छ कृष्णासँग । आमस्रोता उनको स्वरका प्रशंसक थिए । जहाँसुकै गए पनि उनको स्वरको खुलेर प्रशंसा हुन्थ्यो । तर, रेडियोमा कसैले प्रशंसाका शब्द उच्चारण गरेनन् । सकेसम्म अनेक बहानाबाजी गरेर हतोत्साही बनाउन खोज्थे । पाएको अवसर आफैं लिन्थे ।
जस्तै ?
रेडियो नेपालको मुख्य समाचार बुलेटिन बिहान र बेलुका ७ बजेको थियो । तर, कृष्णालाई यी दुई समाचार बुलेटिन कहिल्यै पनि पढ्न दिइएन । दिउँसो साढे २ बजेको समाचार बुलेटिन उनको भागमा पारिन्थ्यो । तर, कमै स्रोताले रेडियो सुन्ने भनेर छुट्ट्याइएको त्यही समयमा पनि कृष्णाको स्वर सुन्नमात्रै पनि स्रोता रेडियो ट्युन गर्थे । त्यही समयमा समाचार पढेर पनि उनले आफ्नो स्वरको ब्रान्डिङ गरिन् ।
न उनको कहिल्यै प्रमोसन भयो न कुनै तक्मा नै पाइन् । कारण— उनले प्रमोसन र तक्माका लागि कसैलाई गुहारिनन्, चाकडी गरिनन् ।
१० मिनेटको समाचार बुलेटिन हुन्थ्यो । उनी समाचार लेखेको कपी उचाल्दा थाहा पाउँथिन्, यो समाचार कति मिनेटका लागि छ भन्ने । “मैले १० मिनेटको समाचार बुलेटिनलाई पढ्न कहिल्यै पनि १० मिनेट १ सेकेन्ड लगाइनँ । कहिल्यै त्योभन्दा अगाडि सकिनँ ।”
कृष्णा तिनै समाचारवाचक हुन्, जो शब्दमा प्रयोग भएको ह्रस्व र दीर्घ हेरेर उच्चारण गर्थिन्/गर्छिन् । भाषा विज्ञान भएकाले त्यसको सूत्रअनुसार चल्नुपर्ने उनी बताउँछिन् । पछिल्लो समय रेडियो/टेलिभिजनले प्रयोग गरेको भाषाप्रति उनी सन्तुष्ट छैनिन् । रेडियो/टेलिभिजनमा समाचार पढ्ने धेरैलाई भाषाको शुद्ध उच्चारणबारे जानकारी नै नरहेको उनी बताउँछन् । “हाम्रो समयमा तीर्थ भण्डारी, प्रवीण गिरी र म थियौं शुद्ध उच्चारण गर्ने ।”
कृष्णाले रेडियोमा समाचारमात्रै वाचन गरिनन्, दर्जनौं कार्यक्रममा पनि आफ्नो स्वर गुञ्जाइन् । ‘रसरंग’ उनकै कार्यक्रम हो । हास्यव्यंग्यप्रधान कार्यक्रम ‘रसरंग’ उनकै डिजाइन् हो । “यही कार्यक्रमबाट उठेका हुन् जस्तो लाग्छ हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ । मदनकृष्णले आफ्नो किताबमा पनि यो कुरा लेखेका छन्,” कृष्णा भन्छिन्, “व्यंग्य भयो भने राख्न मान्दैनथे । राख्नुपर्छ भनेर मैले कैयाैं पटक झगडा गरेकी छु अफिसमा ।”
राजपाल हाडा, सिद्धान्तराम जोशी, मदनदास श्रेष्ठ, सकुन्तला गुरुङलगायत कलाकार ‘रसरंग’मा आएर आफ्नो सिर्जना प्रस्तुत गर्थे । निकै लोकप्रिय कार्यक्रम थियो त्यो ।
‘हाजिरी जवाफ’ कार्यक्रम पनि उनैले चलाइन् । ‘पर्यटन’, ‘उज्यालो’, ‘हाम्रो वन’, ‘वन हाम्रो जीवन’, ‘देशको माटो’, ‘नासो’, ‘पक्षी संसार’ उनले चलाएका कार्यक्रम थिए । स्थानविशेषको कार्यक्रम गरेकी कृष्णाले लुम्बिनीबारे ‘बर्थ प्लेस अफ लर्ड बुद्ध— लुम्बिनी’ कार्यक्रम सञ्चालन गरिन् । कृष्णाको यो कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक भोग्यप्रसाद शाह पनि प्रस्तोता थिए ।
“कार्यक्रम बनाउन लगाउनेले मलाई पैसा दिन्थे, म भोग्यप्रसाद शाहलाई मेरो कार्यक्रममा बोलिदिएबापत पैसा दिन्थें,” उनले सुनाइन् । यो कार्यक्रम श्रीलंका रेडियोबाट पाँच वर्ष बज्यो ।
वन कार्यक्रम चलाएबापत उनले सन् १९८९ मा ‘ग्लोबल फाइभ हन्ड्रेड द–रोल–अफ–अर्नर’ सम्मान पाइन् । यूएनडीपीले दिएको उक्त सम्मान उनले बेल्जियम पुगेर लिइन् ।
“यो पुरस्कार पाउने नेपालमा म एक्ली महिला हुँ । मैले पाएपछि पनि नेपालबाट आजसम्म कुनै पनि महिलाले यो सम्मान पाएका छैनन् । रेडियो नेपालले तक्मा र प्रमोसन कहिल्यै नदिए पनि मैले सुन्दै नसुनेको संस्थाले मेरो कामको मूल्यांकन गर्यो,” यो खुशी साट्दा उनको अनुहारमा खुशीका तरंग तरंगित भए ।
‘बर्थ प्लेस अफ लर्ड बुद्ध— लुम्बिनी’ लगायत उनका अधिकांश फिचर कार्यक्रमका स्क्रिप्ट राइटर विमल चापागाईं थिए ।
० ० ०
२०२८ माघ १७ गते राजा महेन्द्रको निधन भयो । रिपोर्टिङका लागि आर्यघाट जानु थियो । दाहसंस्कारका लागि शव पशुपति आर्यघाट लगिँदै थियो । जनसागर उर्लिएको थियो महेन्द्रको शवयात्रामा । भीड छिचोलेर तत्काल पशुपति आर्यघाट पुग्न सहज थिएन । गौशालाबाट आर्यघाट पुग्नै घण्टौं लाग्ने अवस्था थियो ।
कृष्णासँगै थिए रेडियो नेपालमा निर्देशक रामराज पौडेल । भीडमा कृष्णाले भनिन्, “म रेडियो नेपालको कृष्णा ताम्राकार, उहाँ हाम्रो डाइरेक्टर रामराज पौडेल । हामी दाहसंस्कारको रिपोर्टिङका लागि जाँदै छौं । कृपया बाटो दिनुस् ।”
कृष्णाको स्वर सुन्नेबित्तिकै भीड छेउ लागेर उनलाई बाटो छोडिदियो । उनीहरू गौशालाबाट हिँडेर १० मिनेटमा आर्यघाट पुगे ।
उहाँ (रामराज)ले पछि यो कुरा आफ्नो पुस्तकमा पनि लेख्नुभयो । उहाँले मलाई धेरैपटक भन्नुभयो, “त्यो दिन तिमी नभएको भए म रिपोर्टिङका लागि आर्यघाट पुग्नै सक्दिनथें ।”
प्रसारण संस्थाको रूपमा रेडियो नेपालमात्रै थियो । रेडियोमा बोल्नेलाई धेरैले स्वरबाट चिन्थे । रेडियोमा बोल्नेको बेग्लै इज्जत हुन्थ्यो । रेडियोमा बोल्ने मान्छे आउँदै छ भन्ने थाहा पाएपछि स्थानीयहरू गुचुप्प भएर पर्खीबस्थे ।
“रेडियोमा बोल्ड भ्वाइस सुनेर व्यक्तिको दिमागमा एक खालको इमेज तयार भएको हुँदो रहेछ । रेडियोमा बोल्ने मान्छे मोर्डन होला, कपाल काटेको र लिपस्टिक लगाएको होला भन्ने सोच्थे । तर, म त्यस्तो थिइनँ । आम नेपाली महिलाजस्तै सामान्य गेटअपमा थिएँ । त्यसैले आफूले सोचेजस्तो नपाएपछि कति त डिस्पोइन्टेड हुन्थे । ‘ए तपाईं नै हो र ?’ भन्थे । तर, कतिले त खाना खान पनि बोलाउँथे । ‘हाम्रो भान्सा, बैठक र बेडरुममा गुञ्जिने तपाईं त हाम्रो परिवारको सदस्यजस्तै हो’ भनेर खाना खान बोलाउने पनि धेरै थिए,” उनले भनिन्, “विराटनगर जाऊँ अथवा झापा— जहाँ पुग्दा पनि मेरो क्रेज थियो तर रेडियो नेपालभित्र भने कहिल्यै कसैले मेरो तारिफ गरेन ।”
परीक्षा भयो । माथिल्लो पदमा जाने अवसर थियो । प्रयास नगर्ने कुरै भएन । गरिन् । अधिकृतको परीक्षा थियो । उत्तीर्ण भइन् ।
विडम्मना !
किन ?
त्यसपछि उनलाई लेखा शाखामा सरुवा गरियो ।
भोग्यप्रसाद निर्देशक थिए । उनले कृष्णालाई लिएर गए तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाकोमा । सूर्यबहादुरले भने, “कहाँ हुन्छ एकाउन्टेन्टमा ? हुँदैन । रेडियो नेपालका कार्यक्रममै काम गर्नुपर्छ । म भन्छु ।”
त्यसपछि उनी लेखाबाट पुनः समाचार शाखामै पुगिन् ।
तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा, मरिचमान सिंह र लोकेन्द्रबहादुर चन्दको अन्तर्वार्ता लिइन् उनले । योगी नरहरिनाथको अन्तर्वार्ता कृष्णाले आजसम्म बिर्सिएकी छैनन् ।
अन्तर्वार्ता लिन गइन् । “के बारेमा बोल्ने ?” नरिहरिनाथले सोधे । नयाँ शिक्षा नीति भर्खरै जारी भएको थियो । त्यसैबारे अन्तर्वार्ता लिन आएको कृष्णाले बताइन् ।
“ल तयार,” उनले भने । कृष्णाले स्पुल (रेकर्डर) अन गरिन् ।
आँखा बन्द गरेर योगी नरहरिनाथ बोल्न थाले । दुई घण्टासम्म उनले आँखा बन्द गरेरै लगातार बोले । “त्यति ठूलो मान्छे, बीचमा रोक्न पनि नमिल्ने । स्पुलमा आधा घण्टाभन्दा धेरै रेकर्ड हुँदैनथ्यो तर पनि म सुनेर बसिरहें । दुई घण्टा बोलेपछि उहाँले भन्नुभयो, ‘पुग्यो ? यति भए हुन्छ ?’ म ‘पुग्यो’ भनेर आधा घण्टा रेकर्ड भएको स्पुल लिएर आएँ ।”
० ० ०
३१ वर्ष ६ महिना काम गरिन् कृष्णाले रेडियो नेपालमा । अनुदार पञ्चायती व्यवस्था र उदारवादी प्रजातन्त्रमा काम गर्ने मौका पाइन् । पञ्चायतमा जे पढ् भनेर दिन्छन्, त्यही पढ्नुको विकल्प थिएन ।
दुई वर्षअघि उनलाई ठूलो आन्द्राको क्यान्सर भयो । डक्टरले क्यान्सर पहिचान गरेको दुई दिनमा २० लाख रुपैयाँ तिरेर अपरेसन गरिन् । त्यसैले उनी क्यान्सर सर्भाइभर हुुन् अहिले । क्यान्सर भएपछि किमो लिनुपर्यो । त्यसको असर उनको मस्तिष्कमा पर्यो । त्यसैले केही तिथि–मितिमा उनलाई संशय हुन्छ । ठीक मिति सम्झिन अहिले गाह्रो छ तर पनि उनलाई सम्झना छ— राजनीतिमा चासो भएकाहरू मनमोहन अधिकारीको भाषण रेकर्ड गरेर ल्याउँथे र ढोका थुनेर सुन्थे । उनी ढोकाबाहिरबाट कान थापेर सुन्थिन् ती भाषण ।
फरक–फरक प्रधानमन्त्री
पञ्चायतको समय । ०३६ सालको कुरा । सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । डा. मोहनमान सैंजू राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए । सरकारले ‘घर सँगा पुर्जी’ कार्यक्रम ल्याएको थियो । यो कार्यक्रमअन्तर्गत एक दिनमा एक व्यक्तिले कति भारी दाउरा काटेर घर लैजान सक्थ्यो, त्यति दिइन्थ्यो । यसले बन सखाप हुने चिन्ता धेरैमा थियो ।
असार १३ गते वृक्षारोपण महोत्सव हुन्थ्यो । त्यो कार्यक्रममा प्रधानमन्त्री पनि सहभागी हुन्थे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. सैंजूले कृष्णालाई ‘घर सँगा पुर्जी’ कार्यक्रमले वन विनास हुँदैन ? भन्ने प्रश्न सोध्नू भनेका थिए ।
कृष्णाले त्यही प्रश्न सूर्यबहादुरलाई सोधिन् । सूर्यबहादुर रिसाएर चूर हुँदै उल्टै सोधे, “यो प्रश्न तिमीलाई कसलाई सिकाएको ? कसको प्रश्न हो यो ? भन मलाई ।”
कृष्णाले भनिन्, “म आफैंले सोधेकी हुँ ।”
सूर्यबहादुरले भने, “म यसबारे बोल्दिनँ ।”
सूर्यबहादुर साँच्चै यसबारे बोल्दै बोलेनन् ।
० ० ०
सूर्यबहादुर असाध्यै खराे स्वभावका थिए । मरिचमान सिंह भने भद्र थिए । उनको आफ्नै विशेषता थियो । प्रधानमन्त्री भएका बेला अन्तर्वार्ता लिन जाँदा पनि ‘अँ, अब अन्तर्वार्ता शुरु गरौं’ भनेपछि उनी भन्थे, “एउटा चुरोट खाएर शुरु गरौं ?” चुरोट नपिएसम्म उनी बोल्दै बोल्दैनथे ।
लोकेन्द्रबहादुर चन्द कृष्णाको अनुभवमा सबैभन्दा नरम स्वाभावका प्रधानमन्त्री थिए । “प्रधानमन्त्री हुँदा पनि उहाँ ‘तपाईंसँग कुरा गर्न म हात धोएर आउँछु है’ भन्दै बिरुवा रोप्न छोडेर हात धोई आउनुहुन्थ्यो,” लोकेन्द्रबहादुरबारे कृष्णा भन्छिन्, “असाध्यै सरल स्वभाव थियो उहाँको । अहिले पनि उहाँ कतै बाटोमा भेट हुँदा आधा घण्टा कुरा गर्नुहुन्छ ।”
लोकेन्द्रबहादुर कृष्णाको स्वरका ठूलो प्रसंशक । उनी भन्थे, “तपाईंको जस्तो गोल्डेन भ्वाइस मैले सुनेकै छैन । कहाँबाट सिक्नुभयो ? हामी नेपाली बोल्ने भएर पनि तपाईंजस्तो राम्रो बोल्न सक्दैनौं ।”
मरिचमान पनि हुन् कृष्णाको जादूमयी स्वरका प्रशंसक । उनले त आफ्नो चुनावीसभामा आएर बोलिदेऊ भनेर आग्रह पनि गरे । कृष्णा भन्छिन्, “तर म गइनँ ।”
० ० ०
कृष्णा मन्त्रीको नाम भन्न चाहिनन् तर उनले ती मन्त्रीको किस्सा सुनाइन् ।
मन्त्रीको भाषण थियो । तीन वटा बुलेटिनमा कृष्णाले ती मन्त्रीको भाषणको समाचार पढिन् । चौथोपटकको बुलेटिनमा उनले त्यो समाचार रिप्लेस गरिन् । समाचार पढेर स्टुडियो बाहिर निस्किनेबित्तिकै फोन आयो ।
“को बोलेको ?”
“म कृष्णा ।”
“किन झिकेको मन्त्रीको समाचार ?”
“तीनपटक पढिसकेको अझै कतिपटक पढ्ने भनेर नपढेको,” स्पष्टीकरण दिनूपर्यो कृष्णाले ।
प्रचण्डमान सिंह समाचार प्रमुख थिए । कृष्णालाई लिएर उनी माफी माग्न मन्त्रीको कार्यालयमा पुगे । मन्त्रीलाई प्रचण्डमानले भने, “उनलाई ज्वरो आएर टाउको दुखिरहेको रहेछ । टाउको दुःखेकै बेला समाचार पढ्न जाँदा समाचारको पाना नै छुटेछ । एक पटकलाई माफी पाऊँ ।”
अघिल्लो दिन पुरानो भएकाले समाचार झिकेको भनेर कृष्णा आफैंले भनेकी थिइन् । प्रचण्डमानको पछाडि उभिएर उनी चुपचाप सुनिरहेकी थिइन् । थोरै रिस, धेरै हाँसो उठिरहेको थियो उनलाई तर हाँसो ओठबाट फुत्किएन । सजायस्वरूप उनले तीन दिन समाचार पढ्न पाइनन् ।
समाचार मुखले पढेरमात्रै हुँदैन, त्यसमा भिज्ज सक्नुपर्छ भन्ने कृष्णा समाचार नबुझी पढ्दा न्याय नहुने बताउँछिन् । “मैले जति समय समाचार पढें, त्यो बेला संसारभर कसको सरकार छ र सरकार प्रमुख को छ, नाम मलाई पूरै थाहा थियो,” उनले सुनाइन् ।
० ० ०
०४९ मा कृष्णाले रेडियो नेपालबाट अवकाश पाइन् । तर, त्यसपछि दुई वर्षसम्म उनी रेडियो नेपालमा नयाँ पुस्तालाई सिकाउन गइन् । प्रत्येक मंगलबार बिहान ७ बजेको समाचार पढ्थिन् ।
“चिफ इन्जिनियर महेश अधिकारी मेरो घरमै आएर रिक्वेस्ट गर्नुभयो, त्यसैले म गएँ । रेडियोबाट अवकाश पाएपछि बल्ल मलाई बिहान ७ बजेको समाचार पढ्न दिइयो । तर, मैले सिकाएको सिकेजस्तो लाग्दैन । कि बाइबर्थ हुनुपर्छ, होइन भने सिक्न मेहनत गर्नुपर्छ,” थोरै असन्तुष्टि पोख्छिन् उनी । दुई वर्ष बिनापैसा काम गरिन् उनले ।
उनको स्वरको उच्च माग थियो । कहिल्यै आफ्नो स्वरलाई लुकाएर बस्नु परेन । रेडियो नेपालपछि उनी कान्तिपुर एफएम गइन् । कान्तिपुरको अफिस पुल्चोकमा, उनको बसाइ बूढानीलकण्ठ । आउन–जानै टाढा भयो । त्यसैले धेरै समय कान्तिपुरको तरंगमा उनको स्वर फैलिन पाएन । उनी बोल्न थालिन् इमेज एफएममा । त्यहाँ पनि उनले थुप्रै कार्यक्रम चलाइन्— ‘पक्षी संसार’, ‘नासो’ लगायत ।
“नासो निकै लोकप्रिय भयो । देशभर ७५ वटा स्रोता क्लब नै गठन भए,” आफ्नो उपलब्धि सुनाउँछिन् कृष्णा । वन तथा वातावरण संरक्षण कार्यक्रमको विषय थियो ।
क्यान्सरबाट उनले त छुट्कारा पाइन् तर यो रोगबाट हजारौं व्यक्ति अहिले पनि पीडित छन् । त्यसैले उनी क्यान्सर रोगीमा आत्मबल नघटोस् र जिन्दगी अझै छ भनेर रेडियो कार्यक्रम चलाउँछिन् ‘आशा’ । कृष्णा भक्तपुर क्यान्सर अस्पतालकी सद्भावना दूत पनि हुन् । क्यान्सरबाट पनि मुक्त हुन सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु ‘आशा’को उद्देश्य हो ।
आँखा दानको कार्यक्रम पनि छ उनको, नाम हो— ‘उज्यालो’ । २० वर्ष भयो उनले यो कार्यक्रम शुरु गरेको । क्यान्सर हुँदा पनि उनले यो कार्यक्रम चलाउन छोडिनन् ।
उनी डक्टरलाई सोध्थिन्, “म ‘उज्यालो’ चलाउन सक्छु ?”
डक्टर भन्थे, “एस, यू क्यान !”
उनलाई ढुक्क लाग्थ्यो । मन खुशी हुन्थ्यो ।
अर्को लुकेको पाटो पनि सुनाइन्, “मेरा हरेक कार्यक्रमको नाम चेतन कार्कीले राख्नुभएको हो ।”
प्रधानमन्त्रीहरूले नै ‘गोल्डेन भ्वाइस’ भनेर तारिफ गरेको स्वर । विज्ञापनमा बोल्न अफरै अफर आउँथे । तर, उनले कहिल्यै पनि विज्ञापनका अफर स्वीकारिनन् ।
किन ?
एकै वाक्यमा उनले जवाफ दिइन्, “१८–२० हजार रुपैयाँ लिएर कार्यक्रम गर्ने म सस्ता विज्ञापनमा बोलेर आफ्नै स्वरको आफैं अवमूल्यन गर्न चाहन्नथें । माइकल (हरिश) चन्द र मलाई कति अफर आयो विज्ञापनका लागि तर हामी दुवैले कहिल्यै बोलेनौं ।”
० ० ०
०२३ सालमा फर्किइन् कृष्णा । नयाँ सडकमा एउटा पसल थियो । उनले त्यहाँ पुगेर सोधिन्, “फलानो पसल कहाँ छ ?”
पसलेले माथिल्लो तलामा देखाइदिए । उनी फटाफट त्यतैतर्फ लागिन् । एकैछिनपछि त्यही पसले आएर उनलाई सोध्यो, “तपाईं रेडियो नेपालमा समाचार पढ्ने कृष्णा ताम्राकार होइन ? स्वर त्यही हो । स्वर सुनेर मैले जस्तो कल्पना गरेको थिएँ, तपाईंको हिँडाइ पनि त्यस्तै स्मार्ट लाग्यो । स्वर सुनेर कल्पना गरेको हिँडाइबाट तपार्ईं चिनेजस्तो लागेर सोध्न आएको ।”
ती व्यक्ति थिए रामप्रसाद कँडेल । पछि उनी लोकबाजा संग्रहालयका अध्यक्ष भए ।
“त्यसरी चिनजान भएका रामप्रसादजी पछि मेरो साथी हुनुभयो । अहिलेसम्म पनि उहाँ मेरो साथी हुनुहुन्छ । हिजोमात्रै पनि उहाँले फोन गर्नुभएको थियो । समाचार पढ्दा बिग्रिएको दिन म नयाँ सडकको बाटो नै हिँड्दिनथें लाजले,” कृष्णा रेडियो क्रेज र त्यसको प्रभाव सम्झिन्छिन् ।
५७ वर्षदेखि रेडियोमा उनको स्वर गुञ्जिरहेको छ, अहिलेसम्म पनि । उमेर ७८ वर्ष पुग्यो तर उनको स्वर आज पनि उस्तै छ । कुराकानीको बिट मार्दै उनले भनिन्, “आज पनि मेरो स्वर ०१८ सालमा बोल्दा जस्तो थियो, त्यस्तै छ भन्छन् मान्छे । त्यत्रो किमो लिँदा पनि भ्वाइस दबेन । मान्छे छक्क पर्छन् ।”