
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि क्रेमलिनले दिएको धम्कीलाई लिएर अन्तर्राष्ट्रि फौजदारी अदालत (आईसीसी)ले चिन्ता व्यक्त गरेको छ ।
पूर्व रुसी राष्ट्रपति दिमित्रि मेदभेदेवले नेदरल्यान्ड्सको हेगस्थित फौजदारी अदालतमा हाइपरसोनिक मिसाइल हान्ने धम्की दिएपछि बुधबार आईसीसीले वक्तव्य जारी गरेको हो ।
गत हप्ताको शुक्रबार आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि गत सोमबार रुसी सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका मेदभेदेवले भनेका थिए, “हेगको अदालतमा रुसी जहाजबाट उत्तरी सागर हुँदै हाइपरसोनिक मिसाइल प्रहार गरिएको कल्पना गर्न सम्भव छ ।”
रुसी अनुसन्धान निकायले आईसीसीका अभियोजक करिम खान र पुटिनविरुद्ध वारन्ट जारी गर्ने न्यायाधीसहरूविरुद्ध अपराधिक मुद्दा लगाएपछि आईसीसीले बुधबार वक्तव्य जारी गरेको हो ।
आईसीसीको राज्य पार्टीसभाले भनेको छ, “अन्तर्राष्ट्रिय कानुनअन्तर्गत निषेधित कार्यहरूको लागि जवाफदेहिता सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई बाधा पुर्याउने यी प्रयासहरूप्रति खेद छ ।”
वक्तव्यमा उल्लेख छ, “अन्तर्राष्ट्रिय फौजदारी अदालतप्रतिको अटल समर्थनलाई पुनः पुष्टि गर्छ ।”