site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाविरुद्धको खोप : बुस्टर डोजमा सरकारको जोड, नागरिकमा छैन उत्साह 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले कोरोनाविरुद्धको बुस्टर डोज खोप लिन पटकपटक नागरिकलाई आग्रह गर्दै आएको छ । तर दुई डोज लगाइसकेका अधिकांश नागरिकलाई बुस्टर डोज खोपमा चासो नै छैन । 

अभियानमार्फत खोप कार्यक्रम सञ्चालन गर्दापनि बुस्टर डोजप्रति नागरिकको उत्साहजनक सहभागिता नभएपछि खोप कार्यक्रम सञ्चालनको जिम्मा जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरूलाई नै दिइएको छ । आगामी दिनमा खोप लगाउनेहरूको सहभागितालाई हेरेर मात्रै थप खोप ल्याउने निस्कर्षमा स्वास्थ्य सेवा विभाग पुगेको छ । 

३८ प्रतिशतले मात्रै लगाए बुस्टर डोज खोप 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पाँच वर्षमाथिका सतप्रतिशत नागरिकले दुई डोज खोप लगाइसकेका छन् । तर, बुस्टर डोज लगाउनेको दर भने ३८.८ प्रतिशत मात्रै छ । कोरोना संक्रमणका नयाँ भेरियन्टहरू देखा परिरहँदा संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रालयले पटकपटक बुस्टर डोज लिन नागरिकलाई आग्रह गरिरहेको छ । 

गत फागुन अन्तिम साता स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका भित्र दुईदिने बुस्टर डोज खोप कार्यक्रम राखेको थियो । तर, सो कार्यक्रममा नागरिकको उल्लेख्य उपस्थिति नभएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारी बताउँछन् ।

काठमाडौं जिल्लाभित्र बुधबारदेखि दोस्रो बुस्टर डोज खोप कार्यक्रम सुरु गरेको छ । “यसअघि महानगरमा पनि खोप लगाउनेको उपस्थिति न्यून भयो । यसपटक कस्तो हुन्छ हेरौँ, अवस्था हेरेर मात्रै थप खोप कार्यक्रम अघि बढाउने हो” अधिकारीले भने । 

लगाउनेको संख्या हेरेर मात्रै थप खोप ल्याइने 
स्वास्थ्य सेवा विभागले पछिल्लो पटक दोस्रो बुस्टरका लागि तीस लाख डोज फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत ल्याइएको सो खोप अहिले प्रदेश स्तरबाट वितरण भइरहेको छ । 

हाललाई ५५ वर्षमाथिका नागरिक, गर्भवती, स्वास्थ्यकर्मी तथा १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधी क्षमता कम भएकालाई खोप दिइने योजना भएपनि दुई डोज खोप लगाएको तीन महिना पूरा भएका सबैलाई सो खोप दिने विभागको योजना छ । 

विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम आवश्यकता र खपत हेरेर थप खोप ल्याइने बताउँछन् । देशव्यापी अभियान चलाउँदासमेत नागरिकको उत्साहजनक उपस्थिति देखिएन । त्यसैले बुस्टर डोजको महत्वबारे बुझाउने र कहाँ कहिले खोप दिने भन्नेबारे निर्णय गर्ने अधिकार प्रदेश र स्थानीय तहहरूलाई नै दिएको डा. गौतम बताउँछन् । 

“अहिले प्राथमिकताको वर्ग छुट्याए पनि पहिलो बुस्टर डोज लगाउन छुटेकालाई बुस्टर मात्रा र बुस्टर लगाएको ६ महिना पूरा भएकाहरूलाई दोस्रो बुस्टर डोज खोप दिने हो, बुस्टरमा  कतिको उपस्थिति हुन्छ त्यसैअनुसार कोभ्याक्सले हामीलाई खोप दिन्छ” डा. गौतमले भने । 

उनका अनुसार नेपालले खोपको खपत रिपोर्ट बुझाएसँगै कोभ्याक्सले नेपाललाई माग गरेबमोजिम थप खोप अनुदानस्वरुप उपलब्ध गराउनेछ ।  

फाइजर खोप अधिकतम ७० दिनभित्र उपभोग गरिसक्ुनपर्ने , नेपालमा अल्ट्रा कोल्डचेन सीमित मात्रामा भएकोजस्ता कारणले बुस्टरमा ल्याइने खोप फाइजर मात्रै नहुने उनको भनाइ छ । 

किन लगाउने बुस्टर डोज खोप ? 
नेपालमा अहिले दिइरहेको फाइजर बाइभ्यालेन्ट खोपले ओमिक्रोनका सब भेरियन्टविरुद्ध पनि काम गर्ने अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले पुष्टि गरिसकेको छ । यस अर्थमा फाइजर बुस्टर डोजले ओमिक्रोनका सब भेरियन्टहरूबाट सिकिस्त गराउने जोखिम कम गराउने देखिएको छ । 

खोपको यो महत्वबारे सरकारले सबै नागरिकलाई बुझाउन नसक्दा पनि बुस्टर डोज लगाउनेको संख्या घटेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको बुझाइ छ । 

“कोरोनाविरुद्धको खोपले संक्रमण नै हुन नदिने भन्ने होइन तर सिकिस्त हुने तथा अस्पताल भर्ना हुने सम्भावना न्यूनीकरण गर्छ , यसकारण पनि बुस्टर डोज खोप लिन म सबैलाई अनुरोध गर्छु ” डा. पुन भन्छन् । 

यदि पहिलेजस्तै महामारीको अवस्था भएमा खोपले धेरैलाई अस्पतालसम्म पुग्ने अवस्थाबाट बचाउने उनको भनाइ छ । “संक्रमण बढेपछि मात्रै खोप लगाउन अघि सर्ने हाम्रो परिपाटी छ तर कम्तीमा पनि दुई मात्रा खोप लगाउने त्यसपछि पनि बुस्टर लगाउँदा थप सुरक्षित भइन्छ, यो सबैले बुझ्नु जरुरी छ” डा. पुनको सुझाव छ । 

कहिले लगाउने पहिलो र दोस्रो बुस्टर खोप ? 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले पहिलो र दोस्रो दुवै डोज खोप दिँदैछ । मन्त्रालयका अनुसार कोरोना संक्रमण भएका व्यक्तिहरूले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लगाउन मिल्छ । त्यस्तै, दुई डोज खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन मिल्छ भने पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो अर्थात् थप बुस्टर डोज खोप लगाउन मिल्ने मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro