site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा सरकारमा जाने : को–को पठाउने ? नयाँलाई अवसर दिन दबाब
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनः सरकारमा सहभागी हुने तयारीमा छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको पार्टी अब विस्तार हुने मन्त्रिमण्डलमा सहभागी हुने तयारीमा जुटेको हो ।

प्रतिनिधिसभामा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सरकारमा सहभागी हुने बताए । प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको र सत्ता गठबन्धनको एक घटक भएकाले पनि सरकारमा जाने उनको भनाइ छ ।

यो विषयमा केही दिनभित्र पार्टीमा छलफल गरेर आधिकारिक निर्णय गरिने उनले बताए । “हाम्रो एजेन्डा र हिजोकै गठबन्धनमा हुँदाका साझा न्यूनतम कार्यक्रमलाई अघि बढाउँछु भनेपछि हामीले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेका हौँ,” उनले भने, “हाम्रो एजेन्डा स्थापित गर्न र जनभावनाको कदर गर्दै ‘डेलिभरी बेस’ काम गर्न सरकारमा जान्छौँ । अहिले म यति मात्र भन्न सक्छु ।”

रास्वपा प्रतिनिधिसभाको चौथो ठूलो दल हो । गएको मंसिर ४ गते भएको निर्वाचनबाट पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर २० सिट जितेको थियो । पुस १० गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा)सहित सातदलीय गठबन्धन बन्दा रास्वपा पनि महत्त्वपूर्ण घटक थियो ।

पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । सातमध्ये एक थिए, रास्वपाका सभापति रवि लामिछाने । उनले उपप्रधान एवं गृहमन्त्रीका रूपमा शपथ लिएका थिए ।

माघ ३ मा मन्त्रिपरिषद् विस्तार गर्दा रास्वपाबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिए । उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बने । डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाइन् ।

तर, पार्टी लामो समयसम्म सरकारमा सहभागी भएन । माघ २२ मा सरकार छाड्यो । मन्त्री बनेकाहरूले राजीनामापत्र बुझाए । कारणचाहिँ सभापति लामिछानेको सांसद पद खारेजी र सत्तामा शक्ति बाँडफाँटको विषय थियो । अर्थात्, पार्टीले पाएको गृह मन्त्रालय पुनः पाउनुपर्ने विवाद थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ मा लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त नगरेको फैसला गर्‍यो । फैसलाले उनी सांसद बन्न अयोग्य भएको ठहर गर्‍यो । लामिछानेले सांसद र मन्त्री पद गुमाए ।

लामिछानेले माघ १५ मा प्रक्रिया पूरा गरेर पुनः नेपाली नागरिकता लिए । पार्टी राजनीतिमा सक्रिय भए । त्यसको भोलिपल्टबाटै उनले पुनः पार्टीले गृह मन्त्रालय पाउनुपर्ने भन्दै ‘लबिङ’ गरे । प्रधानमन्त्री प्रचण्डले रास्वपाको मागबमोजिम गृह मन्त्रालय दिएनन् । रास्वपाले माघ २२ मा सरकार छाड्यो । तर, पार्टीले सरकारलाई दिएको समर्थन यथावत् राखेको थियो ।

राष्ट्रपति निर्वाचनताका नेपाली राजनीतिमा नयाँ समीकरण बन्यो । फागुन १३ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउँदा राजनीतिक समीकरण फेरिएको थियो । पुस १० मा बनेको सत्ता समीकरण टुट्यो । सोही दिन राप्रपा सरकारबाट बाहिरियो । फागुन १५ मा एमालेले पनि सरकार छाड्यो ।

रास्वपाका सांसदले फागुन २५ मा राष्ट्रपति निर्वाचनमा पौडेलका पक्षमा मतदान गरे । चैत ३ मा उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीका उमेदवार ममता झाका पक्षमा मतदान गरे । रास्वपाले चैत ६ मा प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दियो ।

योबीचमा सरकारले सभापति लामिछानेविरुद्ध राहदानी प्रकरणमा पनि मुद्द्दा नचलाउने निर्णय गरिसकेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले चारबुँदे आधारसहित लामिछानेविरुद्ध मुद्द्दा नचलाउने निर्णय गरेको थियो । उच्च सरकारी वकिल कार्यालय पाटनले पनि उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्‍यो । सोमबार महान्यायाधिवक्ता कार्यालयले त्यसलाई सदर गर्दै लामिछानेलाई ‘क्लिन चिट’ दियो । यसले पनि रास्वपा सरकारमा जाने सम्भावना बढेको राजनीतिकवृत्तमा चर्चा छ ।

“राजनीतिक समीकरण परिवर्तन भयो । परिस्थिति हामीअनुकूल पनि हुँदै आएको छ । बुझ्नुस्, सरकारमा सहभागी हुने गरेर घटनाक्रम विकसित भएको छ,” रास्वपाका एक सांसदले बाह्रखरीसँग भने ।

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सरकारमा सहभागी भएर आफ्ना एजेन्डा लागु गर्नुपर्ने मत पार्टीभित्र बलियो रहेको बताउँछन् । “पार्टीले औपचारिक निर्णय गरिसकेको छैन । तर, धेरै साथीहरू पार्टीको नीति कार्यक्रम लागु गर्न अब बन्ने बजेटमा विकास र समृद्धिको कार्यक्रमलाई प्राथमिकतामा पारेर काम गर्नका लागि पनि सरकारमा जानुपर्ने मत बढी छ,” उनले भने ।

उपनिर्वाचनकेन्द्रित रणनीति र कम्तीमा तीन मन्त्रालय !
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्न सोमबार बसेको रास्वपा केन्द्रीय समिति र सांसदहरूको संयुक्त बैठकमा सरकारमा सहभागिताका विषयमा पनि कुराकानी भएको थियो । सरकारमा सहभागी भएर जनमतको सम्मान गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए । मन्त्रिपरिषद्मा पार्टी पनि सहभागी भएर चुनौतीलाई अवसरमा बदल्नुपर्नेमा निर्वाचन जितेका सांसदहरूले जोडबल गरेको अर्का एक सांसद बताउँछन् ।

तत्काल सरकारमा सहभागी हुने कि चितवन–२ मा हुने उपनिर्वाचन (वैशाख १०)पश्चात् सहभागी हुने भन्नेमा पार्टीभित्र मतभेद छ । तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने भएकाले के गर्ने भन्ने विषयमा पार्टीभित्र दुई धार देखिएको छ ।

“पार्टी सभापति लड्ने उपनिर्वाचन हो, जुन हाम्रो पार्टी प्रतिष्ठासँग पनि जोडिएको छ । त्यसकारण हामी रणनीतिक रूपमा अघि बढ्नुको विकल्प छैन,” ती सांसदले भने, “गठबन्धनमा छौँ, चितवनबाहेक अन्य दुई निर्वाचन क्षेत्रमा पनि माहोल राम्रो छ । उमेदवार उठाएर उपनिर्वाचन लड्नुपर्ने दबाब हामीमा छ । माहोल बिग्रन हुँदैन भन्नेमा हामी छौँ ।”

सरकारको सफलता वा असफलतामा सहभागी दलहरू भागीदार हुन्छन् । अर्थ व्यवस्थाको संकट र जनतामा देखिएको आक्रोशले कतै उपनिर्वाचनको परिणाममा असर त गर्दैन भन्ने डर पार्टीभित्र छ ।

यता, गठबन्धन र संसदीय राजनीतिमा समेत चौथो ठूलो घटक भएकाले प्रधानमन्त्री प्रचण्ड रास्वपालाई तीन मन्त्रालय दिने तयारीमा छन् । काम देखाउन सकिने प्रभावशाली मन्त्रालय नै आफूहरूले दाबी गर्ने रास्वपा नेताहरू बताउँछन् । शिक्षा र स्वास्थ्यमध्ये एक, खेलकुद मन्त्रालय र पुनः श्रम मन्त्रालयमा दाबी हुन सक्ने केही रास्वपा नेताको बुझाइ छ ।

तर, पार्टीका प्रमुख सचेतक सन्तोष परियार मन्त्रिपरिषद्मा सहभागिताका विषयमा पार्टीभित्र छलफल नभएको जिकिर गर्छन् । “पार्टीभित्र छलफल भएको छैन । त्यसकारण कुन मन्त्रालय र कति शक्ति लिएर सरकारमा जाने भन्ने विषयमा प्रतिक्रिया दिने अवस्था छैन,” उनले भने, “प्रधानमन्त्रीले बोलाएपछि छलफल सुरु हुने हो । पहिले उताबाट प्रस्ताव आउनुपर्‍यो नि !”

पुस १० मा बनेको सातदलीय गठबन्धनजस्तो सहज अवस्थामा अहिले रास्वपा छैन । नेताहरू यो कुरा अनौपचारिक संवादमा स्वीकार गर्छन् । अहिले गठबन्धनभित्र धेरै घटक भएको र शक्ति सन्तुलन मिलाउनुपर्ने कारणले त्यति बेलाजस्तो ‘पावरफुल’ मन्त्रालय पाइने विश्वास नेताहरूमा छैन ।

सहमहामन्त्री बुर्लाकोटी भन्छन्, “सरकारमा जाने विषयमा विमति नहोला । तर, कसरी जाने भनेर प्रधानमन्त्रीसँग ठोस छलफल नभईकन भन्न सकिँदैन । हाम्रो उद्देश्य ‘डेलिभरी विथ गुड गभरनेन्स’ हो । विषयहरू आपसी संवादको माध्यामबाट टुंगिँदै जानेछ ।”

नयाँ अनुहारलाई नेतृत्व दिन दबाब
योपटक पार्टीबाट चर्चामा रहेका अनुहारलाई सरकारमा पठाउन बहस हुन थालेको एक सांसद सुनाउँछन् । पार्टीभित्र क्षमता भएका र विषयविज्ञ सांसदहरूलाई मन्त्री बनाएर पठाउनुपर्ने विषयमा आफूहरूले दबाब दिइरहेको ती सांसद बताउँछन् ।

यसको अर्थ सबै ‘नयाँ अनुहार’ले अवसर पाउने हुन् भन्ने बाह्रखरीको प्रश्नमा ती सांसदले आफूहरू ‘पुरानै साथीहरूलाई दोहोर्‍याउन नहुने पक्षमा रहेको’ बताए । अझ प्रत्यक्ष चुनाव जितेका र समानुपातिकका केही चर्चित तथा संसदीय अभ्यास जानेकाहरूलाई मन्त्री बनाउनुपर्ने र बाँकी समानुपातिक सांसदलाई संसदीय अभ्यास र पार्टीको काममा अभ्यस्त गराउनुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको ती सांसदको भनाइ छ ।

“पब्लिकमा इमेज बनेका र क्षमता भएका नयाँ साथीहरूलाई सरकारमा पठाउँदा पार्टीको इमेज पनि बढ्ने र पब्लिक एसेप्टेन्स बढ्ने भएकाले हामीले त्यसैअनुरूप दबाब सिर्जना गरिरहेका छौँ,” ती सांसदले भने ।

ती नेताका अनुसार अहिले सरकारमा सोविता गौतम, विराजभक्त श्रेष्ठ, मनीष झालगायत सांसदलाई पठाउनुपर्ने पक्षमा बहस भइरहेको छ । “विराजजीको संसदीय राजनीतिमा राम्रो अनुभव छ । सोविताजीको पब्लिक इमेज राम्रो बनेको छ । मनीषजी पनि विषयगत विज्ञता राम्रो छ । सन्तोषजी पनि हुनुहन्छ,” ती सांसदले भने, “हामीले यस्ता मान्छेहरू सरकारमा पठाउन पायौँ र काम गर्न सक्यौँ भने हाम्रो जनतामा सकारात्मक प्रभाव पर्छ । उहाँहरूलाई सरकारमा पठाएर अन्य सांसदहरूलाई संसदीय अभ्यासमा अभ्यस्त गराउनुपर्छ भन्ने हो । क्षमता भएका केही साथीहरूले संसदीय समितिको पनि नेतृत्व गर्नुहुन्छ र गर्नुपर्छ भन्ने माग पार्टीभित्र हाम्रो छ ।”

ती नेताका अनुसार पुरानै मन्त्रीहरू दोहोरिनुपर्ने आवाज पनि पार्टीभित्र उठाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro