
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिँदैछन् ।
माओवादीका अध्यक्ष समेत रहेका प्रचण्ड गएको पुस १० गते नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।
पुस २६ गते संसद्बाट २६८ सांसदको विश्वासको पाएका थिए । तर, राष्ट्रपति निर्वाचनमा पुग्दा चुनावअघिकै गठबन्धन ब्युँतिएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि फेरि विश्वासको मत लिनुपरेको थियो ।
दोस्रोपटक विश्वासको मत लिइरहेका प्रचण्डले प्रतिनिधिसभाको पुस २६ गतेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको कदम सही थियो भनि दिएको अभिव्यक्तिले अविश्वास र संसद्कोे स्थायित्वमा प्रश्न खडा गरेको बताए ।
उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास गर्दा एमालेले सरकार किन छाडेको भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताए । आफूले यति छिट्टै विश्वासको मत माग्नुपर्ला भन्ने नसोचेको पनि बताए ।
पुस २६ गते प्रधामन्त्रीले विश्वासको लिँदा संसद् विघटनबारे बोलेका एमाले अध्यक्ष ओली सोमबारको बैठकमा बोलेनन् तर बिहान बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डप्रति खनिएका थिए ।
सबै दलका प्रमुखले सम्बोधन गरे पनि ओली संसद्मा सुनिएनन् । संसदीय दलको बैठकमा ओलीले प्रचण्डलाई जंंगबहादुरको संज्ञा दिएका थिए ।
“उहाँ लेफ्टहरू मिल्नु हुन्न भनेर सिकाइरहनुभएको छ । उहाँ जुनको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँबाहेक अरूमा केही दोष छैन,” ओलीले भने, “प्रधानमन्त्री जंगबहादुर शैलीमा, उहाँले जे भन्यो त्यही हुन्छ । बोल्न पनि दिनु हुन्न । बोलेझैँ गरे त्यसको पत्ता साफ हुन्छ ।”
आफूले प्रधानमन्त्री बनाएको भोलिपल्टैदेखि प्रचण्डले इमान छाडेको आरोप पनि उनले लगाए ।
“प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री भएको भोलिबाट इमान छाड्नुभयो । बेइमानी सुरु गर्नुभयो,” ओलीले आरोप लगाए ।
संसदीय दलको बैठकमा ओलीले उपाध्यक्ष विष्णु पौडेललाई बोल्न लगाए । ओलीले संसदीय दलको बैठकमा सांसदहरुलाई निर्देशन दिएपछि बैठकमा नबोल्ने बताएका थिए ।
प्रतिनिसिभा बैठकमा बोल्ने विषयबारे एमाले संसदीय दलमा छलफल रोचक थियो ।
छेउमा बसेका संसदीय दलका उपनेता सुवास नेम्वाङतिर ओलीले हेर्र्र्दै सोधे, “को बोल्नुहुन्छ ? एकजनाले बोल्नुस् ।”
नेम्वाङको संकेतपछि उनले उपाध्यक्ष पौडेललाई बोल्न आग्रह गरे ।
“तपाईं बोल्नुहुन्छ ?,” ओलीले पौडेललाई सोधे ।
पौडेल अल्मलिँदै ओलीलाई नै बोल्न आग्रह गरे । तर, ओलीले पौडेललाई नै बोल्न निर्देशन दिए, “तपाईं बोल्नुस् न आज ।”
ओलीको निर्देशनपछि बोल्ने विषयबारे पौडेलले जिज्ञासा राखे ।
“मैले भनेका कुराहरु राष्ट्रियताको कुराहरु । हिजो र आजका व्यवहार हेर्दा सकिँदैन । अस्तिको व्यवहार हेर्दा सकिँदैन,” ओलीले पौडेललाई भने, “यो प्रस्ताव आएकै अविश्वनीय व्यवहारबाट सिर्जना भएको हो भन्ने त हो ।”
ओलीको जवाफपछि पौडेलले मुस्कानसहित आफू बोल्ने इशारामार्फत जवाफ दिए । ओलीले दलको बैठक समापन भएको घोषणा गरे ।