
काठमाडौं । देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेकका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र कोसी प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानले जानकारी दिए ।
उनका अनुसार वाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौंलगायत स्थानमा वर्षा भइरहेको छ । काठमाडौंमा अबको करिब दुई घण्टा वर्षा हुन सक्ने उनले बताए ।
“काठमाडौंमा अब करिब दुई घण्टा वर्षा हुन सक्ने देखिन्छ । तर, निरन्तर पानी पर्दैन । रोकिने, पर्ने हुनसक्छ,” उनले बाह्रखरीसित भने । काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।
आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उनका अनुसार भोलि पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ । भोलि असिनासहितको वर्षा हुन सक्ने उनले बताए ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । बंगालको खाडीमा उत्पन्न जलवाष्पयुक्त वायु समेत यो प्रणालीमा मिसिएको मौसमविद् लामिछानेले जानकारी दिए ।