
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले विगतको सातदलीय गठबन्धन सिद्धान्त नमिल्नेहरु बसेका कारण टुटेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्तावमा संसद्को रोस्ट्रममा उभिएर अध्यक्ष राउतले नेताका प्रतिष्ठाको लडाइँले भन्दा सिद्धान्त नमिल्ने दलहरु सँगै जान नसक्ने अवस्थाले गठबन्धन टुटेको बताए ।
“तीन महिनामै विश्वासको मत लिनु राम्रो होइन, यस्तो नहोस् भन्ने चाहन्छौँ । तर, सरकार बन्दाको गठबन्धन पार्टी वा नेतृत्व विशेषको कारण होइन, सिद्धान्त नमिल्ने दलहरु एक ठाउँ हुँदा गठबन्धन टुटेको हो,” राउतले भने, “लोकतान्त्रिक गणतन्त्रकै विपक्षमा भएकाहरुसँग सहकार्य सम्भव हुँदैन थियो होला । मलाई त्यही कारण गठबन्धन टुटेको जस्तो लाग्छ ।”
उनले लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक ठाउँ हुँदा गठबन्धन टिक्ने विश्वास व्यक्त गरे ।
उनले संघीयता नेपालमा पहिलेदेखि नै रहेको भन्दै बाइसे चौबीसे राज्यहरु संघीयताकै अभ्यास भएको उनले बताए ।
उनले सरकारले मलखादमा दिएको अनुदान घटाउने र पुनः फिर्ता लिने कदमलाई पहाडतिर गधाका भारीमा ढुंगा थप्ने गरेको कहानी सुनाएर व्यंग्य गरे ।
“पहाडतिर गधालाई भारीसँगै ढुंगा हाल्ने अनि पछि ढुंगा निकालिदिने काम हुन्छ । ताकी गधाले भारी हलुका भएको महसुस गरेर हिँडोस्,” राउतले व्यंग्य गर्दै भने, “मलखादमा दिएको अनुदानमा सरकारले पनि त्यसै गरेको हो कि जस्तो लाग्दै छ । विगतमा अनुदान घटाएकोमा प्रधानमन्त्रीज्युले आजै त्यो निर्णय फिर्ता लिनुभएको छ ।”
उनले सरकारलाई ग्रामीण उद्योगको अभियान सुरु गर्न सुझाव दिँदै हरेक ठाउँमा एउटा ग्रामीण उद्योग खुलाए आयात प्रतिस्थापन हुनसक्ने बताए ।