
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने मात्र कार्यसूची छ ।
आइतबार नै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र प्राप्त भएको भन्दै सोही प्रयोजनका लागि बैठक डाकेको जानकारी गराएका थिए ।
गएको पुस १० गते प्रचण्ड नेकपा (एमाले)सहितको समर्थनमा प्रधानमन्त्री बनेका थिए । फागुन १३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । फागुन १५ मा समर्थन फिर्ता लिँदै एमाले सरकारबाट बाहिरियो । त्यही कारण प्रधानमन्त्री प्रचण्डलाई यही चैत १२ भित्र विश्वासको मत लिनुपर्ने बाध्यता थियो ।